Comments Add Comment

काठमाडौं ल्याएको डिजेल फेरि भारत पुग्यो, यसरी भयो बदमासी

Bhairahawa-Naka,-Petrol
२४ मंसिर, काठमाडौं । पछिल्लो समय काठमाडौंमा न लोडसेडिङ छ, न नाकाबन्दी । तर, डिजेलको माग दिन दुई गुणा रात चारगुणाले बढ्दै गयो र, आइतबार १८ लाख लिटर पुग्यो ।

यसले ट्यांकरहरुले नेपाल ल्याएको तेल पेट्रोल पम्पहरुमा नखन्याइ भारतमा नै फर्काएर बेच्न थालेका त होइनन् भन्ने आशंका जन्मायो । र, सरकारले बजार अनुगमन बढायो ।

अनुगमनसँगै काठमाडौंमा डिजेलको दैनिक माग घटेको छ । यसबाट काठमाडौंको बजारमा पठाइएको डिजेल भारत पुग्ने गरेको पुष्टी भएको नेपाल आयल निगमले जनाएको छ ।

निगमका अनुसार बजारमा अनुगमन थाल्नासाथ दैनिक ६ लाख लिटर डिजेलको माग घटेको छ ।

भारतमा डिजेलको मूल्य नेपालमा भन्दा झण्डै २० रुपैयाँ बढी छ । यसैकारण बजारमा चलखेल गरेर पम्पहरुलाई दिएको तेल सेटिङ मिलाएर उपत्यकाबाहिर पठाउने गरिएको र ट्यांकरमार्फत नै फेरि सो तेल भारत नै पुग्ने गरेको सरकारी निष्कर्ष छ ।

१८ लाखबाट झरेर १२ लाख लिटरमा

ट्यांकर र पेट्रोल पम्पमाथि निगरानी बढाएपछि बजारमा तेलको माग एक तिहाइले घटेको आयल निगम वितरण विभाग प्रमुख सीताराम पोखरेलले अनलाइनखबरलाई बताए ।

पम्प तथा ट्यांकरमाथि थप निगरानी बढाएर बजारमा तेलको माग सामान्य अवस्थामा झार्न प्रयासरत रहेको उनको दाबी छ । निगमको थानकोटस्थित डिपोका प्रमुख नेत्र काफ्लेले डिजेलको माग अहिले दैनिक १२ लाख लिटरमा झरेको बताए । जबकी अनुगमन थाल्नु अघि गत आइतबारको माग १८ लाख लिटरमाथि थियो ।

शुक्रबार नेपाल आयल निगमले ८ लाख १४ हजार लिटर डिजेल बजारमा पठाएको छ । सामान्य अवस्थामा काठमाडौंमा ८ लाख लिटर डिजेल पठाउँदा माग धान्छ । अनुगमन कसिलो बनाउँदै लगेपछि दैनक माग अझ घट्न सक्ने वितरण विभाग प्रमुख पोखरेल बताउँछन् ।

थानकोटमा ट्यांकरमाथि चेकिङ

लगातार तेलको माग बढेपछि भारतीय बजारमा तेल तस्करी भएको ठहर आपूर्ति मन्त्रालयले गरेको थियो । तेलको कालोबजारी रोक्न अहिले उपत्यका छाड्ने सबै ट्यांकरमा ग्रेज लगाएर तेल भए/नभएको हेर्ने गरिएको छ । यसमा लागि थानकोटमा आपूर्ति व्यवस्थापन विभाग र आयल निगमबाट अधिकृतहरु खटिएका छन् ।

राजधानीमा लोडसेडिङ हुन छाडे पनि तेलको माग घट्नुपर्नेमा बजारमा दोब्बर माग भएपछि कालोबजारीको आशंका जन्मिएको थियो । अहिले २४ नै घण्टा सबै ट्यांकरलाई परीक्षण गरेर मात्रै उपत्यकाबाहिर पठाउन प्रहरीलाई पनि निर्देशन दिइएको छ ।

अब अनुगमन जिल्लामा

उपत्यकाबाहिर पनि तेलको माग उच्च छ । भारतीय सीमा क्षेत्रमा त झन् तेलको माग अप्रत्याशित रुपमा उकालो लागेको छ ।

सीमा क्षेत्रबाट पम्पबाटै तेल किनेर भारतीय बजारमा तेल बेच्न स्थानीयहरु नै सक्रिय भएका छन् । त्यसैले अब जिल्लाहरुमा अनुगमन बढाउन पनि आपूर्ति मन्त्रालयले समिति बनाएको छ ।

समितिले जिल्लाहरुमै पुगेर तेल डिपो, पम्प तथा ट्यांकरहरुमा अनुगमन गर्नेछ भने प्रहरीलाई सीमा क्षेत्रमा तेल तस्करी नियन्त्रण गर्न निर्देशन पनि दिनेछ ।

तेलको कालोबजारी विरुद्ध खटिएको अनुगमन टोलीले ५ सय लिटरभन्दा बढी डिजेल लैजाने पम्पहरुमा पनि अनुगमन गरिरहेको छ । पम्पहरुबाटै पनि तेलको कालोबजारी भएको सूचना सरकारसँग पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment