+
+
Shares

रमेश क्षितिजको कविता: जीवनगीत

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर २९ गते १०:५८

 

ramesh-kshitiz

 

 

 

 

 

 

 

निस्कनू- आँसुको ऐना हेर्न छोडेर
कुल्चँदै सुकेका पातहरू जस्तो उदासीको सुरुङबाट
आफैंले बनाएको निराशाको अँध्यारो
तारबारबाट निस्कनू र हेर्नू
पल्लोतिर भेटिनेछ- इन्द्रेनीको स्वागतद्वार

डाली डालीमा उफ्रिँदै नाचिरहेका चराहरू
हजारौं ठेस सहेर सङ्लिँदै हिँडेको बटुवा नदी
विजय जुलुसमा सामेल
अबीरले रङ्गिएका आशावादी जनता जस्ता रङ्गीन फूलहरू
फैलिँदै गएको सपना जस्तो निक्खर आकाश
वा मानिसको आशा जस्ता झिल्मिल ताराहरू,

तिमीसँगै हुनेछ बाँच्नलायक
एउटा सिङ्गो र सुन्दर पृथ्वी

जसलाई तिमीले दुःख भन्यौ
त्यो त तेजाबी गहना तिम्रा मखमली आँसुका पत्रैपत्रहरूले बुनेको
जसलाई तिमीले चोट भन्यौ त्यो त मायालु स्पर्श
कुनै महान् कलाकारले रुखो ढुङ्गालाई ताछ्दै मूर्ति बनाए जस्तो
तिम्रो जीवनलाई निखार्ने एक तिक्खर अनुभूति

साँच्ची एकपल्ट बाँच्न जानेपछि
जति निमोठ्यो उति पलाउँछ जीवनको मुना !

जुन दुःखले दुखे भन्छ्यौ तिमी
त्यो आफैंले रोपेको विरुवा- आफ्नै मनको गमलामा
बार्दली वा भर्‍याङमा
वा पस्ने ढोकाछेउ आँगनको एक कुनामा

आफैंले उमारेको दुःखको क्याक्टस बढ्दै जान्छ दिन-प्रतिदिन
र त्यसैमा अल्झेर रगतपच्छे हुन्छौं हामी अचानक
र सराप्न थाल्छौं पुराना मित्र जस्ता दु:खहरूलाई व्यर्थै
समाचारवाचिकाले झैं मुस्काएरै झेलिदिनू दु:खको खबर

नदुख्नू- माझेर राख्नू बरु त्यो पुरातात्विक दु:ख
प्रत्येक इमेलमा आएको तिम्रो आँसुको पारदर्शी टाटो
असह्य लाग्छ मलाई !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?