+
+
Shares

मन्त्री दीपक बोहोराको अकूत सम्पत्तिः ६ वर्षमा ८ गुणा !

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ३० गते १८:२६

dipak-bohora-infographics

३० मंसिर, काठमाडौं । कतैबाट अहिलेसम्म प्रमाणित हुन बाँकी रहे पनि पूर्वपञ्चसमेत रहेका मन्त्री दीपक बाहोरा आर्थिक मामिलामा स्वच्छ छविका नेता मानिँदैनन् । घुस र कमिसनमा उनको नाम निकै अग्रपङ्तीमा आउने गर्छ जनमानसमा । यसैसन्दर्भमा हामीले यहाँ मन्त्री बोहोराको ५ वर्षयताको सम्पत्तिमाथि सामान्य विश्लेषण गर्ने प्रयास गरेका छौं । यसक्रममा उनको कमाइ अप्रत्याशित देखिएको छ ।

मुलुकमा स्रोत नखुलेको सम्पत्तिबारे छानविन गर्ने सम्पत्ति शुद्धीकरण आयोग पनि नभएको होइन । त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रजस्ता निकायहरु पनि छन् । तर, प्रभावशाली व्यक्तिहरुले पञ्चायतकाल, ०४६ सालपछिको बहुदल काल र ०६३ पछिको गणतान्त्रिक कालमा पनि निरन्तर भ्रष्टाचारबाट अकूत आर्जन गरिरहेका छन् । त्यस्ता व्यक्तिहरुमाथि अहिलेसम्म न त कुनै छानविन हुने गरेको छ, न कुनै कारवाही नै ।

बालुवाटारमा तीनवटा घर, वनमन्त्री भएपछि एउटा थपियो

मन्त्री दीपक बोहरासँग ०६६/०६७ सालमा काठमाडौ महानगरपालिका वडा नम्बर ४ बालुवाटारमा २ वटा साढे दुईतले घर थिए । यो तथ्य उनले त्यसबेला माधव नेपाल सरकारको वनमन्त्री हुँदा सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेख छ ।

त्यतिबेला मन्त्री बोहोराको आफ्नै नाममा दुई रोपनी जमीन थियो । सोही जमीनमा सँगै दुई तले घर पनि रहेको उल्लेख छ । यस्तै सोही स्थानमा श्रीमती उन्नति बोहराका नाममा १५ आनामा अर्को दुई तले घर रहेको बोहोराले त्यसबेला सम्पत्ति विवरणमा उल्लेख गरेका थिए ।

त्यसबेला मन्त्री बोहोराले बालुवाटारमै श्रीमती उन्नतिका नाममा अर्को ८ आना जमीन रहेको बताएका थिए ।

अहिले मन्त्री बोहोरासँग बालुवाटारमा तीनवटा घर छन् । तीमध्ये दुईवटा घर उनको आफ्नै नाममा छन् भने एउटा घर श्रीमतीका नाममा छ । मन्त्री बोहोराले आफ्नो सम्पत्ति विक्रीबाट उक्त घरहरु खरिद गरेको भनी सम्पत्ति विवरण भरेका छन् । यद्यपि उनले ०६७ सालमा ती दुईवटा घरहरु ‘पैतृक सम्पत्ति’ भएको उल्लेख गरेका थिए ।

२०६६/०६७ सम्म उनीसँग भएको जमीन

मन्त्री दीपक बोहराका नाममा ०६७ सालसम्म ललितपुरको लुभुमा ४ रोपनी ३ आना जमिन थियो । यो उनले मन्त्री भएकै बर्ष ०६६ सालमा खरिद गरेका थिए । यस्तै बोहरा र चन्द्र प्रकाश श्रेष्ठको संयुक्त नाममा त्यसबत्रेलासम्म रुपन्देहीमा ४ विघा १५ कट्ठा जमीन थियो ।

बोहोराले ०६६ सालमा भरेको विवरणमा लुभु गाविस वडा नम्बर ६ मा आफ्नो नाममा ६ रोपनी ७ आना थप जमिन रहेको देखाएका थिए । तर, ०६७ सालमा भरेको सम्पत्ति विवरणमा भने त्यो सम्पत्ति लुकाएका छन् । उनले एक बर्षपछि भरेको विवरणमा लुभुको ६ रोपनी ७ आना जमिन लुकाए । यदि उनले उक्त जमिन खरिद गरेको भए त्यसको परिणाम वा स्रोत देखाउनुपर्ने हो, त्यो देखाएनन् ।

पाँच वर्षपछि भद्रकालीमा जग्गा

केपी ओली नेतृत्वको सरकारमा ०७२ सालमा मन्त्री बनेका बोहरासँग काठमाडौ भद्रकालीमा २ सय ८७ वर्ग मिटर जमिन देखिएको छ । यस्तै काठमाडौंको गोठाटारमा २ सय वर्ग मिटरको अर्को घडेरी छ । यसलाई उनले २९ लाखमा खरिद गरेको उल्लेख गरेका छन् । ललितपुरको लुभुमा ३ आनाको घडेरी थपिएको छ ।

त्यस्तै बोहोराले काभ्रेको पाँचखालमा ९ रोपनी जमिन रहेको देखाएका छन् । बोहोरा जब-जब मन्त्री बन्छन्, उनको जग्गाजमीन थपिने गरेको छ ।

बोहरासँग ०७३ मा रहेको जमीन

बोहरासँग अहिले काभ्रेपलाञ्चोकस्थित पाँचखालमा ३ रोपनी १२ आना जमीन छ । उनले यो जमीन ३ लाख ६५ हजारमा खरिद गरेको उल्लेख गरेका छन् ।

बोहोरासँग अहिले काठमाडौंको खड्का भद्रकालीमा २८७ वर्गमिटरमा फैलिएको घडेरी थपिएको छ । उनले आफ्नो सम्पत्ति विक्री गरेर १७ लाख १६ हजारमा यो जमीन खरिद गरेको उल्लेख गरेका छन् ।

यस्तै बोहोराले काभ्रेको पाँचखालमै थप ५ रोपनी १० आना जमीन छ । उनले यो जमिन २९ लाखमा खरिद गरेको जनाएका छन् । काठमाडौं गोठाटारमा २०० वर्ग मिटरमा फैलिएको घडेरी पनि २९ लाखमा खरिद गरेको उनले जनाएका छन् ।

सुनचाँदी यथावत, नगदमा अस्वाभाविक वृद्धि

मन्त्री बोहरासँग १ सय २० तोला सुन छ । यस्तै तीन सेट हिराको गहना छ । उनीसँग अहिले हातमै १५ लाख नगद छ । योमध्ये उनीसँग १० लाख र श्रीमतीसँग ५ लाख रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ ।

बैंक ब्यालेन्सः एकै वर्षमा १ करोड २७ लाख थप

मन्त्री बोहरासँग ०६७ सालसम्म बैंक अफ काठमाडौमा ३० लाख बैंक ब्यालेन्स थियो । ०७२ सालसम्म उनीसँग उक्त बैंकका विभिन्न ६ वटा खातामा गरी करिब १३ लाख थियो । केपी ओली सरकारमा श्रम मन्त्री रहेका बोहरा त्यसलगत्तै गठन भएको प्रचण्ड सरकारमा आपूर्ति मन्त्री बने । अहिले उनीसँग बैंक अफ काठमाडौमा १ करोड ४० लाख रुपैया बैंक ब्यालेन्स रहेको छ । उनीसँग अहिले बैंक अफ काठमाडौमा ५ वटा खाता छन् ।

विभिन्न बैंकमा गरेर अहिले बोहरासँग करिब १ करोड ५० लाख रुपैँया बैंक ब्यालेन्स रहेको देखिन्छ । र, उनीसँग थप १९ हजार अमेरिकी डलर पनि छ ।

बोहोरासँग ०६७ सालमा कुमारी बैंकको खातामा ८० लाख रुपैँया थियो । उनले ०७२ सालमा १३ लाखमात्रै बैंक ब्यालेन्स देखाए । यसपटक पेश भएको सम्पत्ति विवरणमा भने उक्त बैंक खाताको विवरण देखाएका छैनन् । यसअघि बोहोरासँग क्लिन इनर्जी बैंकमा १० लाख र बैंक अफ काठमाडौमा जम्मा ३० लाख बैंक ब्यालेन्स थियो ।

बोहराको शेयर लगानी

तत्कालीन वन मन्त्री बोहरासँग ०६७ सालमा विभिन्न बैंक र कम्पनीमा ५ लाख ४५ हजार कित्ता शेयर रहेको देखिन्छ । ०६७ सालपछि एकैपटक ०७२ सालमा उनी मन्त्री भए । उनीसँग ०७२ सालमा ५ लाख ९५ हजार कित्ता शेयर पुगेको थियो । अहिले आपूर्ति मन्त्री बोहरासँग ६ लाख ३ हजार ३ सय ६५ कित्ता शेयर देखिएको छ ।

मन्त्री बोहराको ऋण कति ?

मन्त्री बोहराले ०६७ सालमा कुमारी बैंक, किष्ट बैंक, इन्भेष्टमेन्ट बैंक र क्लिन इनर्जी बैंकबाट गरी १० करोड १४ लाख ऋण लिएको उल्लेख छ । उनले घरजग्गा व्यवसायका लागि उक्त ऋण लिएको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

पाँच वर्षअघि १० करोड १४ लाख ऋणमा रहेका मन्त्री बोहराले ०७२ सालमा भने आफूसँग २ करोड ७५ लाख मात्रै ऋण भएको देखाएका थिए । उनका नाममा क्लीन इनर्जी बैंकमा २ करोड ७५ लाख ऋण रहेको देखाइएको थियो । घर बनाउन र जग्गा खरिद गर्नका लागि उनले उक्त ऋण लिएको बताएका छन् । त्यस्तै उनले सिंगटी हाइड्रो प्रा.लि. सँग १ करोड ५० लाख ऋण लिएको देखाएका छन् । उनले त्यसरी हाइड्रो पावरसँग ऋण लिएर युनियन फाइनाइन्स लिमिटेडलाई ऋणमा दिएका छन् ।

यसरी ऋण मिलाइदिँदा उनले उक्त फाइनान्स लिमिटेडमा १० प्रतिशत शेयर समेत प्राप्त गरेका छन् । मन्त्री बोहराले ०७० सालमा त्यसरी हाइड्रोबाट ऋण लिएर फाइनान्सलाई दिएका हुन् । मन्त्री बोहरासँग ०७३ सालसम्म आइपुग्दा कत्ति पनि ऋण देखिँदैन ।

प्रश्न त यही छ कि मन्त्री भएपछि बोहोराले त्यति धेरै ऋण कसरी तिरे ? बैंकमा करोडौं कसरी थपियो ? अनि भद्रकाली, गोठाटारदेखि पाँचखालसम्म जग्गाजमीन कसरी जोडियो ? बालुवाटारमा तेस्रो घर कसरी थपियो ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?