Comments Add Comment

सीमांकन हेरफेरको आन्दोलन फेरि चर्कियो, अर्घाखाँचीमा तीनदिने हड्ताल, पाल्पा पनि ठप्प

banda-butwal
बन्दले सुनसान बुटवल बजार

१ पुस, काठमाडौं । पाँच नम्बर प्रदेशको सीमांकन हेरफेरको विरोधमा आन्दोलनरत दलहरुले रुपन्देहीसहितका जिल्ला बन्द गराउँदा जनजीबन प्रभावित भएको छ ।

तराई र पहाडका जिल्ला टुक्राएर सीमांकन संशोधन गरिएको विरोधमा सत्तारुढ कांग्रेस, माओवादी र प्रतिपक्षी एमालेसहितका दलहरुले संयुक्त संघर्ष समिति गठन गरेर आन्दोलन गर्दै आएका छन् । मंसिर १५ गतेबाट आन्दोलन बीचमा स्थगित गरिए पनि पुनः बन्द हड्ताल लगायतका कार्यक्रम सुरु गरिएको छ ।

बन्दका कारण रुपन्देही, अर्घाखाँची, पाल्पा, रोल्पा, प्यूठान र गुल्मी ठप्प छन् । यातायात, कलकारखाना, बजार बन्द छन् ।

सरकारी कार्यालयहरु समेत नखुल्दा सेवाग्राही मर्कामा परेका छन् । बन्दकर्ताहरु बिहानैदेखि सडकमा प्रदर्शन गरिरहेका छन् ।

विरोधमा उत्रिएका अर्घाखाँचीका सत्तापक्ष र प्रतिपक्ष दलहरुले शुक्रबारदेखि तीनदिने आमहड्ताल घोषणा गरेका छन् । संघर्ष समितिका संयोजक एवं कांग्रेस जिल्ला सभापति विष्णुप्रसाद खनालले आइतबारसम्म बन्द आह्वान गरिएको बताए । आइतबारसम्म पनि संविधान संशोधन प्रस्ताव फिर्ता नलिए पुनः चरणबद्ध आन्दोलनका कार्यक्रम गरिने उनले बताए ।

पाल्पामा दुईदिने आमहड्ताल

सीमांकन हेरफेरको विरोधमा पाल्पामा पनि आमहड्ताल आह्वान गरिएको छ । संघर्ष समितिले शुक्रबार र शनिबार पाल्पा बन्द आहृवान गरेको हो । आमहडतालका कारण शुक्रबार बिहानैदेखि सवारीसाधन, शैक्षिक संस्था, पसल खुल्न नसक्दा जनजीबन कष्टकर बनेको छ ।

यसअघि संघर्ष समितिले मंसिर १४ गतेदेखि २५ गतेसम्म बन्द गर्दा जनजीवन कष्टकर बनेपछि केही दिनका लागि आन्दोलन फिर्ता लिइएको थियो । तर, सीमांकन हेरफेरसहितको संविधान संशोधन फिर्ता नभएकाले पुनः बन्द हड्तालको कार्यक्रम सुरु गरिएको नेकमा एमाले पाल्पाका अध्यक्ष नारायण आचार्यले बताए ।

आन्दोलनकारीले बिहीबार साँझ पाल्पा जिल्ला सदरमुकाम तानसेनसहितका स्थानमा मसाल जुलुस निकालेका थिए ।
सीमांकन हेरफेरको विरोधमा रोल्पा, गुल्मी लगायतका जिल्लाहरु पनि बन्द हड्ताल लगायतका आन्दोलनका कार्यक्रम जारी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment