+
+
Shares

एमालेलाई प्रचण्डको चुनौतीः संशोधनविरुद्ध एक तिहाई पुर्‍याएर देखाऊ

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष १ गते १७:०९

pushpa-kamal-dahal-prachand

१ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन प्रस्तावविरुद्ध एक तिहाई मत पुर्‍याएर देखाउन प्रमुख विपक्षी एमालेलाई चुनौती दिएका छन् ।

संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता नहुने उनले दोहोर्‍याए । प्रदेश नम्बर ४ स्तरीय कार्यकर्ता प्रशिक्षणका लागि पोखरा आएका माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन प्रस्तावमा मधेसी मोर्चाले समर्थन जनाइसकेको दाबी गरे ।

उनले भने, ‘मलाई विश्वास छ एमालेले पनि सघाउँछ, सघाएन भने पनि संशोधन प्रस्ताव कुनैपनि हालतमा फिर्ता हुँदैन ।’ तर, परिमार्जन भने हुनसक्ने उनले बताएका छन् ।

एमालेले आफूलाई संसदवादको मसिहा ठान्ने गरेको भन्दै उनले भने, ‘मधेसी मोर्चाले पनि विरोध गरिरहेको दाबी गर्ने एमालेले उनीहरुको मन जितेर एक तिहाई पुर्‍याए भइहाल्यो नि ! किन संसद अबरुद्ध गर्नुपर्‍यो ? किन सडक आन्दोलन गर्नुपर्‍यो ?’

सरकारले अघि सारेको सीमांकन हेरफेरको प्रस्ताव एमाले र त्यसका अध्यक्ष केपी ओलीको प्रस्ताव भएको र कांग्रेस यसको समर्थक रहेको भन्दै उनले यसमा सहमति जुट्ने विश्वास व्यक्त गरे । उनले ओलीमाथि आफूले प्रस्ताव गर्दा राष्ट्रवादी र अर्कोले गर्दा राष्ट्रघाती भन्ने दोहोरो मापदण्ड बनाएर मधेसी, आदिवासीलगायतलाई आन्दोलनतर्फ उद्धेलित गर्ने प्रयास गरिरहेको आरोप लगाए ।

प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन, निर्वाचन र अख्तियारका निलम्बित प्रमुख लोकमान सिंह कार्कीबिरुद्धको महाअभियोग प्रस्ताव प्याकेजमा सहमति हुनुपर्नेमा जोड दिए । त्यसो भएमा मात्रै निकास निस्कने भन्दै उनले त्यसका लागि प्रयास भइरहेको बताए ।

उनले प्रदेश नम्बर पाँचको सीमांकन हेरफेरलाई लिएर भइरहेको आन्दोलन प्रतिगमनकारी आन्दोलनमा परिणत हुने खतरा रहेको बताए । उनले भने, ‘एमाले अहिले नै प्रतिगमनतर्फ उन्मुख भयो त म भन्दिनँ, तर अहिलेको आन्दोलन बढ्दै गयो भने प्रतिगमनकारी आन्दोलनमा जानसक्छ ।’

प्रधानमन्त्री प्रचण्डले सीमांकनलाई देखाएर भइरहेको आन्दोलनलाई संघीयता विरोधी आन्दोलनमा लैजाने प्रयास भएपनि यो सम्भव नरहेको ठोकुवा गरे । ‘कसैको मनमा सीमांकनको विवाद झिकेर आन्दोलन चर्काउँदै संघीयता विरोधी आन्दोलनमा परिणत गर्ने सोच नहोला भन्न सकिन्न,’ उनले भने, ‘तर यो मुर्खतापूर्ण सोचमात्र हो, संघीयता कुनैपनि हालतमा उल्टिदैन ।’

संघीयता उल्टियो भने देश प्रतिगमनमा जाने र भयानक र डरलाग्दो रुपमा देश नै दुर्घटनामा पुग्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?