Comments Add Comment

लक्ष्मी हत्या प्रकरण र सुतेको दलित आन्दोलन

एउटा सभ्य समाजलाई लज्जित तुल्याउने गरी हत्या गरियो काभ्रेकी लक्ष्मी परियारको । बोक्सीको आरोपमा आफ्नै छोराले पढ्ने विद्यालयको पोलमा ल्याएर बाँधिन्छिन् अनि मलमूत्र खुवाएर कुटिन्छिन् । कुटेकै कारण उनको मृत्यु हुन्छ ।

लक्ष्मीको मृत्य भएको आइतबार ९ दिन भइसकेको छ । त्रिवि शिक्षण अस्पतालमा राखिएको लक्ष्मीको शव ९ दिनसम्म बितिसक्दा पनि उनको पोस्टमार्टम हुन सकेको छैन ।

लक्ष्मीका परिवार मात्रैले होइन, सिंगो समाजले उनको मृत्युलाई स्वीकार गर्नै सक्दैन । किनकि लक्ष्मीको मृत्यु हुँदै होइन । उनको नियोजितरुपमा गरिएको हत्या हो भन्ने परिवारका सदस्यले बताइरहेका छन्, त्यो पनि बोक्सीको आरोपमा मलमूत्र खुवाएर कुटपिटपछि भएको हत्या ।

यो हत्या प्रकरणलाई मोडिँदै छ, प्रहरीबाट । उनको हत्या नै भएको हो भन्ने लक्ष्मीका १० वषर्ीय छोरा सुमनले वयान दिएका छन् । सुमनसँग साथमै रहेकी लक्ष्मीकी सासू विष्णुकुमारीले प्रहरीले गरेको पत्रकार सम्मेलनमा भनेकी छिन कि लक्ष्मीको मृत्यु नभएर हत्या नै हो ।

घटना मोड्दै प्रहरी

अघिल्लो मंगलबार स्थानीय शिक्षक र ती शिक्षककी आमाले लक्ष्मीलाई बोक्सी भन्दै मलमूत्र खुवाएर कुटपिट गरेको परिवारका सदस्यले बताएका छन् । स्थानीय शिक्षकको नेतृत्वमा मंगलबार स्कूलकै खेलमैदानमा नाम्लोले बाँधेर कुटपिट गरी मलमूत्र खुवाएपछि घाइते बनाइएको भनिएकी लक्ष्मीको शुक्रबार बिहान मृत्यु भएको होे ।

ashok-darnalतर, यो घटनालाई स्वीकार गर्न तयार छैन प्रहरी प्रशासन । कारण हो, अनुसन्धान नगरी मिलापत्र गराउने चौवास प्रहरी चौकीका इन्चार्ज प्रेमपुकार चौधरीको छाकछोप र शिक्षकलाई उन्मुक्ति गराइनु । उनीहरुले निर्दोषलाई लक्ष्मीका श्रीमानलाई समेत फसाउने परिपञ्च एकपछि अर्को गर्दै रच्न थालेको पीडितको गुनासो छ । यतिसम्म कि छोरा सुमनले दिएको बयानको पूरै उल्टो ढंगबाट घटना बाहिर ल्याइएको छ । जसबाट प्रहरीकै अनुसन्धानमाथि शंका उब्जिएको छ ।

लक्ष्मीको मृत्युबाट विभिन्न प्रश्नहरु जन्मिएका छन् । कहिले कुटपिट, कहिले मलमुत्र खुवाएको । कहिले झुन्डिएको, यस्तै-यस्तै अभिव्यक्ति दिइरहेको छ, प्रहरी कार्यालयले । झुन्डिएको भन्ने प्रहरीले पत्रकार सम्मेलनमा किन भनेन ? झुन्डिएको हो भने मुचुल्का उठाउने बेलामा श्रीमान, सासू छोराछोरी गाउँलेहरुको बीचमा उठाएको मुचुल्का कहाँ छ ? लक्ष्मीलाई झुन्डिएको अवस्था देख्ने गाउँलेहरु कहाँ छन् ? झुन्डिएको अवस्थाको जानकारी किन गरिएन प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख एसपी सहकुल थापालाई ? घटनास्थलबाट यसको जानकारी किन भएन ? झुन्डिएको अवस्थाका तस्वीर कहाँ छन् ? के श्रीमानले एक लाठी हान्दा उनको ज्यान गएको हो ? के श्रीमानकै कारण हत्या भएको हो त ? कि लक्ष्मीका श्रीमानलाई फसाउन खोजिएको हो ? प्रश्नहरु छन् ।

आशा आयोगका प्रतिवेदनहरुमा

लक्ष्मीको हत्या भएको खबर पाएसँगै धेरैको ध्यान काभ्रेमा पुग्यो । घटनाप्रति चासो देखाउँदै राष्ट्रिय मानव अधिकार आयोग, महिला आयोग, दलित आयोग, एसियन मानव अधिकार आयोग र इन्सेक लगायतका संघसंस्था र निकायले स्थलगत अनुगमन गरे पनि प्रतिवेदन सार्वजनिक भएको छैन ।

अब सबैको ध्यान यता गएको छ । सुमनको वयान र सासूको वयान सार्वजनिक भएको छ । १० वषर्ीय बालकले घटनालाई रातारात फेरबदल गर्ने र परिपञ्च रच्ने गरी बनीबनाऊ वयान दिएन्न होला पक्कै । आफ्नै आँखा अगाडि बुहारीलाई मलमूत्र खुवाएर चिरपर्ट दाउराले बोक्सी भन्दै निर्घात कुटपिट गरेको देखिएकी सासूले जालझेल गरी बनावटी कुरा गरेकी छैनन् होला । नाति र सासूमाथि बयान लिने क्रम जारी छ । र, जारी छ घटनालाई कसरी मोड्न अन्यत्र सकिन्छ भन्ने खेल पनि ।

तर, पक्कै पनि घटनालाई सुष्म ढंगबाट अध्ययनन गर्न गएका आयोगका टोलीले ल्याउने प्रतिवेदनले लक्ष्मीलाई न्याय दिलाउने गरी ल्याउँछ वा प्रहरी प्रशासनकै बचाउन गर्ने गरी ल्याउँछ, त्यो हेर्न बाँकी छ ।

कछुवा गतिमा दलित आन्दोलन

लक्ष्मी परियारको हत्या भएको शुक्रबार एक हप्ता भइसकेको छ । यो हत्याको जानकारी नहुने कमै होलान् । धेरै थरी अनुसन्धानको टोली पुगे लक्ष्मीको हत्यास्थलमा । अझै जाने क्रम रोकिएको छैन । तर, दलित आन्दोलन चर्कोउने केही नाम दाम व्यक्तिहरु बेखबर बनेको देख्दा निकै दया लगेको छ । सायद विजय भएको विषराम हो कि ! होइन भने सबै राजनीतिक दलका दलित भातृसंगठन छन् । यो संयुक्त राजनीतिक दलित संघर्ष समिति भनेर चिनिएको छ । यसले यस्तै-यस्तै घटनामा आन्दोलन उठाउँछ । साथै दलित एनजीओभित्र नागरिक समाज भनेर कहलिएका दलित नागारिक समाजका अगुवाहरु छन् । केही दलित खास खास मुद्दा उठाउने बौद्धिक दलित अगुवाहरु पनि छन् । यी सबै मौसम हेरेर आन्दोलनमा उत्रिने गर्छन् ।

धरानका एसएसपी पवनप्रसाद खरेलविरुद्धको आन्दोलनमा चुके यिनीहरु । त्यस्तै बैतडीकी हिरा भूलमाथि पनि चुके । अनि अजित मिजार हत्या काण्डमा पनि । अज्ाितको कुरा गर्दा प्रक्रियामा गएको छ भन्दै पछि हटे । अहिले लक्ष्मी हत्यामा पनि घटना भएको एक हप्ता बित्नै लाग्दा बल्ल पत्रकार सम्मेलन गरी चार बुँदे माग तेर्साएर उभिएका छन् । सडकमै आन्दोलन गरेर राखेको माग सम्बोधन गर्न हम्मे पर्ने युगमा अझै बन्द कोठामा गएर माग सम्बोधन नगरिए आन्दोलन जाने कुरा गर्नुको के तुक ?

घटनास्थलमा नपुगी विना प्रतिवेदन पत्रकार सम्मेलन गर्नुको के हो अर्थ ? के आधारले पत्रकार सम्मेलन गरे होलान् ? यदि पत्रकार सम्मेलन नै गर्नु थियो भने घटना भएको एक हप्तापछि किन गर्नुपर्‍यो ? घटना सार्वजनिक भएकै दिन गरेको भए भइहाल्थ्यो नि ।

प्रत्येक ज्ािल्लामा राजनीतिक रुपमा आफ्ना कार्यकर्ता छदैछन् । उनीहरुलाई केन्द्रबाट चलाउन सकिन्छ । घटनाको विस्तृतमा जाँचबुझ गर्न लगाउन सकिन्छ । तर, यो आँट राख्दैन संयुक्त राजनीतिक दलित संघर्ष समितिले । आज एउटा जनजातिमाथि यो क्रुर हत्या होस् त, घटना भएकै दिन सडकमा विरोध सभा चोक चोकमा सरकारविरोधी भण्डाफोरका कार्यक्रम सञ्चालन गरिन्छ । संसदमा चर्को आवाज उठ्छ । तर, दलित समुदायले उठाउने आन्दोलनलाई उच्चतह सम्म पुर्‍याउन निकै कठिन लडाइँ लडनुपर्छ । आन्दोलन तुहाउने गरी आन्दोलनको विरोध गर्न खोजिएको होइन । तर, पटक-पटक देखिएको छ, दलित आन्दोलन, सडक संघर्ष ।

राजनीतिक दलहरुभित्र संगठित दलित भातृसंगठनका नेताहरुका कुरा नै चर्को हुन्छ । तर, आफ्नो संगठनबाट सय जना पनि कार्यकता लिएर आउन सक्दैनन् । १० भातृसंगठनका एक सयको हिसावले पनि एक पटकको विरोधसभामा एक हजार मान्छे हुन्छन् । त्यो मासले एक हप्ता निरन्तर चलाउने आन्दोनलको राप ताप बेग्लै हुन्छ । तर, यसो गर्नै सक्दैनन् हाम्रा दलित नेताहरु ।

आन्दोलन उठाउनु आफंैमा नराम्रो होइन । तर, आन्दोलन उठाउँदा राखिएको माग सम्बोधन हुन्छ, हुँदैन त्यो मुख्य कुरा हो । धेरै पटकका आन्दोलनमा धेरै बुँदे माग लिएर उभिएको आन्दोलन एक दुई बुँदामा टुंगिएको इतिहास ताजै छ ।

यहाँ लक्ष्मी हत्या प्रकरणमा पनि चार बुँदे माग लिएर शुक्रबारबाट सुरु भएको आन्दोलन कहाँ र कति बुँदेमा गएर टुगिन्छ, त्यो विगतले स्पष्टै देखाउनेछ । यो आन्दोलनले लक्ष्मीलाई न्याय दिन्छ, दिँदैन त्यो पनि पक्कै देखिनेछ । तर दलित समुदायले चलाउने आन्दोलन यो वा त्यो वहानामा तुहाइने गरिन्छ ।

यो इतिहासलाई साक्षी राखीे आफुहरुले तेर्साएका मागलाई सम्बोधन गर्नु नै दलित आन्दोलनको लागि बढी लाभदायी होला । फेरि माग तेर्साएर तुहाउने आन्दोलनले पक्कै पनि लक्ष्मीको हत्यामा थप मलजल गर्दै अन्य लक्ष्मीहरुको हत्या नहोला भन्न सकिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment