Comments Add Comment

मिर्गौलाको पत्थरीबारे जान्नैपर्ने कुरा

पत्थरी मानव शरीरमा आदिम कालदेखि लाग्ने रोग हो । यो रोग ५ देखि १० प्रतिशत मानिसलाई लाग्छ । पत्थरी सामान्यतया महिलाभन्दा पुरुषमा बढी देखिन्छ । सबै उमेर समूहका मानिसलाई मिर्गौलाको पत्थरी हुन सक्छ ।

dr-kushal-kariरसायनिक बनोटका आधारमा पत्थरीका २५ सयभन्दा बढी प्रकार भए पनि नेपालीहरुमा मुख्य तीन किसिमका पत्थरी पाइएको छ । जसमा ७० देखि ८० प्रतिशत मानिसमा क्याल्सियम अक्सलेट पत्थरी हुने गरेको पाइन्छ । त्यस्तै, स्ट्रभाइट पत्थरी १० देखि १५ प्रतिशत मानिसमा र युरिक एसिडका कारण ५ देखि १० प्रतिशतमा पत्थरी हुने गर्छ ।

किन हुन्छ पत्थरी ?

– वातावरण र भूगोलका कारण पत्थरी हुन्छ । विशेषगरी गर्मी भूभागमा बस्ने मानिसलाई पत्थरीले सताउँछ । दक्षिण एसिया तथा खाडी मुलुकमा बसोबास गर्ने मानिसमा पनि यो समस्या धेरै हुन्छ ।

– व्यस्त जीवनशैली, जंक फुड, अधिक मात्रामा रातो मासुको सेवन, उच्च कोलेस्ट्रोल, मोटोपन र मधुमेहका कारण पनि पत्थरीको जोखिम दिनानुदिन बढ्दो छ ।

– पिसाबको संक्रमण भएमा पनि पत्थरीले दुःख दिन्छ । पिसाबको संक्रमण पुरुषको तुलनामा महिलाहरुमा ज्यादा हुन्छ, यसैले मिर्गौलाको पत्थरी पनि महिलामै बढी हुन्छ ।

– कम पानी पिउने र धेरै पसिना जाँदा पनि पत्थरी हुन सक्छ ।

– वंशाणुगत रुपमा पनि पत्थरीले सताउँछ ।

– मिर्गौलाको अप्राकृतिक बनोटका कारण पनि पत्थरी हुन सक्छ । त्यस्तो अवस्थामा पिसाब मिर्गौलामा जमेर बसेमा पत्थरी हुन्छ ।

पत्थरीको लक्षण

– कोखा दुख्नु
– ज्वरो आउनु
– पिसाब बन्द हुनु
– दुवै मिर्गौलाले काम नगर्दा देखिने लक्षण

कतिबेला इमर्जेन्सीमा जाने ?

– पिसाब आउन बन्द भएमा वा साविकभन्दा कम पिसाब भएमा
– कामज्वरो आएमा
– पेटमा अत्यधिक पीडा भएमा

पत्थरी पत्ता लगाउने तरिका

– लक्षण देखिए लगत्तै मूत्र विशेषज्ञकोमा जाने ।
– लक्षण तथा शारीरिक अवस्थाको आधारमा अन्य जाँच गर्ने ।

पिसाबको जाँच, मिर्गौला, पिसाब थैलीको एक्स-रे, अल्ट्रासाउण्ड, आईभिपी (नशाबाट औषधी दिएर गरिने एक्स-रे), सिटी स्क्यान आदि जाँच गर्न सकिन्छ । सिटी स्क्यानले मिर्गाैलामा पत्थरी भए-नभएको प्रष्ट देखाउँछ ।

पत्थरीको उपचार

सबै पत्थरीको उपचार गर्नैपर्छ भन्ने हुँदैन । पत्थरीको किसिम, आकार, मिर्गौलाको अवस्था तथा बिरामीको पेशाका आधारमा चिकित्सकले उपचार गर्नपर्ने, नपर्नेबारे निर्णय गर्छन् ।

पत्थरी रहेको ठाउँ (मिर्गाैला, मूत्रनली, मूत्रथैली), ढुंगाको साह्रोपन, आवश्यक उपकरण, दक्ष जनशक्ति, बिरामीको खर्च गर्न सक्ने क्षमताका आधारमा पत्थरीको उपचार गरिन्छ ।

रोकथामका उपाय

– औषधिको सेवन
– चिरफार अर्थात् शल्यक्रिया
– पिसाब आउने बाटोमा दूरबीन छिराएर गर्ने उपचार (युआरएस)
– अल्ट्रासोनिक तरंगबाट (इएसडब्लुएल)
– पिसाबको नलीबाट दूरबीन मिर्गौलामा पठाएर गरिने उपचार (आरआईआरएस्)

औषधि खाएर पनि पत्थरी पगाल्न सकिन्छ ?

एलोप्याथी औषधि विज्ञानमा पत्थरीको केही जातमध्ये युरिक एसिड क्रिस्टाइन स्टोन नामक पत्थरी मात्र औषधिले पगाल्न सक्छ, त्यो पनि सानो आकारको । यो पद्धति सधैंभरि सफल हुन्छ भन्ने छैन । ठूला वा अरु जातका पत्थरी औषधि खाएर जान्छ भन्न सकिने वैज्ञानिक आधार छैन ।

मिर्गौला र पिसाब नलीको सानो आकारको पत्थरी प्रशस्त्र पानी खाएर तथा मूत्रनली खोल्ने औषधिको प्रयोगले हटाउन सकिन्छ ।

पत्थरी भएपछि उपचारका लागि कति समय कुर्न सकिन्छ ?

सामान्यतया पत्थरीको आकार र यसले मिर्गौलामा पारेको असरको आधारमा चिकित्सकहरुले कुर्न हुने-नहुने निर्णय गर्छन् । यदि मिर्गौला सुन्निएको छ भने बढीमा ४ देखि ६ हप्तासम्म कुर्न सकिन्छ । तर, त्यससँगै धेरै तथ्य विचार गर्नुपर्ने हुन्छ । त्यसमा चिकित्सकको सल्लाह लिनुपर्छ ।

(डा. कार्की हाल किष्ट मेडिकल कलेजमा एफसीपीएस युरोलोजी लेक्चरल तथा सुमेरु अस्पतालमा कन्सल्टेण्ट युरोलोजिष्टका रुपमा कार्यरत छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment