+
+
Shares

बीमा समितिका अध्यक्ष केसी हट्ने निश्चित भएपछि नयाँ कम्पनीले दियो दर्ता आवेदन

 विजयराज खनाल विजयराज खनाल
२०७३ पुष ५ गते १६:२३

५ पुस, काठमाडौं । बीमा समितिका हालका अध्यक्ष डा. फत्तबहादुर केसीको पदावधि सकिँदै गर्दा बीमा समितिमा नयाँ बीमा कम्पनी खोल्न आवेदन परेको छ । समितिमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले दर्ताको लागि निवेदन दिएको हो ।

fatta-bahadur-kc
डा. फत्तबहादुर केसी

यसअघि केसीले चुक्ता पुँजीसम्बन्धमा नयाँ व्यवस्था नहुञ्जेल नयाँ बीमा कम्पनी दर्ता गर्न रोक लगाएका थिए ।

८ वर्षसम्म समितिको नेतृत्व गरेका केसी पुस ७ गतेबाट बिदा हुँदैछन् ।यद्यपि जाँदा जाँदै केसीले पनि यसमा हार्ड एण्ड फास्ट नियम भने नलगाएको बताएका छन् ।

‘मैले पनि नयाँ कम्पनी दर्ताका लागि यहाँका कर्मचारीहरुबाट सुनेको छु, तर जानेबेला हुँदा मैले यी विषयमा बोल्न उपयुक्त ठान्दिनँ,’ समितिका अध्यक्ष केसीले अनलाइनखबरलाई भने । नयाँ बीमा कम्पनी दर्तामा समितिको धारणा के रहेको थियो र अहिले के हो भन्ने प्रश्नमा उनले भने, ‘पहिले पनि हार्ड एण्ड फास्ट नियम भने थिएन । अब समितिमा आउने नेतृत्वले के निर्णय लिन्छन् त्यसैमा भरपर्छ ।’

तर, यसअघि बीमा समितिमा नयाँ कम्पनी दर्ताबारे विवाद नै निस्किएको थियो । ०७२ भदौ पहिलो साता बीमा समितिमा कुनै कर्मचारीबाट झुक्किएर (मिलेमतोमा भन्ने खबर पनि आएको थियो) नयाँ बीमा कम्पनी दर्ता भएको विषयमा ठुलै विवाद उठेको थियो । सो समय भने महालक्ष्मी फाइनान्सको ४ करोड ७० लाख रुपैयाँ सेयर स्वामित्व रहने गरी महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी दर्ता भएको थियो । तर, समितिले दर्तालाई मान्यता नै दिएन र कम्पनीको दर्ताले बैधानिकता नै पाएन ।

बीमा कम्पनीहरुमा जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरुको ४ अर्ब रुपैयाँ तोक्ने गरी बीमा ऐनको मस्यौदा बनिरहेको खबरहरु आए पनि अर्थमन्त्रालयमा यस विषयमा व्यापक छलफल भइरहेको छ ।

समितिले नयाँ चुक्ता पुँजीको व्यवस्था भए पुरानालाई पूँजी वृद्धिका लागि केही समय दिने र नयाँले भने सुरुमै चुक्ता पूँजी पुर्‍याएर आउनुपर्ने व्यवस्था गर्ने निर्णय गर्दै आएको थियो ।

यता ज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा बीमा व्यवसायीका रुपमा चिनिएका अशोक अग्रवालको लगानी रहेको स्रोतको दाबी छ । अग्रवालको अहिले पनि विभिन्न बीमा कम्पनीमा प्रत्यक्ष/अप्रत्यक्ष लगानी रहेको छ । कम्पनी दर्तालगायतका कार्यमा यसअघि सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रही सकेका नन्दकिशोर शर्मा सक्रिय भएको पनि स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार अब आउने नेतृत्वले नयाँ संस्थाको दर्तालाई स्वीकृत दिने सम्भावना छ । ‘बीमा क्षेत्रबाट बाहिर रहेका व्यक्तिलाई अध्यक्ष बनाइने लगभग निश्चित भएको बुझिएको छ, उनले यो संस्थाको दर्ता स्वीकार गर्ने बुझेको छु,’ स्रोतले भन्यो । हाल बीमा समितिको अध्यक्षमा चिरञ्जीवी चापागाई, रवीन्द्र घिमिरे, केबी बस्नेत, रणबहादुर श्रेष्ठ, विजयबहादुर शाह, चिरायु भण्डारीलगायतको नाम चर्चामा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?