७ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान सिंह कार्कीले सर्वोच्च अदालत परिसरमा आफूमाथि भएको आक्रमण आफूविरुद्ध हुँदै आएको षड्यन्त्रपूर्ण चालबाजीको एउटा कडी भएको बताएका छन् ।
तारेख बुझ्न अदालत पुगेका उनीमाथि विप्लव माओवादीका कार्यकर्ताले आक्रमण गर्दै कालो मोसो दलेका थिए । घटना भएको केही घन्टापछि विज्ञप्ति जारी गर्दै लोकमानले भनेका छन्,
सम्मानित सर्वोच्च अदालत परिसरमा आज मेरो मानमर्दन गर्ने नियोजित उद्देश्यबाट भएको घृणित कार्यले मलाई स्तब्ध र दुःखी बनाएको छ ।
उनले अघि भनेका छन्, न्यायालय जस्तो सम्मानित र सुरक्षित मानिने स्थानमा ममाथि भएको दुर्व्यवहारलाई मेरा विरुध्द केही महिना यता चल्दै आएको षडयन्त्रपूर्ण चालबाजीको एउटा कडीको रुपमा लिएको छु ।
यो घटनाले आफू थप असुरक्षित रहेको र न्यायालय परिसरमा जान समेत सचेत हुन पर्ने ठानेको उनले बताएका छन् ।
कार्कीले भनेका छन्, केही समय यता पूर्वाग्रहपूर्ण ढंगले जे जस्तो व्यवहार हुँदै आएको भए पनि सम्मानित न्यायालयबाट न्याय पाउने आशा भने अझै गुमाइसकेको छैन ।
साथै उनले यस्ता घटनाले आफ्नो आत्माविश्वासमा कुनै कमी नआउने बताएका छन् ।
प्रतिक्रिया 4