Comments Add Comment

सडक सोलार वत्तीले झलमल्ल झापा

solar-light-jhapa
झापाको बिर्तामोड नगर क्षेत्रमा लगाइएको सौर्य बत्ती

१८ पुस, झापा । पछिल्ला दिनहरुमा झापाका शहर राति पनि झलमल्ल हुने गरेका छन् । दिउँसोभन्दा रातिको दृश्य मनमोहक देखिन्छ ।

सरकारले सौर्य बत्ती कार्यक्रम ल्याएसँगै एक वर्ष अघिसम्म साँझको समयमा अन्धकार हुने चोकबजार अहिले उजेलिएका छन् ।

स्थानीय निकाय र उपभोक्ताको सहभागितामा नगरपालिकामा सोलार सडक बत्ती योजना सरकारले ल्याएपछि अहिले चोकबजार झलमल्ल भएका छन् । गतवर्ष माघ १७ गते स्थानीय विकास मन्त्रालयले ‘जनसहभागितामा आधारित सौर्य सडक बत्ती’ योजना सार्वजनिक गरेको थियो ।

सडक बत्ती योजनाका लागि ०७२ माघ ८ गते बसेको मन्त्रिपरिषद बैठकले कार्यविधि पारित गरेको थियो ।

सोलार बत्ती जडान भएपछि रातको समयमा हुने आपराधिक क्रियाकलापमा पनि कमी आउने विश्वास गरिएको छ ।

सौर्य सडक बत्ती जडान गरिएपछि राष्ट्रिय प्रसारण लाइनबाट सञ्चालित होलोजिन बत्ती, सिएफएल ल्याम्प, भ्यापरजस्ता सडक बत्ती विस्थापित हुन थालेका छन् ।

मेचीनगरबाहेक सबैमा जोडियो

सौर्य सडक बत्ती जडान योजनाका लागि सरकारले ६० देखि ७० प्रतिशत अनुदान दिएको छ भने स्थानीय निकाय र उपभोक्ताबाट ३० प्रतिशत लगानी गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

सोहीअनुरुप झापाका ६ नगरपालिकामा सौर्य सडक बत्ती जडान गरिएको छ । केही ठाउँमा जडान भइरहेका छन् ।

झापाका ८ नगरपालिकामध्ये भद्रपुरमा यसअघि नै सडक बत्ती जडान भइसकेको थियो ।

त्यस्तै, मेची नगरपालिकामा स्थानीय जनसहभागिताको टुङ्गो लगाइनसक्दा ढिलाइ भएको हो । अहिले मेची नगरपालिकामा पनि धमाधम काम भइरहेको छ ।

‘गतवर्ष आर्थिक वर्षको अन्त्यतिर बजेट आयो, जसले गर्दा पनि समस्या भएको हो’, मेची नगरपालिकाका इञ्जिनियर कमलप्रसाद कोइरालाले भने, ‘यो वर्ष जनसहभागिताको विषय टुङ्ग्याउन समय लागेर केही ढिला भयो ।’

मेचीनगरमा अन्य नगरपालिकाहरुको तुलनामा सौर्य बत्ती जडानमा केही ढिलाइ भए पनि अहिले धमाधम काम भइरहेको उनले बताए ।

एउटा बत्तीको लागत १ लाख

एउटा सोलार बत्तीको जडानका लागि करिब १ लाख रुपैयाँ खर्च हुने इञ्जिनियरहरु बताउँछन् । प्रत्येक पोलमा प्यानल, ब्याट्री, चार्ज कन्ट्रोलरसहित बल्ब राखिएको छ ।

यो सामग्रीको रेखदेखका लागि छुट्टै उपभोक्ता समिति नै गठन भएका छन् । प्यानलको २५ वर्षको वारेन्टी छ भने ब्याट्री, चार्ज कन्ट्रोलर र लाइटको ५ वर्षको वारेन्टी छ । प्रत्येक सोलार बत्ती २५ मिटर दुरीमा छन् ।

कुन नगरपालिकामा कति ?

झापाको दमक नगरपालिका क्षेत्रमा १९८ वटा सौर्य बत्ती जडान गरिएको छ । त्यस्तै, गौरादहमा २१ वटा, शिवसताक्षीमा ४२ वटा, कनकाईमा ८२ वटा, बिर्तामोडमा ५३८ वटा र शनिअर्जुनमा २३ वटा सौर्य बत्ती जडान भएका छन् । मेचीनगर नगरपालिकामा भने सौर्य बत्ती जडान प्रक्रिया भइरहेको छ ।

कहाँ कहाँ ?

दमक नगर क्षेत्रमा पूर्व-पश्चिम राजमार्गमा १ सय वटा, दमक बजारको नमुना मार्गमा १० वटा, पशुपति मार्गमा ३७ वटा, बेलडाँगी रोडमा ३० वटा, वीपी रोडमा ११ वटासहित अन्य क्षेत्रमा बत्ती जडान गरिएको दमक नगरपालिकाका इञ्जिनियर तीर्थ श्रेष्ठले अनलाइनखबरलाई बताए ।

गौरादहमा वडा नम्बर २, ३ र ४ को बजार क्षेत्र, वडा नम्बर १२ ग्वालडुब्बा, वडा नम्बर १३ जुरोपानी, वडा नम्बर ७ स्कुल चोक, वडा नम्बर १० गामुना बजार र वडा नम्बर ९ बिखल चोकमा सौर्य बत्ती जडान गरिएको नगरपालिकाका इञ्जिनियर सचिन क्षेत्रीले अनलाइनखबरलाई बताए ।

शिवसताक्षीको झिलझिले बजारमा १० वटा, डुँडामारीमा ५ वटा, दूधे बजारमा १२ वटा, नगरपालिका जाने बाटोमा ५ वटा, सताक्षीधाममा ५ वटा र शिवगञ्जमा ५ वटा गरी ४२ वटा सौर्य बत्ती जडान गरिएको नगरपालिकाका इञ्जिनियर कृष्ण राईले अनलाइनखबरलाई जानकारी दिए ।

कनकाई नगरपालिकाका इञ्जिनियर कुशल हुमागाईंका अनुसार कनकाई नगर क्षेत्रमा ८२ वटा सौर्य बत्ती जडान गरिएको छ । उनका अनुसार कोटीहोममा ३ वटा, सुरुङ्गा बजारमा २४ वटा, वडा नम्बर ३ त्रिवेणी टोल क्षेत्रमा ९ वटा, जामुनखाडीमा १२ वटा, घैलाडुब्बामा ५ वटा, दुर्गापुरमा ४ वटा र लक्ष्मीपुरमा २५ वटा सौर्य बत्ती जडान भएको छ ।

त्यस्तै, शनिअर्जुन नगरपालिकामा शनिश्चरे बजारमा ५ वटा, वडा नम्बर ४ ठाकुर मन्दिर क्षेत्रमा ५ वटा र लक्ष्मीपुरमा १३ वटा बत्ती जडान गरिएको नगरपालिकाका कार्यकारी अधिकृत मनोज राउतले बताए ।

बिर्तामोड नगरपालिका क्षेत्रमा मुक्तिचोक उत्तर शनिश्चरे रोडमा ५२ वटा, बिर्तामोड नगरपालिका-६, बोलबम पेट्रोल पम्प क्षेत्रमा ७० वटा, पुरानो भद्रपुर रोडमा ३७ वटा, बिर्तामोड-६ र ७ को एकता टोलमा ११ वटा, अतिथि सदन जाने बाटोमा २० वटा, कृषिथोक बजार जाने बाटोमा १८ वटा, कृषिथोक बुधबारे बजार क्षेत्रमा १३ वटा, राम चोकको कुमलबाडी सडक क्षेत्रमा १३ वटा, हिमालयन धर्मकाँटा क्षेत्रमा ३४ वटा, राम चोकमा १३ वटा, हिमालय धर्मकाँटामा ३४ वटा, भद्रपुररोड क्षेत्रमा ३२ वटा, मुक्तिचोक क्षेत्रमा ५२ वटा, चारपाने-राजगढ सडक क्षेत्रमा २५ वटा, चारपाने-अर्जुनधारा १८ वटा, रामचोक-पिपलबोटे सडक क्षेत्रमा २५ वटा, मुक्तिचोक पूर्व बसपार्कमा ४२ वटासहित अन्य विभिन्न क्षेत्रमा सौर्य बत्ती जडान गरिएको बिर्तामोड नगरपालिकाका प्रशासन शाखाका प्रमुख मेघराज बास्तोलाले अनलाइनखबरलाई जानकारी दिए ।

मेची नगरपालिकाका इञ्जिनियर कमलप्रसाद कोइरालाका अनुसार काँकरभिट्टामा ७१ वटा, इँटाभट्टामा २१ वटा, धुलाबारीमा ७१ वटा, धुलाबारी खानेपानी क्षेत्रमा १५ वटा, प्यारीभिट्टामा ३३ र इँटाभट्टामा २१ वटा सोलार बत्ती जडानको योजना बनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment