Comments Add Comment

संक्रान्ति बजारका अग्निपीडितलाई एक करोड दिने प्रधानमन्त्रीको घोषणा

prachanda-terhathum

१९ पुस, तेह्रथुम । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेह्रथुम जिल्लाको संक्रान्ति बजारका आगलागी पीडितहरुको पूनर्बासका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् ।

मंगलबार आगलागी भएको स्थानको निरीक्षणपछि प्रधानमन्त्री प्रचण्डले भने, ‘आगलागीले बजार ध्वस्त भएको छ, तपाईहरु घरबारबिहीन हुनुभएको छ । प्रधानमन्त्रीको नेतृत्वमा रहेको केन्द्रीय दैवीप्रकोप कोषबाट संक्रान्ति बजारका अग्निपीडितका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गर्दछु ।’

उनले अघि भने, ‘संक्रान्ति बजारमा दमकलको व्यवस्था गर्नेछु, खानेपानी समस्या समाधानका खानेपानी आयोजना सञ्चालन गर्ने, बजारको पूनस्र्थापना र व्यवसाय सञ्चालनका लागि बिना धितो सहुलियत ऋण उपलब्ध गराउने, संक्रान्ति बजारमा नेपाल बैंक, कृषि विकास बैंकको शाखा कार्यालय स्थापना गर्ने, एम्बुलेन्सको व्यवस्था गर्ने अवगत गराउँछु ।’

पुस १ गते संक्रान्ति बजारमा आगलागीमा २९ घर पूर्ण रुपमा र तीन आंशिक रुपमा जलेको थियो भने ५६ परिवार प्रभावित भएका छन् । सानो भएपनि संक्रान्ति बजार ऐतिहासिक महत्व बोकेको ठाउँ भएको भन्दै प्रधानमन्त्रीले यसको पूनर्निर्माण सरकारको प्राथमिकतामा रहेको बताए ।

प्रधानमन्त्रीले संक्रान्ति बजारको आगलागी स्थलको निरीक्षण गरेका छन् । निरीक्षणपछि प्रधानमन्त्रीसहित जिल्लाका सांसद र जिल्ला दैवीप्रकोप उद्दार समितिका सदस्यहरुको बैठकले क्षतिग्रस्त ३२ घर र ५६ परिवारका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको भ्रमण दलमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला, एमाले प्रमूख सचेतक भानुभक्त ढकाल, प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि शर्मा लगायत उपस्थिति थियो ।

आगजनीबाट १४ करोड ८ लाख क्षति भएको क्षति मूल्याङ्कन गरिएको प्रमूख जिल्ला अधिकारी मेनुका न्यौपानेले जानकारी दिए । पीडितहरुलाई सरकारले प्रतिघर १० हजार राहत र अस्थायी टहरा बनाएको छ भने विभिन्न संघ संस्थाले खाद्यान्न लगायतका राहत सामग्री उपलब्ध गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment