Comments Add Comment

माधव नेपालको दाबीः सर्वोच्चले देश टुक्रिनबाट जोगायो

'शेरबहादुर जी प्रचण्डलाई रोक्नुस्'

madhav-kumar-nepal

२० पुस, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले संविधान संशोधनसम्वन्धी सर्वोच्चको आदेशले देशलाई ठूलो दुर्घटनामा जोगाएको बताएका छन् । साथै संशोधन असंवैधानिक भएको एमालेको दाबीलाई पुष्टि गरेको बताए ।

प्रेस चौतारी नेपालले बुधबार आयोजना गरेको कार्यक्रममा एमाले नेता नेपालले भने, ‘सर्वोच्चको आदेशले देशलाई ठूलो दुर्घटनाबाट बचाएको छ । देशलाई टुक्राउनबाट जोगाएको छ ।’

पूर्व प्रधानमन्त्री नेपालले पाँच नम्बर प्रदेशको सीमांकन हेरफेर गर्ने प्रस्ताव देश टुक्राउने सुरुवातमात्रै भएको दाबी गरे । जनभावना विपरित सरकार अघि बढ्न खोजेकाले आफूहरुले विरोध गरेको नेता नेपालले बताए । ‘यो देशलाई द्वन्द्वमा लैजाने सरुवात मात्र हो, देशलाई चक्रव्यूहमा फसाउने सुरुवात मात्र हो,’ उनले भने, ‘प्रचण्डको यो कदम जनभावना बिपरित र गलत छ ।’

उनले संशोधन प्रस्ताव सके फिर्ता लिएर, नभए थाति राखेर चुनावमा केन्द्रित हुन सरकारलाई सुझाव दिए ।

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दबाव र प्रभावमा परेर संविधान संशोधन प्रस्ताव ल्याएको नेता नेपालको दाबी छ । उनले त्यसलाई रोक्न सत्ता साझेदार दल कांग्रेसको नेतृत्वलाई समेत सुझाव दिए ।

आवश्यक परे त्यस कार्यमा सघाउन एमाले तयार रहेको भन्दै एमाले नेता नेपालले भने, ‘म शेरबहादुर जीलाई पनि आग्रह गर्छु, यस्तो झमेलामा नफस्नुस् । तपाईं पाको मान्छे, देश विदेश घुमेको मान्छे, यस्तो समस्या कसरी समाधान गर्ने थाहा छ, प्रचण्डलाई रोक्नुस् ।’

उनले अघि भने, ‘कसको दबावले यो प्रस्ताव आएको हो ? कसको लागि ल्याएको हो ? उहाँलाई ढाडस दिनुस् । यदि एमालेको साथ चाहिन्छ भने साथ दिन तयार छ ।’

उनले राष्ट्रिय सहमतिको सरकार गठनका लागि छलफल गर्न एमाले तयार रहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment