Comments Add Comment

परम्परागत पानीघट्ट लोप हुँदै, सुधारिएको घट्टको माग

pani-ghatta
२३ पुस, बैतडी । केही समयअघिसम्म जिल्लाका सबै क्षेत्रमा सञ्चालनमा रहेका पानीघट्ट पछिल्लो समय लोप हुँदै जान थालेपछि यसको सुधारको माग बढेको छ ।

कुटानी पिसानीमा प्रयोग हुने घट्टमा पानी अभाव हुन थालेपछि सुधारिएका घट्टप्रति स्थानीयको आकर्षण बढेको र परम्परागत रुपमा प्रयोग हुने काठका ठाँउमा फलाम र प्लास्टिकका सामग्री फेर्दा थोरै पानीमा पनि घट्ट चल्ने भएकाले यसको माग बढेको तल्लादेहीका स्थानीयबासिन्दा नरेन्द्र भण्डारीले बताए।

सुधारिएको मदानीबाट घट्ट चलाउन दुई इन्च पानी भए पुग्छ । नदी र खोलाहरुमा पानीको सतह घट्दै गएपछि आधुनिक पानीघट्टको आवश्यकता परेको भण्डारीले बताए । “सडक सञ्जाल र विद्युत नभएको पुर्चौडी क्षेत्र आधा दर्जन गाविसमा आधुनिक पानीघट्ट पुयाउनु जरुरी रहेको छ”–उनले भने, “पानी घट्टकै भरमा कुटानी पिसानी हुन्छ, बिद्युत् नपुगेकाले यस्तो ठाउँमा परम्परागत पानीघट्ट सुधारको आवश्यकता छ ।”

बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले घट्ट सुधारमा अनुदान दिँदै आएको थियो तर विगत छ महिनादेखि उक्त कार्यक्रम बन्द भएकाले पानीघट्ट सुधारको माग गर्दै निवेदन थुप्रिएका छन् । बैकल्पिक ऊर्जाका क्षेत्रमा क्रियाशील संस्था सामाजिक चेतना तथा विकास सङ्घका अनुसार अहिले सम्म ६०० जति सुधारिएका घट्ट जडान भएका छन् ।

जिल्लामा एक हजार ५०० सयको हाराहारीमा घट्ट सञ्चालनमा रहेको तथ्याङ्क छ । तीमध्ये ६०० मात्रै सुधारिएका छन् । घट्ट सुधार गर्न पाइप, औजार र उपकरणमा रु २५ हजारसम्म लगानी हुने गरेको छ । परम्परागत रुपमा प्रयोग हुने काठका सामग्रीको सट्टा फलाम र पोलिथिनका सामग्री राखिन्छ ।

नयाँ बनाउदा घट्ट, घर र कुलोसहितमा रु डेढ लाखसम्म खर्च हुने बताइएको छ । “उपभोक्ताबाट अत्याधिक माग आएको छ, पानीघट्ट सुधार कार्यक्रमलाई निरन्तरता दिन बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग पहल गरिरहेका छौँ”– उनले भने ।

बिद्युत् र डिजेल मिल भन्दा घट्टको पिसानी सस्तो र मिठो हुने भएका कारण गाउँमा यसको माग बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment