Comments Add Comment

फार्मेसीलाई सस्तोमा सटर दिएकोबारे छानविन गर्न समिति गठन

aaraf-farmacy-kathmandu

२५ पुस, काठमाडौं । १५ लाख पर्ने सात नम्बर सटर बिना टेन्डर आठ लाख रुपैयाँमा आरफ फार्मेसीलाई भाडामा दिएकोबारे छानविन गर्न बीर अस्पतालले सोमबार तीन सदस्यीय समिति गठन गरेको छ ।

अस्पतालका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद लम्सालको संयोजकत्वमा गठन भएको समितिमा लेखा अधिकृत खिमलाल सुवेदी र मीना कुमारी रायमाझी सदस्य छन् ।

अस्पतालका निर्देशक भुपेन्द्र कुमार बस्नेतले सात दिन भित्रमा सत्यतथ्य बुझी आवश्यक सुझाव पेश गर्न समितिलाई निर्देशन समेत दिएका छन् ।

भवन निर्माण विभागले सटर रहेको भवन भत्काउने वा नभत्काउने टुङ्गो नलागेकाकै कारण अस्पतालले उक्त सटर कुल आठ लाख ४९ हजार रुपैयाँमा आरफ फार्मेसीलाई भाडामा दिएको स्वीकारेको छ ।

आरफ फार्मेसी यस अघिसम्म निजी फार्मेसीका रुपमा अस्पताल परिसरमै सञ्चालित थियो । सर्वोच्च अदालतले अस्पतालमा निजी औषधि पसल खोल्न रोक लगाएपछि आरफ फार्मेसी सात नम्बर सटरमा सरेको थियो । सात नम्बर सटर हाल वीर अस्पतालको मुख्य गेटको पारिपट्टि छ ।

‘आरफ फार्मेसी सात नम्बर सटरमा सर्नुपूर्व त्यहाँ अरु नै फार्मेसी सञ्चालित थियो । तर उनीहरुले पैसा नतिरी भागेका कारण पुलिसमा मुद्दा परेपछि उक्त सटरको टेण्डर प्रकृयालाई समेत स्थगित गरी अस्पतालले सटर बन्द गरेर राखेको थियो’, अस्पतालका निर्देशक डा. बस्नेतले भने, ‘पछि सर्वोच्चको आदेशका कारण अस्पतालमा रहेको फार्मेसी बाहिर सार्नुपर्ने भएपछि अस्पतालले सटर आरफलाई पूरानै मूल्यमा दिएको हो’ ।

यो प्रकृया आफू निर्देशक हुन अगावै भएको पनि डा. बस्नेतले स्पष्ट पारे ।

उनले अनलाइनखबरसँग भने, ‘ यो सटर भत्कने हो भने टेण्डरमा गइराख्न जरुरी छैन भनेर पुरानै मूल्यमा सटर भाडामा दिएको हो । यदि नभत्कने हो भने अहिले भएको मूल्यमा ५ प्रतिशतले वृद्धि गरी मासिक कुल आठ लाख ९२ हजार, ३६३ मा दिने सहमति समेत भैसकेको छ’ ।

सटर भत्कने हो कि हैन भन्ने टुङ्गो नलागेकै कारण अस्पतालले सात नम्बर सटरको टेण्डर प्रक्रियालाई तीन महिनाको लागि रोकेको उनले बताए । उनले यही सटर पहिले अन्य फार्मेसीलाई मासिक छ लाख २६ हजार ०७५ रुपैयाँमा दिइरहेकोमा त्यसमा १० प्रतिशत वृद्धि गरी अहिले आरफ फार्मेसीलाई कुल आठ लाख रुपैयाँमा भाडामा दिएको जानकारी दिए ।

बीर अस्पतालका कर्मचारी र औषधि व्यवसायीहरुले भने बिना टेण्डर सस्तोमा सटर भाडामा दिइएको दाबी गर्दछन् ।

तर, पुरानो मूल्य भन्दा बढाएरै सटर भाडामा दिँदा अस्पताल तथा सरकारलाई कुनै घाटा नहुने डा. बस्नेतको दावी छ ।

उनी भन्छन् , ‘पहिले छ लाखमा भाडामा दिँदै आएको सटर अहिले दश प्रतिशत वृद्धि गरी आठ लाखमा दिँदै आएका छौँ । अझै सटर नभत्कने हो भने त्यसमा ५ प्रतिशत वृद्धि गर्ने सहमति गरेका छौँ । यसो गर्दा अस्पताललाई घाटा हुन्छ भन्नु मैले राम्रो काम गर्न खोजेको देख्न नसक्नु हो ।’

उनले सात नम्बर सटरको मूल्य १५ लाख नभई अस्पताल परिसरमै रहेको (पहिला आरफ फार्मेसी भएको) सटरको मूल्यमात्र १५ लाख रहेकोसमेत स्पष्ट पारे ।

यो पनि पढ्नुस्

१५ लाख पर्ने सटर बिना टेन्डर ८ लाखमा !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment