Comments Add Comment

लुम्बिनीमा आएर प्राण त्याग्ने इच्छा थियो ओम पुरीको

om-puriहालै दिवंगत भएका बलिउड अभिनेता ओम पुरी मृत्यूअघि नेपाल आउने योजना बुनिरहेका थिए । नेपालको लुम्बिनीमा आएर प्राण त्याग गर्ने इच्छा उनले व्यक्त गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दैनिक भास्करमा प्रकाशित समाचारअनुसार मृत्यु हुनुभन्दा अघिल्लो साँझ आफ्नी सहयोगी स्मिता सिंहसँग पुरीले चार घन्टा कुराकानी गरेका थिए । आफूहरुबीच बेलुका ५ बजेदेखि ९ बजेसम्म कुराकानी भएको स्मिताले बताएकी छिन् ।

ओम पुरीको भनाई उद्वृत गर्दै स्मिता भन्छिन्, ‘म अब अज्ञातवासका लागि लुम्बिनी जानेछु । त्यो भगवान गौतम बुद्धको जन्मस्थल हो । कसैलाई जानकारी नदिइकन म त्यहाँ १५ दिन बस्नेछु । त्यहाँको गाउँमा दिन बिताउनेछु । मैनवत्ति र टर्चको सहाराले गुजारा गर्नेछु । म त्यहाँ त्यही रुखमुनि बस्नेछु जहाँ गौतम बुद्ध बस्नुहुन्थ्यो । अनि म त्यहीँ आफ्नो शरीर त्याग्नेछु ।’

शंकास्पद बन्दै मृत्यु

अभिनेता पुरीको मृत्युलाई शंकाको घेरामा राखेर भारतीय प्रहरीले छानविन अघि बढाएको छ । सुरुमा हृदयघातका कारण मृत्यु भएको भनिए पनि अहिले विभिन्न शंकाहरु उब्जिएका छन् ।

ओम पुरीकी पत्नी नन्दिता पुरीले सोमबार प्रहरीलाई बयान दिइन् । पतिको मृत्यू स्वभाविक नभएको उनले बताइन् । प्रहरीलाई उनले हत्या वा आत्महत्या दुवै कोणबाट अनुसन्धान गर्न आग्रह गरेकी छिन् । नन्दिताका अनुसार उनी र ओम पुरीबीच सबै कुरा सामान्य अवस्थामा फर्किदै थियो र आत्महत्या गर्नुपर्ने कुनै कारण थिएन ।

ओम पुरी र नन्दिता अघिल्लो वर्षदेखि अलग भएका थिए । ओमले हरेक महिना ३ लाख रुपैयाँ पत्नीलाई दिने गर्थे । नन्दिता उनको लोखंडवालास्थित फ्ल्याटमा बस्ने गर्थिन् । ओमसँग निकट व्यक्तिहरुका अनुसार उनीहरुले सम्वन्धविच्छेदको निर्णय लिइसकेका थिए । १५ जनवरीमा फेमिली कोर्टमा सुनवाई थियो । सम्वन्धविच्छेदका लागि सम्झौता रकम करिब आठ करोड रुपैयाँ तय भएको थियो ।

समाचार अनुसार पत्नी नन्दितासँग सम्वन्धविच्छेदपछि ओम पुर्वपत्नी सीमासँग पुनविवाहको तयारीमा थिए । उनीहरुको धेरै वर्षअगाडि सम्वन्धविच्छेद भएको थियो । तर विगत दुई वर्षदेखि उनीहरु फेरि नजिकिन थालेका थिए ।

टाउकोमा गहिरो चोट

गत शुक्रबार बिहान आफ्नो फ्ल्याटमा ६६ वर्षिय ओम पुरी मृत भेटिएका थिए । प्रारम्भिक पोष्टमार्टम रिपोर्टमा उनको टाउकोमा डेढ इन्च गहिरो र ४ सेन्टिमिटर लामो घाउको निशाना भेटिएको थियो । घाँटीको हड्डी र बाँया काँधको हेयरलाइन फ्याक्चर भएको थियो । प्रहरीले अहिले ओम पुरीसँग निकट व्यक्तिहरुको लगातार बयान लिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment