२ माघ, काठमाडौं । नेपाल वायुसेवा निगमले अमेरिकी कम्पनी एएआर कर्पोरेसनसँगै नयाँ एयरबस खरिद गर्ने लगभग पक्का भएको छ ।
निगम सञ्चालक समितिले एएआर कर्पोरेसनसँग जहाज खरिद गर्ने प्राविधिक समितिको सिफारिस अनुमोदन गरेको छ ।
र, लेटर अफ इन्टेन्ट (आशय पत्र) पठाउने निर्णय गरेको पर्यटन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले जानकारी दिए । उनले अनलाइनखबरसँग भने, हामीले एएआरले दिएको आर्थिक प्रस्ताव पारित गर्यो । अब कम्पनीसँग एमओयू हुन्छ ।’
वायुसेवा निगमले एयरबसको सबैभन्दा सानो वाइडबडी ‘ए ३३०-२००’ जहाज खरिदका लागि खालेको टेण्डरमा १० वटा कम्पनीले प्रस्ताव पेश गरेका थिए । जसमा एएआर कम्पनीले नयाँ विमान नै उपलब्ध गराउने बतायो । र, नयाँ जहाज नयाँ वर्ष २०७४ अगावै दिनसक्ने बताएको छ ।
पोर्चुगिज एभिएसन कम्पनी हाइफ्लाईले एयरवससँग खरिद अर्डर गरेको थियो । तर, हाइफ्लाई कम्पनी ऋणमा गएपछि जहाज किन्न नसक्ने भयो र, सोहि विमानलाई एएआरले सकारेर वायु सेवा निगमलाई बेच्न लागेको छ ।
निगमले दुईवटा एयर बसलाई २५ अर्ब रुपैयाँसम्म पर्ने अनुमान गरेको थियो । सरकार जमानी बसेर कर्मचारी सञ्चय कोषको नेतृत्वमा नागरिक लगानी कोष, नेपाल बैंक लगायत संस्थाले २५ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता भइसकेको छ ।
एएआरले भने करिव ११ अर्ब २८ करोडमा नै जहाज उपलब्ध गराउने बताएको छ । र, चैतभित्र विमान उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । कम्पनीका अनुसार विमान एयरबसको फ्याक्ट्रीमै छ ।
यो पनि पढ्नुहोस्
वायुसेवा निगमले पायो खोजेभन्दा नयाँ एयरबस, नयाँ वर्ष अगावै आइपुग्ने
प्रतिक्रिया 4