८ माघ, काठमाडौं । हिमालकै समीपमा उभिएको महसुस हुँदा कसको मन नरमाउला ? कालिञ्चोक भगवती मन्दिर पुग्ने जोसुकैले यसैगरी हिमालको छेउमा उभिएको महसुस् गर्न सक्छन् । काठमाडौंबाट केही घण्टाको यात्रामै पुगिने कालिञ्चोक भगवती मन्दिरलाई नजिकको तीर्थ पनि भनिन्छ ।
धार्मिक मान्यता अनुसार कालिञ्चोक भगवतीले भक्तको इच्छा पूर्ति गर्दिन्छिन् । मागेको कुरा पुग्ने जनविश्वास पनि छ ।
कालिञ्चोक भगवती मन्दिर धार्मिक रुपले पनि प्रसिद्ध मानिन्छ । मनोरम दृश्य समेत अवलोकन गर्न पाइने यो मन्दिर परिसरबाट गौरीशंकर हिमाल आँखै अगाडि देखिन्छ । साथै लाङटाङ हिमश्रृंखलाको काखैमा उभिएको महसुस गर्न सकिन्छ यहाँबाट ।
काठमाडौंबाट दोलखाको चरिकोटसम्म पक्की सडक भए पनि कालिञ्चोक भगवती मन्दिर पुग्न केही समय कच्ची बाटोमा हिँड्नुपर्छ ।
हिउँ परेका बेला कच्ची बाटो चिप्लो हुने भएकाले सवारी साधन सोचविचार गरेर मात्रै गुडाउनुपर्छ । केही क्षण गाडीमा गुडे पनि मन्दिरमा पुग्नेबेलामा भने ठाडो उकालो पैदल हिँड्नै पर्छ । मन्दिरमा पुग्नेबेलाको ठाडो उकालोमा लेक लाग्ने सम्भावना पनि उत्तिकै हुन्छ ।
कालिञ्चोकको फेदी कुरीसम्म सवारी साधन जान्छ । अनि सुरु हुन्छ पैदल यात्रा । सिधै ठाडो उकालो भएकाले केही असज भए पनि मन्दिर पुगेपछि स्वर्गीय आनन्द प्राप्त भएको अनुभूति मिल्छ ।
कालिन्चोक मन्दिरमा दशैं, जनैपूणिर्मा, नववर्ष र चैतेदशैंमा खुट्टा टेक्ने ठाउँ समेत हुंदैन । यो मन्दिर समुद्र सतहबाट करिब ३८ सय ४२ मिटरको उचाइमा छ ।
पदयात्रा पुनः सञ्चालन गरियोस्ः कुमार अधिकारी
स्थानीयबासी तथा होटल ब्यबसायी
यहाँ आन्तरिक पर्यटकहरु धेरै आउँछन् । तर, उचित जानकारी नहुँदा कतिपयले समस्या पनि भोग्ने गरेका छन् । काठमाण्डौंबाट सिधै सवारी साधन रिजर्भ गरेर २ हजार ७ सय मिटर उचाईमा भएको कुरीमा बास बस्न आइपुग्छन् । सबैलाई कुरीको बसाइ सहज नहुन सक्छ । किनकि कुरी काठमाडौंको तुलनामा निकै चिसो छ ।
यसकारण जानकारी लिएर आउँदा राम्रो हुन्छ । कुरीमा होटल पाइँदैन भनेर प्लाष्टिकको प्याकेटमा खाना लिएर आउने गरेका छन् । प्लाष्टिकको झोलाको धेरै प्रयोगले वातावरण प्रदुषण भएको छ ।
१० वर्षअघि बाह्रविसे-कालिन्चोक हुँदै थिङसाङ पदयात्रा चलेको थियो तर, अहिले लगभग बन्द जस्तै भएको छ । यसलाई पुनः सञ्चालन गर्न सके राम्रो हुन्छ ।
यो पदयात्रामा गौरीशंकर र दोर्जे लाक्पा हिमाल हेर्न लागि उपयुक्त पदयात्रा हो । चरीकोटदेखि कुरीसम्म १८ किलोमिटर कच्ची सडक छ, यसलाई व्यवस्थित गर्न सकियो भने धेरैलाई सजिलो हुन्छ ।
प्रतिक्रिया 4