Comments Add Comment

यसरी बनेको थियो छक्का पञ्जाको गीत ‘पूर्व-पश्चिम रेल’

विकासे गीत बन्यो फिल्मी भाका

rajan-raj

काठमाडौं । पछिल्लो समय चलचित्र ‘छक्का पञ्जा’ ले कीर्तिमानी व्यापार गर्‍यो । यो चलचित्रको ‘पूर्व-पश्चिम रेल’ गीतले पनि राम्रो चर्चा बटुल्यो । यो सँगै ‘देख न चम्पा’ गीतलाई पनि दर्शक-श्रोताले रुचाएको युट्युबको भ्युले देखाउँछ ।

यी गीतका संगीतकार हुन् गत वर्ष ‘वडा नम्बर छ’ को ‘सुर्के थैली’ बोलको गीतबाट तहल्का पिटेका राजनराज शिवाकोटी । संगीतमा नयाँ सिर्जनाको कुरा आउनासाथै उनको मन आफ्नो जन्मथलोमा पुग्छ । किनकि उनको मुड आफ्नो गाउँघरको परिवेशमा खुल्छ । ‘पूर्व-पश्चिम रेल’ गीत जन्मिनुमा पनि गाउँकै पृष्ठभूमि जोडिएको छ ।

सुर्के थैलीले बजार पिटिरहेका बेला पनि उनी आफ्नो जन्मथलो दोलखा पुगेका थिए ।

गाउँ पुगेको भोलिपल्ट बिहानै राजनराज घर मास्तिर लागे । उनको घरमाथिको डाँडामा रमणीय जंगल छ । उनी भन्छन्, ‘चराचुरुङ्गीको आवाज सुन्न र सिंगै गाउँ हेर्न पाइने भएकोले घरमाथिको जंगल मलाई प्रिय लाग्छ ।’

त्यो जंगल सुस्ताउन मात्र होइन, उनको लागि गीत-संगीत सिर्जनाको हिसाबले पनि आत्मीय छ । राजनराजले ‘सुर्के थैली’ गीत त्यही जंगलमा बसेर लेखेका थिए ।

‘पूर्व पश्चिम रेल’ को जन्म पनि त्यहीँ भएको उनी बताउँछन् । ‘वनमा डुलेर मैले त्यो गीतको पहिलो ड्राफ्ट बनाएको थिएँ’ उनले भने ।

chhakka-panja-full

‘पूर्व-पश्चिम रेल’ तयार पार्दा राजनराजले कुनै दिन यसरी चलचित्रमा राखूँला भनेर सोचेकै थिएनन् । किनकि त्यो गीत विकासे गीतको रुपमा बनाएका थिए । नेपालमा रेल चलेको सपना देख्ने उनले मेलम्चीको पानी काठमाडौं आएको हेर्न चाहेका थिए ।

मेलम्चीको पानी सुन्धारामा झरेर काठमाडौंवासीले पानी पिएको देख्न चाहना राख्दै उनले सुरुमा लेखेका थिए-

काकाकुल झैं भाको छ जिन्दगी
मनको तिर्खा मनैको बन्धकी
मेलम्चीको पानी सुन्धारामा झरेको
सपना देखेँ मायालु मैले तिम्रो सिउँदो भरेको…

उनले गीत लेखेर संगीत पनि गरे । रेल आउने सपना त बाँकी नै थियो । तर, मेलम्चीको पानी आउने पक्कापक्की जस्तै भयो । राजनराजले दोलखाबाट काठमाडौं आएपछि मेलम्ची खानेपानी आयोजनाले ठाउँठाउँमा पाइप बिछ्याउन थालेको देखे ।

‘मेलम्चीको पानी खाने सपना साकार हुने लक्षण देखेपछि मैले यो गीतलाई त्यत्तिकै राखेँ’,  उनले भने ।

जब दीपकराज गिरीले ‘छक्का पञ्जा’ बनाउने चर्चा चल्यो, कस्तो गीत-संगीत राख्ने भन्नेबारे उनले राजनराजसँग छलफल गरे । सुरुमै राजनले यही गीत सुनाए । गीत राख्ने पक्का त भयो । तर, ‘मेलम्चीको पानी सुन्धारामा झरेको’ ठाउँमा ‘एक दुई तीन चार पाँच गन्दै हिसाब गरेको’ भन्ने पंक्ति राख्ने सहमति भयो ।

राजनराज भन्छन् ‘त्यसरी गीतको लाइन बदल्ने सल्लाह भएपछि मैले नयाँ ढंगले काम गरेँ ।’ त्यो नयाँ काम नै छक्का पञ्जा चलचित्रमा राखिएको गीत हो । गीतमा राजनराज र अञ्जु पन्तको स्वर छ ।

यो गीतले युट्युबमा राखेको सात महिनामै एक करोडभन्दा बढी पटक हेरिएर नयाँ कीर्तिमान समेत बनाएको छ ।अहिलेसम्मको युट्युब रेकर्ड हेर्दा कुनै पनि नेपाली गीत यति छोटो अवधिमा यति धेरै हेरिएको छैन । ‘सात महिनामा एक करोड बढी दर्शकले हेरेको यही नै होला’ संगीतकार शिवाकोटीले भने ।

अघिल्लो चलचित्र ‘वडा नम्बर छ’ को ‘सुर्के थैली’ लाई पनि दर्शकले निकै मन पराएका थिए । उक्त गीत पनि युट्युबमा राखेको एक वर्षमा एक करोडभन्दा बढी दर्शकले हेरेका थिए । ‘सुर्के थैली’ अहिलेसम्म १ करोड ४९ लाख पटक हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment