Comments Add Comment

अरुण थापालाई आफ्नो गीत नदिनु मेरो दुर्भाग्य

सन्दर्भः गायक अरुण थापाको ६४औं जन्म जयन्ती

sarubhaktaगायक अरुण थापासँग मेरो सरसंगत उनको संघर्षको बेलादेखि नै भएको हो । हामीले केही युवा साथीभाइ मिलेर ०३४ सालमा पोखरेली युवा सांस्कृतिक (पोयुसा) परिवार स्थापना गरेका थियौं । पोयुसा स्थापना हुनुमा अरुणको पनि योगदान थियो । संस्थाको उद्देश्य थियो- साहित्यिक, सांगीतिक र सांस्कृतिक गतिविधि बढाउने ।

हामीले आफूभन्दा दुई-चार वर्ष सिनियर सरोजगोपाल बज्राचार्यलाई संस्थाको अध्यक्ष बनाएका थियौं । उनी त्यो बेलामै ‘ज्यानलाई पर्नु पीर पर्‍यो’ गीत गाएर चर्चित भइसकेका थिए । हामी चाहिँ भर्खरै सिर्जनशील कार्यमा पाइला चालिरहेका युवा थियौं । अरुण पनि साधनारत नै थिए ।

संस्था स्थापनाकै वर्ष हामीले नगर प्रशिक्षण केन्द्रमा विविध सांस्कृतिक कार्यक्रम गर्‍यौं । कार्यक्रममा अरुणले गीतकार विनोद गौचनले लेखेका दुई वटा गीत गाए । ‘जति माया लाए पनि’ र लोक लयमा आधारित ‘यो ज्यानलाई कम्ती पीर परेछ’ भन्ने । गीत निकै हिट भयो ।

त्यसको अर्को वर्ष रेडियो नेपालले राष्ट्रव्यापी गीत प्रतियोगिता आयोजना गरेको थियो । त्यसमा हामीले सांस्कृतिक परिवारको तर्फबाट अरुणलाई भाग लिन पठायौं । उनले त्यहाँ मेरो निकट साथी विक्रम गुरुङले लेखेको गीत ‘कतै टाढा तिमीबाट पुगेा भने’ गाएका थिए । त्यो गीत टुटफुट अवस्थामा थियो, सबै साथीहरु मिलेर हतारमै गीत पूरा गरेर पठाएका थियौं ।

प्रतियोगितामा अरुणले पुरस्कार त जितेनन् । तर, रेडियो नेपालमा गीत रेकर्ड गराउने अवसर पाए । त्यसै क्रममा ‘जति माया लाए पनि’ गीत पनि रेकर्ड भयो । त्यो गीत एकदम हिट भयो । त्यसपछि आधुनिक गायनमा अरुणको युग सुरु भयो ।

अरुण थापा पोखरेली युवा सांस्कृतिक परिवारकै उत्पादन हुन् । संस्थालाई हामीले जन्माएका थियौं र संस्थाबाटै हामीले रेडियो नेपालमा पठाएपछि त्यहाँ उनले गीत रेकर्ड गराएका थिए । उनी बितेपछि कतिपय उनका साथीभाइ भन्नेहरुले अनेक श्रेय लिन खोजे । तर, अरुण पोखरामा नजन्मिए पनि उनलाई राम्रो गायकको रुपमा पोखराले स्थापित गरेको हो ।

***

arun-thapa
अरुण थापा

अरुण विशुद्ध गायक नै बन्न जन्मिएका थिए । अरु कुरामा भने उनी व्यावहारिक थिएनन् । उनलाई गिटार बोकेर हिँड्न पाए पुग्थ्यो । हातमा सधैं गिटार हुन्थ्यो । फुक्काफाल खालको भए पनि उनको स्वभाव गम्भीर थियो । हल्काफुल्का कुरा गरेर हिँड्ने खालको थिएन । शिष्ट, संयमित र सरल थिए । बोली वचन पनि मीठो थियो ।

उनको खुबी चाहिँ के थियो भने, बेलामौकामा साथीभाइको जमघट भएको बेलामा जोक भनेर हँसाउन सिपालु थिए ।

पोखरामा हुँदा हामीबीच चौबीसै घण्टा जस्तो गीत-संगीतको बारेमा कुरा हुन्थ्यो । कहिले आधा रातसम्म गफ गरेर बसिन्थ्यो । कहिले सँगै पनि सुतिन्थ्यो । धेरजसो साथीभाइहरुको घरमा जमघट हुन्थ्यो । यदाकदा महेन्द्रपुल र बगरको होटलमा पनि भेट्थ्यौं । भेट भएपछि सधैं त्यही संगीतकै कुरा हुन्थे ।

अरुणमा साहित्यप्रति पनि चाख थियो । सांस्कृतिक परिवारमा हुने संगीत बाहेकका कार्यक्रममा पनि सहभागी हुन्थे ।

अरुणको गायक बन्ने रहर भएको खासगरी गायकीकै कुरा गरिरहन्थे । त्यसबेला पनि मीठो गरी गीत गाउँथे । काठमाडौं आउनु अगाडि पोखरामा उनले ठूलो प्रभाव छोडेका थिए ।  काठमाडौं आएर पनि सांगीतिक हिसाबमा प्रगति गरे । संख्यामा थोरै भए पनि राम्रा-राम्रा गीत गाए ।

उनको खुबी के लाग्छ भने, उनले आफूले गाउने गीतहरुको चयन राम्रोसँग गरे । उनको गायनको प्रवृत्ति हेर्दा त्यसबेला गाएका अधिकांश गीत अलि उदासीपूर्ण छन् । उनले त्यस्ता गीतहरु चयन गर्नुका पछाडि सायद आफ्नै व्यक्तिगत कारण पनि हुन सक्छ । जीवनमै बढी दुःख-पीडा अनुभूति गरेको हुनाले गीत पनि त्यस्तै रोजे होलान् ।

आफ्ना गीत सिर्जना हुनुअघि अरुणले गाउने गीतहरु नारायणगोपाल र त्यसबेलाका अरु अग्रजका सिर्जना हुन्थे । तर, सांस्कृतिक परिवारको कार्यक्रममा हामी आफ्नै गीत प्रस्तुत गथ्र्यौं । म गीत लेख्थेँ । तर, मेरो दुर्भाग्य के हो भने, मैले कहिले पनि अरुणलाई मेरो गीत गाऊ भनेर भनिनँ । किनभने गीतमा मभन्दा बढी अरु साथीहरु चासो राख्थे । म चाहिँ नाटकतिर बढी ध्यान दिन्थेँ । विशेष गरेर विक्रम गुरुङ संगीतमा बढी लगाव राख्थे ।

विनोद गौचनले लेखेको अरुणको सर्वाधिक चर्चित गीत ‘जति माया लाए पनि’ कम्पोज गर्दा म पनि सँगै थिएँ । बगर चौकमा विनोदको घरको दोस्रो तलामा अरुणले यो गीत कम्पोज गरेका हुन् । अरुणले राति एक बजेसम्म गिटार खेलाउँदै त्यो गीतको रफ ट्युनिङ तयार पारेका थिए ।

विनोदको घरबाट अरुण र म राति १ बजे निस्किएका थियौं । मेरो घर त नजिकै थियो । उनी चाहिँ काँधमा गिटार भिरेर २०-२५ मिनेटको दूरीमा रहेको महेन्द्रपुलतिर लागे ।

उनले सबैजसो गीत राम्रै गाएका छन् । गायकीमा खोट लगाउने ठाउँ छैन । उनी आफ्नो छुट्टै छाप भएको त्यो समयका मेलोडी सिंगर थिए । उनका राम्रा गीतहरुमध्येमा पनि मलाई ‘आँखाको निद खोसी लाने’ विशेष मन पर्छ ।

***

अरुण ०३० सालपछि पोखरा आएका थिए । उनका बुवा गञ्जप्रसाद त्यसबेलामा नेपाल बैंकको क्षेत्रीय प्रबन्धक भएर पोखरा आउादा परिवारै त्यहाँ आएको थियो । बुवा पनि संगीतमा सौखिन रहेछन् । त्यो प्रभाव छोराहरुमा परेको थियो ।

अरुण र उनका माहिला भाइ किरण संगीतप्रेमी थिए । दुवै जना हाम्रो सांस्कृतिक परिवारका सदस्य थिए । पछि चाहिँ भाइले आफ्नो करिअर अन्यत्रै बनाए । किरण अहिले काठमाडौंमै छन् । बेलाबेला भेटघाट भइरहन्छ । कान्छा भाइ पुरण चाहिा बडो बिजोगले बिते । पछि बुवाको सरुवा भएर परिवारका सबै जना काठमाडौं गए पनि उनी पोखरामै देखिन्थे । भीख मागिरहेको दयनीय अवस्थामा भेटिन्थे । मगन्ते अवस्थामै बिते ।

अरुण र किरण छुट्टाछुट्टै आमाका सन्तान थिए । पछि अरुणले पनि दुई विवाह गर्न पुगे । प्रेम विवाह असफल भएपछि उनले दोस्रो विवाह गरेका थिए ।

अरुण काठमाडौंमा बस्न थालेपछि हाम्रो भेटघाट र सम्पर्क पातलियो । म ०३९ सालपछि एमए पढ्न कीर्तिपुरमा बस्न थालेपछि बेलामौकामा भेट हुन थाल्यो । मभन्दा पनि साथी विक्रमसँग बाक्लो भेट भइरहन्थ्यो । विक्रम र म कीर्तिपुरको नयाँबजारमा एउटै कोठामा बस्थ्यौं । त्यतिबेलै विक्रमले अरुणको संगतमा ‘आँखाको निद खोसी लाने’, ‘भुलूँ भुलूँ लाग्यो मलाई’ जस्ता गीत सिर्जना गरेका हुन् ।

काठमाडौंमा अरुणको जीवनकथा त्यति सुखद हुन सकेन । दुर्व्यसनमा लागे भन्ने सुनियो । पहिले जस्तो सम्पर्क नहुने भएकोले सबै कुरा त थाहा हुन्थेन ।

पोखरामा हुँदा त उनमा दुर्व्यसनकै तहमा कुलत थिएन । चुरोट र अलिअलि मदिरा चाहिँ खान्थे । तर, त्यस्तो अनियन्त्रित थिएन । त्यो बेलामा त म पनि चुरोट खान्थेा । उनी चाहिँ चुरोटको खिल्लीमा गाँजा मिसाएर तान्न रुचाउँथे ।

उनको जीवन सुखद नहुनुमा उनको अव्यावहारिक जीवनशैली पनि कारक रह्यो । किनभने आफ्नो लागि आफूले पनि केही कदम चाल्नुपर्छ भनेर उनले सायद बुझेनन् । आफ्नो बारेमा गम्भीर भएनन् । अहिलेको समयमा उनी भएका भए देश-विदेशको कन्सर्टमा घुमेर पैसा कमाउाथे होलान् । तर, त्यो बेला त्यस्तो कन्सर्ट गरेर आम्दानी गर्ने अवस्था थिएन । त्यसैले उनी आर्थिक रुपमा पनि पीडित भए ।

फेरि उनका बुवाको पनि असामयिक निधन भयो । त्यसले गर्दा आर्थिक भरथेग एक्कासि टुट्यो । पूरै परिवार समस्यामा पर्‍यो ।

दुर्व्यसनका कारण अरुण असामयिक रुपमा हामीलाई छोडेर गए । २००९ माघ ११ गते कलकत्तामा जन्मिएका उनी ०५६ साउन ५ गते काठमाडौंमा बिते ।

उनले जीवनमा खेपेको पीडाबाट भाग्न नशाको सहारा लिए होलान् । तर, उनलाई सम्हालेर ठीक बाटोमा हिँडाउन सकेको भए उनको प्रतिभालाई हामीले राम्रोसँग उपयोग गर्न पाउँथ्यौं ।

(कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment