+
+
Shares

‘क्यान इन्फोटेक’ मेला सुरु, प्रमुख आकर्षणमा स्मार्टफोन

रासस रासस
२०७३ माघ १३ गते १६:१५

smartphone-user
१३ माघ, काठमाडौं । सूचना प्रविधिको क्षेत्रमा विकास भएका नयाँ प्रविधिबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले ‘सुविसु क्यान इन्फोटेक–२०१७’ मेला सुरु भएको छ ।  कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ)को आयोजनामा काठमाडौँको भृकुटीमण्डपको प्रदर्शनी कक्षमा सुरु भएको २३औँ संस्करणको क्यान इन्फोटेक मेला आगामी माघ १८ गतेसम्म चल्नेछ ।

विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीको सहभागिता रहने मेलामा २२२ कक्ष रहेका छन् । मेलाको एक समारोहकाबीच उद्घाटन गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले राज्य प्रणालीलाई प्रविधिमैत्री बनाउन आधुनिक प्रविधिको उच्चतम प्रयोग गरिनुपर्नेमा जोड दिए ।

“राज्य प्रणालीलाई आधुनिकीकरण गर्न जरुरी छ, परम्परागत कार्य प्रणालीलाई आधुनिक बनाई सेवा प्रणालीलाई सुलभ र छरितो बनाउन प्रविधिको अपरिहार्य भइसकेको छ” – उनले भने ।

उपप्रधानमन्त्री महराले राज्य विज्ञान र प्रविधिको आधुनिक आविष्कारबाट बाहिर जानै नसक्ने भन्दै विद्युतीय सिकाइ ‘इलर्निङ’ लाई प्रोत्साहन गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले दूरसञ्चार प्रविधिको पहुँच ग्रामीण भेगका जनतासम्म पुर्याउन सरकार लागि परेको उल्लेख गर्दै अबको १० वर्षपछि पूरै नेपाल विद्युतीय ‘इ’ नेपाल हुने दाबी गरे ।

क्यान महासङ्घका अध्यक्ष विनोद ढकालले सूचना प्रविधि क्षेत्रको विकासका राज्यको ध्यान जानुपर्नेमा जोड दिए । उद्घाटन समारोहमा मुख्यसचिव डा सोमलाल सुवेदी, सूचना प्रविधिको क्षेत्रमा काम गर्ने विज्ञलगायतको सहभागिता थियो ।

प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स्, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट्स, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स् र अन्य रहेका छन् ।  मेलाको प्रमुख आकर्षणमा स्मार्टफोनहरू हुन् ।

यस वर्ष क्यान इन्फोटेकको शीर्ष प्रायोजन सुविसु र एसोसिएट प्रायोजक सामसुङ रहेका छन् । त्यस्तै प्लाटिनम स्पोन्सर–मर्कन्टाइल, डायमण्ड स्पोन्सर– नेपाल टेलिकम रहेको छ । मेलामा व्यवसायीले व्यापारिक सम्भावना विस्तारित गर्ने मात्र नभई विभिन्न नयाँ तथा नौलो प्रविधिको प्रदर्शनी गर्ने पनि मौका पाउनुका साथै एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नयाँ नयाँ प्रविधि, उपकरणको अवलोकन तथा खरिदसमेत गर्न पाउने छन् ।

क्यान इन्फोटेकको अघिल्लो वर्ष तीन लाख ६३ हजारले अवलोकन गरेकामा यस वर्ष सो सङ्ख्या चार लाख पुग्ने विश्वास आयोजकको छ । इन्फोटेकमा अवलोकन शुल्कबापत सर्वसाधारणलाई  एकसय र विद्यार्थीलाई  ५० रूपैयाँ तोकिएको छ । क्यान मेला नयाँ प्रविधि र उपकरणको वस्तुस्थिति झल्काउने मञ्च भएकाले यसबाट अवलोकनकर्ताले मोबाइल कम्युनिकेसन र कम्प्युटर हार्डवेर सफ्टवेयरको नयाँ भर्सनका उपकरण देख्न पाउने क्यान महासङ्घका महासचिव विश्वराम बलामीले जानकारी दिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?