+
+
Shares

टुँडीखेलको ल्होछारमा कुलमान र लोकमानको मिथक !

'तामाङका छोराले लोडसेडिङ हटाए, लोकमानले भ्रष्टाचार गरे'

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ १५ गते १८:३७

१५ माघ, काठमाडौं । यो देशमा यात लोडसेडिङ हटाउने कुलमान घिसिङको चर्चा छ, या अख्तियारबाट गलहत्याइएका लोकमानसिंह कार्कीको । यिनै दुई ध्रुवका ‘मान’हरुको चर्चा शनिबार काठमाडौंको टुँडीखेलमा आयोजित तामाङहरुको ल्होछारमा पनि भयो ।

लोडसेडिङ हटाएर जनताको मन मुटुमा बस्न सफल कुलमान रामेछापको आदिवासी जनजाति समुदायमा हुर्केका सरल मिजासका इञ्जिनियर हुन् । लोकमानसिंह कार्कीचाहिँ मोरङको जमिन्दार परिवारमा जन्मेका, हुकुम प्रमाङ्गीबाट जागिर खाएका र भ्रष्टाचारमा लिप्त नकारात्मक प्रतिनिधिपात्र हुन् ।

एकजना सकारात्मक एवं आशा जगाउने पात्र हुन् । अर्काचाँहि देश डुबाउने नकारात्मक प्रतिनिधिपात्र हुन् ।

लोडसेडिङ हटाएर मुलुकबासीलाई उज्यालो दिलाउने नेपाल विद्युत प्रािधकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ साँच्चैका सेलीब्रेटी बनेको प्रमाण शनिबार काठमाडौंको टुँडीखेलमा देख्न पाइयो ।

तामाङ जातिले बनाउने २८५३ औं सोनाम ल्होछार पर्व मनाउन टुँडिखेलमा भेला भएका हजारौं सहभागीका वीचमा वक्ताहरुले मुक्तकण्ठले कुलमान घिसिङको प्रशंसा गरे ।

लोकमान सिंह कार्की

ल्होछारमा शुभकामना मन्तव्य व्यक्त गर्दै एमाले नेता शेरबहादुर तामाङले भने- ‘एक जना तामाङका छोरा कुलमान घिसिङले लोडेसेडिङ हटाएर देखाए, अर्का लोकमानसिंह कार्कीले चाहिँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्र बसेर भ्रष्टाचार गरे ।’

कुलमान घिसिङका कारण आज सम्पूर्ण तामाङहरु गौरवान्वित बनेको भन्दै एमाले नेता तामाङले अवसर पाएको अवस्थामा तामाङहरु राज्य सञ्चालनमा सक्षम रहेको अभिव्यक्ति दिए । उनले लोकमानसिंह कार्कीलाई खराब बिम्वका रुपमा प्रस्तुत गरे ।

कार्यक्रममा बोल्दै नयाँशक्ति पार्टीका नेता डा. बाबुराम भट्टराईले पनि तामाङहरु जैविकरुपमै सक्षम रहेको कुरा कुलमान घिसिङले प्रमाणित गरिदिएको बताए । यसअघिका नेतृत्वकर्ताहरुले बिजुली चोरेका कारण लोडसेडिङ भएको भन्दै डा. भट्टराई कुलमानले त्यसलाई तोडेको बताए ।

प्रधानमन्त्री प्रचण्डले कार्यक्रममा शुभकामना दिँदै आफूले कुलमानसिंह घिसिङको क्षमता देखेर जिम्मेवारी दिएको बताए । ‘उहाँ सक्षम व्यक्ति हो भन्ने मैले थाहा पाएर मौका हेरिरहेको थिएँ,’ प्रधानमन्त्रीले भने- ‘म कुलमानजीलाई विशेष धन्यवाद दिन चाहन्छु । उहाँले आफ्नो क्षमता देखाउनुभएको छ ।’

ल्होछारको अवसरमा आयोजित कार्यक्रममा माओवादी नेता मोहन वैद्य, संघीय समाजवादीका राजेन्द्र श्रेष्ठ, लगायतले शुभकामना दिएका थिए ।

सहयोग दोब्बर पार्ने घोषणा



कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सोनाम ल्होछार मनाउन सरकारले दिने सहयोग दोब्बर वनाउने घोषणा गरे । साथै तामाङ समुदायको सांस्कृतिक भवन बनाउन सरकारले सहयोग गर्ने आश्वासन दिए ।

प्रधानमन्त्रीको कोषबाट रकम दिन नमिल्ने भएकाले मन्त्रिपरिषद्बाट विशेष निर्णय गरेर अपेक्षा गरेभन्दा बढी रकम दिने उनले दाबी गरे ।

हेर्नुस् टुँडिखेलमा मनाइएको सोनाम ल्होछारका तस्वीरहरू







तस्वीरः कबिन अधिकारी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?