+
+
Shares

सिके राउतलाई आस्थाको बन्दी मान्न सकिँदैन

'सिके राउतलाई भाषण गर्न दिने गृहमन्त्रीलाई एक सेकेण्डमा हटाइदिनुपर्थ्यो

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ १९ गते १९:४१

१९ माघ, काठमाडौं । चर्चित मानवअधिकारकर्मी कृष्ण पहाडी प्रखर गणतन्त्रवादी हुन् । एक दशक पहिले कांग्रेस र एमालेका नेताहरु ‘संवैधानिक राजतन्त्र’ मा रुमलिइरहेका बेला पहाडीले राजतन्त्रविरुद्ध अभियान चलाएका थिए । अनलाइनखरकर्मी बुधबार दिउँसो पिताम्बर भेषधारी यी ब्रह्मचारीसँग ०६१ साल माघ १९ को शाही ‘कु’ बारे कुराकानी गर्न कालिकास्थान पुग्दा विषयवस्तु अन्यत्रै मोडियो ।

मानवअधिकारकर्मी पहाडीसँग पूर्वराजा ज्ञानेन्द्रका विषयमा कम कुरा भयो । बढीचाहिँ सिके राउतका विषयमा चर्चा भयो । कारण के रहेछ भने कृष्ण पहाडीले अब ज्ञानेन्द्र शाहभन्दा बढी सिके राउतबाट देशलाई ‘खतरा’ देखेका रहेछन् ।

हालै सिराहामा सिके राउतले गरेको सभालाई लक्षित गर्दै पहाडीले गृहमन्त्री विमलेन्द्रनिधीमाथि तीव्र आक्रोश पोखे । सिके राउतलाई भाषण गर्न दिने गृहमन्त्रीलाई तत्कालै बर्खास्त गरिनुपर्ने उनले बताए ।

अब नेपालमा राजतन्त्र र्फकन नसक्ने दाबी गर्दै पहाडीले देशमा अर्कैखालको दुर्घटनाको खतरा आउन लागेको औंल्याएपछि हामीले सोध्यौं-

तपाईले कस्तोखालको दुर्घटनाको संकेत गर्नुभएको हो ?

संसारभरिका राज्यको दायित्व भनेको देश र जनताको सुरक्षा गर्नु हो । देशलाई नै गाली गरेर, विभाजनको कुरा बोकेर कार्यक्रमहरु गर्न थालिसक्दा पनि सरकार मौन भएर बस्यो भने परिणाम कसले त्यसलाई क्यास गर्न सक्छ ? म प्रष्ट भन्न चाहन्छु, यो देशका गृहमन्त्री विमलेन्द्र निधी नेपालको गृहमन्त्री हो कि विखण्डनकारीको संरक्षक हो छुट्याउन गाह्रो भयो ।

के तपाईले मधेसमा सिके राउतले गरिरहेको गतिविधिलाई लिएर यसो भन्न खोज्नुभएको हो ?

म चेतावनी दिन चाहन्छु, सरकारमा बस्ने र विपक्षमा बस्ने सबै राजनीतिक दल र नेताहरुलाई, देश र जनताभन्दा माथि कोही पनि हुँदैन । मेरा लागि सबैभन्दा पूजनीय कोही छन् भने ती नेपाली जनता नै हुन् । नेपाल देशकै विभाजनको कुरा कसैले गर्छ र नेपाली जनतालाई, समुदायलाई गाली गर्न कसैले दुस्प्रयास गर्छ भने त्यो अक्षम्य पराध हो ।

तपाई त मानवअधिकारवादी अभियन्ता पनि हुनुहन्छ, विगतमा एम्नेष्टी इन्टरनेशनले समेत भनेको थियो कि सिके राउत ‘आस्थाका बन्दी’ हुन् र उनले पनि त अभिव्यक्तिको स्वतन्त्रता पाउनुपर्छ, आफूलाई लागेको कुरा उनले पनि बोल्न पाउनुपर्छ । एम्नेष्टीले नै भनेको हैन र यस्तो ?

त्यसबेला म एम्नेस्टीको सदस्य थिइनँ । २५ वर्ष अघि म त्यसमा थिएँ । मेरो नाम बेचिन्थ्यो । भँजाइन्थ्यो । आज पनि मैले सुनेको छु, पुराना फोटाहरु मेरो जुन डायरीमा छापिएको थियो, बाँडिदैछ । म अनलाइनखबरमार्फत उनीहरुलाई भन्न चाहन्छु- एम्नेस्टीका कुनै पनि कार्यक्रममा मेरो समर्थन हुँदैन भनेर मैले घोषणा गरिसकेको छु ।

हाम्रो प्रश्न के थियो भने सिके राउतले अभिव्यक्ति स्वतन्त्रता पाउनुपर्छ भन्ने मानवधिकारवादीहरुलाई तपाई के भन्नुहुन्छ ?

अभिव्यक्ति स्वतन्त्रता आधारभूत मानवअधिकार हो । तर, घृणात्मक अभिव्यक्ति अपराध हो । मानवताविरोधी अपराध हो । अझ बुझौं- घृणात्मक अभिव्यक्ति नै ध्वंसात्मक अभिव्यक्तिको पहिलो सिँढी हो । एम्नेष्टी इन्टरनेसनल यसमा चुक्यो । लण्डनमा बस्ने यसका केही मठाधीशहरुले गद्दारी गरे ।

कसरी ?

घृणात्मक अभिव्यक्ति दिनेलाई आस्थाको बन्दी मानिँदैन । हिंसाको वकालत गर्नेलाई पनि मानिँदैन । सिके राउतलाई आस्थाको बन्दी मान्ने लण्डनबाटै केही कुरा चुहियो । लण्डनमा एम्नेष्टीमा काम गर्ने केही कर्मचारीले मलाई भने कि म कुन संस्थामा काम गर्छु सर, जसले देश विभाजनको कुरा गर्नेलाई बोकेर बसेको छ ।

यस्तो डरलाग्दो क्रम सुरु भइसकेपछि यहाँका साथीहरुले कुरा गर्नुभयो । तर, उनीहरुले टेरेनन् र घृणात्मक अभिव्यक्ति दिने सिके राउतलाई बोके । यो मानवअधिकारको सिद्धान्तको खिलाफ हो ।

अहिंसात्मकरुपमा गतिविधि गरिरहेका सिके राउतलाई सरकारले समाउँदा उनलाई आस्थाको बन्दी मान्ने कि नमान्ने ? यस्तो प्रश्न गर्नेहरुलाई के जवाफ दिनुहुन्छ ?

कुनै समुदायलाई ‘वेश्या’ भन्ने मान्छेलाई आस्थाको बन्दी मान्न सकिँदैन । यदि देश टुक्र्याउनुपर्छ भन्ने व्यक्तिलाई आस्थाको बन्दी मानेर बस्ने हो भने भोलि डोनाल्ड ट्रम्पले अमेरिकामा यो कुराको सामना गर्न सक्नुहुन्छ ? कुनै समुदाय विशेषका महिलाहरुलाई वेश्या भन्न पाइन्छ भन्ने कुरा अभिव्यक्ति स्वतन्त्रताभित्र पर्छ भने भोलि बेलायतमा यही बहस चल्यो भने बेलायतले थेग्न सक्छ ?

पछिल्लो चरणमा एम्नेष्टीका गतिविधिको विरोधमा भारतको बैंग्लोरमा ११ दिनसम्म जुलुस प्रदर्शन भयो । एम्नेष्टीमाथि कारवाहीको माग भयो । नेपालको हकमा एमनेस्टीले गरेको बदमासी के हो भने त्यहँभित्र सिके राउतलाई आस्थाकै बन्दी बनाउने भनेर कुरा गरेको थियो । यो कुरा लण्डनमा कतिपयले स्वीकार्न सकेनन् । तर, व्यवहारतः उनलाई आस्थाको बन्दीका रुपमा हेरियो ।

सबैभन्दा आपत्तिजनक कार्य एम्नेष्टीले के गर्‍यो भने डिसेम्बर २०१४ मा निकालेको रिपोर्टमा सिके राउतले बोल्न पाउनुपर्छ, संगठन गर्न पाउनुपर्छ र उसले जति कुरा बोलिरहेको छ, त्यो कुरा पब्लिकमा बोलिरहन पाउनुपर्छ भन्यो ।

यसको अर्थ सिके राउतले कसैलाई बेश्या भन्न पाउनुपर्छ भन्ने कुराको वकालत हो । यस्तो कुराको वकालत गरेपछि एम्नेष्टी इन्टरनेशनल मानवअधिकारवादी संस्था नै रहेन । र, मैले भनें म त्यसको सदस्य छैन । तर, नेपालका अब कोही पनि समर्थक र शुभचिन्तक त्यहाँ रहँदैनन् । त्यहाँ जो रहन्छन्, गद्दारहरु मात्रै रहन्छन् । देश र जनताप्रति र मानवताविरोधी गद्दारहरुमात्रै रहन्छन् । त्यसमा मेरो चाहिँ आपत्ति छ ।

सिके राउतलाई राज्यले पक्रेर कारवाही चलायो भने तपाई बोल्नुहुन्न ?

हेर्नोस्, म के मान्यता राख्छु भने यो देशमा कानून छ । ती कानून मानवअधिकारविरोधी छन् भने संसदमा बसेर त्यसलाई पुनर्विचार गर्नुपर्छ । होइन भने कानूनसम्मत व्यवहार गर्नुपर्छ । तपाईले पनि कानून मान्नुपर्छ, मैले पनि कानून मान्नुपर्छ । कानूनसम्मत हुने कुनै पनि व्यवहारको मानवअधिकारवादीहरुले विरोध गर्दैनन् । तर, रिहा गर पनि भन्दैनन् । उनीहरुले स्वच्छ र निश्पक्ष पुर्पक्ष हुनुपर्छ भन्छन् । उसले वकिल राख्न पाउनुपर्ने, उसलाई यातना दिन नहुने, उसलाई मृत्युदण्ड दिन नहुने हाम्रा मान्यताहरु हुन् ।

सिके राउतको पक्षमा बोल्ने ‘मानवअधिकारकर्मी’ पनि त छन् नि ?

नेपालमा छाडातन्त्र भयो । पछिल्लो चरणमा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्षले सिके राउतलाई भेट्नु भो । भनेपछि यहाँ छाडातन्त्र भयो । छाडातन्त्र हुँदाखेरि नेपाली पूर्जाहरु उपयोग गरिए । दुरुपयोग गरिए । पश्चिम होस् या उत्तर होस् या दक्षिण होस् सोझै आफैंले आफ्ना कुरालाई सतहमा ल्याउँदैन । यहीँका पात्रहरु पकड्छ । पात्रहरुका मुखबाट यी कुराहरु बोलाइन्छ ।

म त यो दाबा गर्छु कि सिके राउतको रिहाइको विगतमा जो साथीहरुले माग गरे, कुन धरातलमा माग गर्ने ? सफा कुरा गर्नुपर्छ, हामी गैरकानूनी थुनाको विरोध गर्छौं । कानूनसम्मत हुनुपर्छ । म कानून मान्छु । यो देशको कानुनले के भन्छ ? अभिव्यक्ति स्वतन्त्रताको नाममा नेपाल आमालाई र… भन्न पाइन्छ ? वेश्या भन्न पाइन्छ भन्ने हो भने भोलि यही ट्रेन्ड अन्यत्र सुरु भयो भने के हुन्छ ? यसले मानवअधिकारवादी संस्थाको गरिमा र विश्वासमा घात गरेको छ ।

एउटा कुरा तपाईहरुले हेर्नुभएको छ कि छैन, सिके राउतको कुरामा उत्ताउलिएर ज-जसले कुरा गरे, अहिले उनीहरु कोही पनि बोल्न सकेका छैनन् । काठमाडौंका बसेर एक दुईवटा मिडियाको वरिपरि रुमलिएर जिवित भएका मात्रै हुन्, पब्लिकमा तिनीहरुको कोही पनि देखा पर्न सकेका छैनन् ।

तपाई विभिन्न जिल्लामा घुम्नुभयो, मधेसमा सिके राउतको स्थिति कस्तो देखियो ?

म ६४ जिल्लामा गएँ । मुस्ताङदेखि लिएर नेपालगञ्ज, कैलालीसम्म हामीले सभाहरु गर्‍यौं ।

मेरो प्रष्ट मान्यता छ, सिके राउतको घृणात्मक अभिव्यक्तिलाई समर्थन गर्ने र वकालत गर्नेसँग म जीवनभर संगत पनि गर्दिनँ र मैले भेट्दा पनि भेट्दिँन । र, मैले भेटेको पनि छैन । एमनेष्टी इन्टरनेशनलमात्रै होइन, यस्ता कुनै पनि इन्टरनेशनलसँग मेरो संगतै हुँदैन ।

त्यसैले म तपाईहरुलाई एउटा कुरा प्रष्टसँग भनौं, कुनै पनि घृणात्मक अभिव्यक्तिलाई मानवअधिकार हो भनेर नेपाल विभाजनको कुरालाई कुनै अन्तरराष्ट्रिय मानवअधिकारवादी संस्थाले बोक्छ भने म आफूले पाएका सम्मानहरु फिर्ता गर्नेदेखि लिएर म उनीहरुको संगतै त्यागिदिन्छु ।

यो मामिलामा तपाई निकै कठोर पो हुनुहुँदोरहेछ…

म कठोर छु । किन कठोर छु भने देश र जनताभन्दा ठूलो कोही पनि हुन सक्दैन । यो कुरा प्रष्ट छ । तर, मानवीय मूल्य मान्यताको सदैव सम्मान हुनुपर्छ ।

सिके राउतमाथि यसरी खनिँदा तपाईलाई मधेसविरोधी भन्दैनन् ?

म त मधेसको जनतामा गएँ नि त । मलाई त्यहाँ कसैले मधेसविरोधी भनेनन् । काठमाडौंमा बसेर कुराको खेती गर्ने मान्छेहरुले कृष्ण पहाडीलाई मधेसमा खेदिहाल्छ भन्ने सोचेका थिए । मधेसमा सबैभन्दा बढी सम्मान त मधेसी जनताबाट मैले पाएँ । त्यसकारण म मधेसका जनताको अधिकारको पक्षमा छु है । यो कुरा बुझ्नुहोला नि ।

मधेसका जनता, आदिवासी जनजातिहरुको पक्षमा म लडेको हुँ, लड्छु । तर, मलाई कुनै नेताले, मधेसको नेताले सर्टिफिकेट दिन जरुरी छैन । दोस्रो, मधेसकेन्दि्रत दलका नेताहरुसँग मेरो बडो मित्रवत् सम्बन्ध छ । मैले उहाँहरु सबैसँग भेटें पनि ।

यसमा मलाई खुशी छ । जयकृष्ण गोइतदेखि लिएर सिके राउतसम्मले सबैभन्दा बढी गाली मलाई गाली गर्छन् भने मलाई यसमा सन्तोष छ । किनभने म घृणाको विरुद्ध, हिंसाको विरुद्ध लड्ने मान्छे हुँ । यसमा म निरन्तर अगाडि बढ्छु । हाम्रो मौनताले गर्दाखेरि देशको अस्थित्वमै संकट आउँछ भने म मौन बस्दैन ।

तपाई सिके केही होइनन् भन्दै हुनुहुन्छ, उता मधेसमा उनी भयंकर त्राशदीका रुपमा आइरहेको चर्चा गर्छन् त मधेसी मोर्चाका नेताहरु ? किन, यस्तो भइरहेको छ ?

हेर्नुहोस् बार्गेनिङको टुल्समा रुपमा सिके राउतलाई प्रयोग गर्न थालियो । सौदाबाजीका लागि बिखण्डनकारी प्रवृत्तिलाई देखाउन थालियो ।

यस्तै हो भने सिके राउतले मधेस टुक्र्याउन सक्छन् भनिँदैछ, तपाईले यस्तो सुन्नुभएको छैन ?

यो सबै गफाडी कुरा हो । नेपाल टुक्रिँदैन । नेपाल टुक्र्याउने कुरा कसैले गर्छ भने त्यसको राजनीतिक भविश्य समाप्त हुन्छ । राजनीतिक भविश्य भनेको भौतिकरुपमा होइन, नैतिक रुपमा ।

म तपाईलाई ठाडो उदाहरण दिन चाहन्छु, मधेसमा समस्या नेताको वीचमा छ । समस्या राज्य र स्थानीय निकायको वीचमा छ । स्थानीय निकायलाई बलियो बनाउने कुरामा छ, यसमा कञ्ज्ुस्याइँ गर्नु हुँदैन । राज्यमा विभेद छ । एकांकी छ हाम्रो समाज, यसलाई पूणर्ाङ्की कसरी बनाउने ? यी चुनौतीहरु छन् । मै खाउँ, मै लाउँ भन्ने प्रवृत्तिहरु छन् । असमावेशी छ ।

यी सबै समस्याहरु आफ्ना ठाउँमा छन् । तर, लेखेर राख्नोस् नेपाल विभाजन हुँदैन । किन हुँदैन भने कुनै छिमेकीले हावा नहाली नेपाल विभाजन हुँदैन, छिमेकीले हावा हाल्यो भने उ आफैं १७ टुक्रामा जाने खतरा पनि त्यत्तिकै छ ।

दुई महिनाभित्र नेपालीले घुँडा टेक्छन् भनेर नाकाबन्दी सुरु गरिएको थियो । नेपाली जनताले लडे नि । खड्ग ओली प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँ लड्नुभो, उहाँलाई धन्यवाद छ ।

तपाईलाई दुईवटा कुरा म फेरि भनौं, अहिले आएर पाकिस्तानको बलुचिस्तान, भारतको कस्मिर, नेपालको मधेस र चीनको तिब्बतलाई एउटै मालामा उनेर बिखण्डनवादी आन्दोलनलाई एकीकृत रुपमा बढाउने प्रयत्न भइरहेको छ । यो कुरालाई बल्ल इण्डियनहरुले बुझ्दैछन् ।

गत वर्ष भारतमै कस्मिर स्वतन्त्रताको पक्षमा एमनेष्टीले बोलेपछि ११ दिनसम्म एमनेष्टीको विरोधमा नारा लाग्यो । बैंगलोर शहर र दिल्लीमा जुलुस प्रदर्शन भयो । सिके राउतलाई त्यही एमनेष्टीको रिपोर्टका आधारमा बोक्ने र आफ्नो देशमा चाहिँ लख्ट्ने ?

कारवाही गर भन्ने ? भनेपछि आत्तिएको त उ (भारत) पनि रहेछ नि । त्यसैले नेपालको मधेसको विखण्डनको कुरा गर्ने जुन तप्का छन्, बाहिर बसेर हावा दिने, उनीहरुको मूल टार्गेट तिब्बत र कास्मिर हो । चीनले यो कुरो बुझिसकेको छ । भारतीयहरु विस्तारै बुझ्दैछन् ।

अस्ति सिराहामा सिके राउतले विशाल आमसभा गरेको तपाईलाई थाहा छ ?

यस्तो गर्न दिने गृहमन्त्री विमलेन्द्र निधीलाई प्रधानमन्त्रीले हटाइदिनुपर्थ्यो । एक सेकेण्डमा हटाइदिनुपर्थ्यो । होइन भने तपाई यो देश र जनताप्रति उत्तरदायी हुनुहुन्न । देशलाई गाली गरेर त्यत्रो सभा भयो, यसमा सरकारको दायित्व बन्छ कि बन्दैन ?

त्यसैले यहाँ व्यक्तिगत मित्रताको कुरा आउँदैन, मूल्यको कुरा आउँछ । कुनै कालखण्डमा विमलेन्द्र निधी र म जेलमा सँगै थियौं । तर, मलाई अहिले पछिल्लो चरणमा ग्लानी भयो, हाम्रा भूतपूर्व मित्र यस्ता पनि रहेछन् । किनभने अब मूल्यको कुरा हुन्छ, मूल्यविपरीत सम्झौता हुँदैन । यो कुरामा हामी प्रष्ट छौं ।

विगतमा गणतन्त्रका लागि लडे पनि अहिले तपाई किन निश्क्रिय य देखिनुभएको ?

तोड्ने हैन, जोड्ने कुरामा मेरो योगदान हुन्छ । यो देश विभाजनको कुरा कसैले गर्‍यो भने त्यसका विरुद्ध मेरो अभियान तेज हुन्छ । ने पाल टुक्रिने कुरालाई बढावा दिने कुनै पनि प्रवृत्तिलाई निरुत्साहित गर्ने काम गर्छु । तर, स्वतन्त्रताको मूल्य मान्यता अन्तरगत रहेर । यही कारण म गत वर्ष झस्किएँ ।

म झस्किएको कुरा के हो भने हाम्रो मौनतालाई कतिपयले कमजोरी ठान्न थाले । तेस्रो कुरो, मैले सकिनँ भने पनि अरु कसैले गर्ला, यो देशमा सुशासनका लागि पनि आन्दोलन हुन्छ । भ्रष्टाचारविरुद्धको आन्दोलन तेज भएर जान्छ ।

मैले विगतमा लोकमानको नियुक्तिकै विरोध गरें । हामीलाई चारचोटि गिरफ्तारी गरियो । हामीमाथि दमन गरियो । चार पार्टी मिलिहाले । त्यसपछि सबै मिलिहाले । खिलराजजी मिलिहाल्नु भो । लोकमान प्रवृत्ति हो त्यो । एउटा मानवअधिकार उल्लंनकर्तालाई पुरस्कृत गरिसकेपछि यो व्यवस्था कसरी टिक्छ ? जसले यो व्यवस्था ल्याउने आन्दोलनलाई दमन गर्‍यो, मेरो कमन दष्टिकोण छ, चाहे रुक्माङगत कटवाल हुन् वा कुलबहादुर खड्का हुन्, चाहे लोकमान नै हुन्, रायमाझी आयोगले दोषी ठहर्‍याएका व्यक्तिलाई काहीँ पनि नियुक्त गर्नुहुँदैन भन्ने थियो ।

पछिल्लो चरणमा लोकमानलाई हटाउनुपर्छ भनेर पनि म डेलिगेसन गएँ । त्यसमा मैले भनेको थिएँ, लोकमान अब फर्किएर आए पनि हामी गिरफ्तारी दिन्छौं । हामीलाई कि थुन्नुपर्‍यो, होइन भने भविश्यमा मानवअधिकार उल्लंघनकर्ता कसैलाई पनि नियक्ति गरियो भने हाम्रो आन्दोलन सुरु हुन्छ ।

पछिल्लो चरणमा लोकमानको बहिर्गमन भइसकेको छ, तपाईले यसलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

म यसमा तीनवटा कुरा जोड्न चाहन्छु, जुनबेला नेपाल विभाजन गर्ने कुरा बोल्न पाउनुपर्छ, पहाडे महिलालाई वेश्या भन्न पाउनुपर्छ यो मानवअधिकारभित्र पर्छ भन्ने कुरा गरिँदा मैले तिनीहरुसँगको सहकार्य त के, संगतै पनि छाडिदिएँ र यो कुरा स्वीकार्य छैन भनेर अभियान गरें । यस्तो कुरा गर्न पाउँछन् भनेर यसलाई बढावा कसले दियो ? एक नम्बरमा खिलराज रेग्मी हुन् ।

यस्ता कुरा बोल्न पाउनुपर्छ भनेर संस्थागतरुपमा शुभकामना व्यक्त गर्दै हिँडेको हो कि होइन ? रामवरण यादव हुन् कि होइन ? केही हदसम्म शेरबहादुर देउवा र वामदेव गौतम ।

त्यसकारण यो प्रवृत्ति विरुद्धको हाम्रो लडाइँ हो । जुनबेला राजतन्त्रको विरुद्ध लड्दा हामी एक-दुईजना मात्रै थियौं, तर राजतन्त्र त गयो नि । ठीक त्यस्तै आज देशलाई गाली गर्दा यो च्याँखे थापेर सत्तामा पल्किइरहन चाहने र मातमको बेलामा पनि राज्यकै दारु खाएर रमाउने जुन तप्का छ, यो तप्काका विरुद्ध त म संघर्ष गर्दैछु नि ।

अब कृष्ण पहाडी चुप लागेर बस्दैन भन्दा हुन्छ त ?

हुन्छ । यसरी भन्दा हुन्छ- देशविरुद्ध गद्दारी गर्नेहरुको गतिविधि यसरी नै बढ्यो र गद्दारी गर्नेहरुलाई नेताहरुले यसरी नै समर्थन गर्दै गए भने हामी मौन बस्दैनौं ।

अब राजनीति गर्ने कि नगर्ने ?

नगर्ने । किन नगर्ने भने म ६४ जिल्लामा गएँ, मधेसी, जनजाति सबैले सम्मान गरे । मधेसकेन्दि्रत दलका केही नेताहरुले आन्दोलनमा सहयोग गरिनस् भनेर अलिअलि गुनासो गर्नुभयो । अरुले खासै केही भनेनन् । जनताले सम्मान गरे । यसबाट म डराएँ । केमा डराएँ भने मैले सक्रियता धेरै बढाएँ भने मैले नखोलौंला, अर्कोले पार्टी खोल्देला । म त पार्टी खोल्न जान्नँ । त्यसपछि मैले नखाऔंला, मेरो काँधमा चढेर अर्कोले नियुक्ति खाला । एउटा मन्त्रीमा सम्झौता गर्ला । उपप्रधानमन्त्रीमा सम्झौता गर्ला । मेरो मार्ग त्यो होइन ।

त्यसैले मेरो मौनता र निश्क्रियता भन्दा पनि पछाडि नै बस्ने प्रवृत्तिको मूल कारण चाहिँ के हो भने म आफ्ना प्रतिज्ञाहरुमा प्रतिवद्ध छु । म सत्ता र दलको चक्रब्युहमा म जान्न ।

उसोभए सुशासन र राजनीतिक स्थायित्वका लागि व्यक्तिगतरुपमा योगदान गर्ने भन्ने हो ?

राजनीतिक सत्ता परिवर्तन भयो, सामाजिक सत्ता परिवर्तन भएन । सुशासनको प्रत्याभूति भएन । यसलाई टेकेर को अगाडि आउँछ, यो खतरा छ । असोजतन्त्र एक दिनमा आएन । असोज आउनुभन्दा अगाडि भदौ आउँछ । माघ १९ आउनु अगाडि पुस पनि आएको थियो । ०१७ सालमा पनि पुस १ आएको थियो । त्यसैले के बुझ्नहोस् भने दलहरुको रवैया यही हुने हो भने नेपाल दुर्घटनाको सँघारमा छ । दुर्घटनाको एकदम सँघारमा छ । कसले कता झ्याप पार्छ, ठेगान छैन ।

मेरो दोस्रो चासोको विषय भारत र चीन जुन विस्तारित शक्ति हुन्, उनीहरुको द्वन्द्वलाई थेग्ने यहाँ सामथ्र्य भएन । उनीहरुको सुरक्षा चासो यसरी बढ्दै गयो कि उनीहरुले कसैलाई हावा भरिदिए भने नेपालमा जे पनि हुन सक्छ ।

तपाईको विश्लेषणमा देश दुर्घटनाको सँघारमा मात्रै छ कि सम्भावनाको सँघारमा पनि छ ?

चिर्दै अगाडि बढ्छ । आशा निराशा दुबै स्थिति छन् । हिजो छिमेकीको आड नपाएको भए लोकमान हात्तीजस्तो देखिँदैनथिए । बाघजस्तो देखिँदैनथे । लोकमानमाथिको कारवाहीले अब दुईवटा संकेत गरेको छ, एउटा के गरेको छ भने लोकमानलाई नियुक्त गर्ने खिलराजहरुजस्तो भविश्य समाप्त भएको छ ।

अब निर्दलीय सरकार बन्दैन बन्यो भने म सडकमा आउँछु । हामीलाई जेलमा राख्नोस् अनि खिलराज जस्तालाई नियुक्त गर्नुहोस् । अब दलीय व्यवस्थामा दलहरुकै सरकार हुन्छ । चुनाव गराउनका लागि निर्दलीय सरकार बनाउन थाल्ने हो भने नेपालमा सघैं संक्रमण रहिरहन्छ । शान्ति समाजका तर्फबाट हामीले ४० जना नेताहरुलाई भेट्दाखेरि हामीले यही कुरा भनेका छौं, निर्दलीय सरकारको भविश्य छैन ।

अब कुनै पूर्वप्रधानन्यायाधीशहरुले मोर्चाबन्दी गरेर अब सम्भव छैन । लाज घीन हुन्थ्यो भने त खिलराज रेग्मीहरुले देशसँग क्षमा माग्न सक्थे । सर्वोच्च अदालतका पछिल्ला फैसला हेर्‍यो भने प्रधानन्यायाधीश त्यसरी जानु गल्ती थियो भन्ने त स्पष्टरुपमा आइसक्यो नि त ।

त्यसकारण रामवरण प्रवृत्ति हेर्नुहोस् न । संविधान ल्याउँदा यो मुलुकमा राष्ट्रपति निवासमा बसेर सबैभन्दा धेरै षड्यन्त्र रामवरणले गरेको हैन र ? सबैलाई थाहा छ नि त त्यो । वा म फर्केर आउँछु कि फेरि, सत्ताको सुख सयल गर्न पाउँछु कि भन्ने मानसिकता व्याप्त छ । देशलाई के दिऔं भन्ने होइन, देशबाट ६० औं लाख रुपैयाँ उपचारका रुपमा लुटिराखौं भन्ने मानसिकता छ । यस्ता मान्छेबाट तपाईले देशमा के आशा गर्नुहुन्छ ?

यी प्रवृत्तिहरु जहिले पनि तराईका विखण्डनवादीलाई देखाएर, दलहरुको झगडालाई देखाएर च्याँखे थापिराख्न चाहन्छन् । र, यी च्याँखे थाप्ने प्रवृत्ति जहिले पनि विखण्डनकारी कुरा मानवअधिकारभित्र पर्छ र बोल्न पाउनुपर्छ भनेर शुभकामना व्यक्त गर्दै हिँडेका छन् । यिनीहरुमाथि उठाउनुपर्‍यो नि प्रश्न ।

म तपाईलाई प्रष्टरुपमा भनौं, शेरबहादुर देउवाका बारेमा पनि फेरि एउटा आशंका जागेको छ ।

कस्तो आशंका ?

वहाँ सत्ताका लागि जे पनि गर्न सक्नुहुन्छ । शेरबहादुरजी सुधि्रनुस् । कांग्रेसको नेता भन्दैमा अब मान्छे चुप लागेर बस्दैनन् । शेरबहादुरजीको बारेमा सबैभन्दा अप्ठ्यारो कुराचाहिँ आजको मितिमा उहाँको कुनै ठेगान नै छैन । यसरी हुँदैन ।

तपाईले विखण्डनवादीहरु विरुद्ध कडारुपमा प्रस्तुत हुने बताइसक्नुभयो । अहिले संसदमा जुन संविधान संशोधन प्रस्ताव दर्ता भएको छ, त्यसले पनि देश टुक्र्याउँछ भनेर एमालेका नेताहरुले भनिरहेका छन् । तपाई यो निश्कर्षमा सहमत हुनुहुन्छ ?

हेर्नुहोस्, हामीले प्रष्ट बुझौं, संविधान संशोधनको प्रस्तावलाई मधेसकेन्दि्रत दलले मान्दै मान्दैथे होलान् । एमालेले विरोध गरेको हुनाले उनीहरुले मान्ने वातावरण बनेको हो । त्यसैले यो कुरामा फाइदा पनि छ ।

आज म तपाईमार्फत् एउटा कुरा खोल्छु । मैले शेरबहादुरजी, पुष्पकमल दाहालजी, खड्ग ओलीजी, माधव नेपालजी, सबैजीहरुसँगको मिटिङमा मैले भनेको छु- पावर सेयरिङ गर्नुहोस् । मधेसकेन्दि्रत दललाई ल्याएर सत्ता साझेदारी गर्नुहोस् । हेर्दा उल्टोजस्तो देखिन्छ । तर, अहंकार नगर्नोस् । मिलाउने हो भने सत्तामा साझेदारी गर्नैपर्छ । बाँडेरै खानुपर्छ, यो मिल्छ । म आशावादी छु ।

एकातिर एमाले र अर्कातिर मधेसी मोर्चा उभिएका बेला यस्तो साझेदारी सम्भव होला र ?

यी दुबै अतिवाद हुन् । यो संविधान संशोधनलाई उपयोगमात्रै गर्ने र आन्दोलनलाई अनन्तकालसम्म अगाडि बढाइरहने यो मधेसी दलहरुको नीति गलत छ । अर्कातिर खड्ग ओलीजीहरुले यसबाट देशै विघटन हुन्छ भनेर जुन हौवा चलाउनुभएको छ, त्यो पनि गलत छ ।

यहाँनेर मैले ठोस कुरा के भन्छु भने यो मधेसकेन्दि्रत दलका बारेमा अहिले उनीहरु गोलबन्द छन् । एउटा मोर्चामा गोलबन्द छन् । मैले सबै दललाई के भनेको छु भने तपाईहरु मधेसकेन्दि्रत दललाई फाइनल कार्यसूची के हो भनेर माग्नुहोस् । अहिले दिनु भो फेरि लिन्छु भन्ने, फेरि दिनु भो फेरि लिन्छु भन्ने, अनि मधेस एक प्रदेश भन्ने, कसैले मधेस स्वतन्त्रताकै कुरा गर्ने, यो हुँदैन । तपाईहरुका माग चाहिँ के के हुन् त भनेर फाइनल प्याकेजमा डिल गर्नोस् । हैन भने मधेसकेन्दि्रत जुन दल सत्तामा पुग्न सक्दैन, माग लम्बिइरहन्छ ।

सत्ताकेन्दि्रत दलले पनि उग्र राष्ट्रवादका नारा दिएर मधेसमा शंसयको वातावरण खडा गरिराख्ने प्रवृत्ति अन्त्य हुन आवश्यक छ । मधेसमा मागहरु के के हुन् ? टुंग्याउनुपर्छ । मधेसको पनि अनन्तकालसम्म माग लम्ब्याउने र अर्को पक्षले अनन्तकालसम्म शंका गरिरहने दुबै प्रवृत्तिको अन्त्य हुनुपर्छ ।

यसका लागि के गर्ने त ?

मैले त भनें । सत्ता साझेदारी गर्नुहोस् । सत्ता साझेदारी गर्नै चाहनुहुन्न, अनि कहाँबाट मिल्छ ? एउटाले नपाए अर्काले विद्रोह गर्छ । अनि अर्कोलाई देखाएर भँजाउने प्रवृत्ति कायम रहन्छ ।

अन्त्यमा, सरकारले निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेको सुनिन्छ । तत्काल चुनावको मिति घोषणा गर्दा राम्रो होला कि ? तपाईलाई यसमा के लाग्छ ?

चुनाव त हुनुपर्छ । चुनाव हुन सकेन भने अनर्थ हुन्छ भनेर मै पछिल्लो चार महिनादेखि अभियानमा छु । चुनाव हुनैपर्छ । हामीले नालायकी के देखायौं भने, बजेट छ, हामीले खर्चै गर्न सकेनौं । अर्बौं रुपैयाँ फि्रज भएर बसेको छ, योभन्दा नालायकीपन काहीँ हुन्छ संसारमा ? दोस्रो नालायकीपन के हो भने २० वर्षदेखि स्थानीय चुनाव हुनै सकेको छैन । त्यसैले चुनाव हुनुपर्छ ।

तर, मधेसकेन्द्रित दलहरुलाई विश्वासमा नलिइकन चुनाव घोषणा गर्नु आत्मघाती हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?