Comments Add Comment

सडकपेटी कब्जा गर्ने फुटपाथका पसलमाथि महानगरले धावा बोल्यो

रुद्रसिंह भन्छन्-सार्वजनिक सम्पत्तिको संरक्षण प्राथमिकतामा


२० माघ, काठमाडौं । शहरको मुख्य बजारका सडक पेटीहरु फुटपाथ व्यापारीको कब्जामा छ । उनीहरु हिँडडुल गर्न नै अप्ठ्यारो हुने गरी सामान फिँजाएर बस्छन् र सार्वसाधारण भने सवारी साधनबाट जोगिँदै हिड्नु पर्ने बाध्यता छ ।

महानगर प्रहरीले बेला-बेला सामान उठाएर लैजान्छ । तर, फुटपाथ अझै व्यापारीकै कब्जामा छ । विना सम्झौता चलेका यस्ता पसलले महानगरलाई आम्दानी त दिएको छैन नै, यात्रुलाई सास्तीसँग शहरी सौन्दर्यता बिगारेको छ ।

सरकारले फुटपाथ हटाउन प्रयास पनि बेला-बेला गर्दै आएको छ । तर, ब्यापारीहरुको आन्दोलन र त्यसमा हुने राजनीतिका कारण सरकार पछि हट्दै आएको छ ।

अब काठमाडौं महानगरपालिकाले फुटपाथका पसलहरु हटाउन अभियान सुरु गर्दैछ । उनले यसलाई ‘सार्वजनिक सम्पत्तिको संरक्षण तथा सौन्दर्यता प्रवर्द्धन’ अभियान भनेको छ ।

काटियो ७ दिने पत्र

काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले अब जस्तोसुकै अप्ठयारो आएपनि यस्ता पसललाई हटाई छाड्ने बताएका छन् ।

महानगरपालिकाले विभिन्न स्थानमा सार्वजनिक स्थान अतिक्रमण गर्नेविरुद्ध आक्रमक नीति लिएको छ । पहिलो चरणमा विनासम्झौता विभिन्न सार्वजनिक स्थानमा सञ्चालन भएका सयभन्दा बढी पसल तथा शौचालयलाई हटाउने तयारी छ ।

यसका लागि महानगरपालिकाले त्यस्ता पसल सञ्चालकहरुलाई पत्र काट्दै हटाउनु नपर्ने कारण मागेको छ । ७ दिनभित्र त्यस्ता पसल सञ्चालकले महानगरपालिकामा सम्पर्क गरेर कारण पेश गर्नुपर्नेछ ।

कुन-कुन हट्छन् ?

महानगरपालिकाले उत्तर पश्चिमतर्फको शहरी सेवा केन्द्र, न्युरोडको गणेश मन्दिर पछाडिको टहरोमा सञ्चालित पसल, भसिको टोलको कपडा पसल, महाबौद्धभित्रको अस्थायी कपडा पसल, असनको ट्रान्सफर्मर मुनिको पसल र शान्तिबाटिकाको शौचालयलाई हटाउन पत्र काटेको छ ।

यस्तै भोटाहिटी सब-वेका पसलहरु, वीर अस्पताल पारीका पसलहरु, रत्नपार्कको शौचालय छेउको जुत्ता पसल, खुलामञ्चको उत्तर कुनाका पसलहरुका लागि महानगरले हटाउनुनपर्ने कारण मागेको छ ।


७ दिनभित्र पसल सञ्चालकले आफूलाई त्यहाँबाट हटाउनुनपर्ने प्रमाणसहितको चित्तबुझ्दो कारण पेश नगरे तीनलाई हटाएर सो स्थान खाली गराइने महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले बताए ।

महानगरले यस्ता अतिक्रमणकारीसँग महानगरपालिकासँग कुनै सम्झौता भएर सो समेत पेश गर्न भनेको छ । ‘जथाभावी सटर खडा गरेर अस्थायी वा स्थायी रुपले राखिएका पसल अब रहँदैनन्’ तामाङले अनलाइनखबरसँग भने, ‘उनीहरुले महानगरपालिकासँग गरेको सम्झौता के हो भनेर मागेका छौं ।’

सम्झौता भएपनि औचित्य हेरिने

कतिपय पसलहरु महानगरपालिकासँग सम्झौता नै नगरी सञ्चालनमा छन् । कतिपय भने विभिन्न पहुँचवालाको सिफारिस र महानगरकै अधिकारीको मिलेमतोमा सम्झौता गरेर चलेका छन् ।

महानगरका कार्यकारी अधिकृत तामाङले सम्झौता नै गरिएको भए पनि त्यसको आवश्यकता औचित्य भए मात्र राख्ने बताए । उनले भने, ‘सम्झौता भएपनि त्यसले सार्वजनिक स्थानलाई अतिक्रमित गरेको छ भने त्यसलाई रद्ध गरिनेछ ।’

महानगर सेवाका लागि स्थापना भएकाले कमाइ भनेर शहरी सौन्दर्य नबिगार्ने उनले बताए ।

स्थानीयको सहयोग चाहियो

महानगरपालिकाले बाटो नै अतिक्रण गरेर राखिएका पसलहरु जसरी पनि हटाउने बताएको छ । भोटाहिटीबाट परोपकारसम्म अतिक्रमित पसलहरु यसअघि नै हटाइसकेको छ ।

अतिक्रमित सार्वजनिक सम्पदाबारे अध्ययन गर्न महानगरले गत पुसमै एक समिति बनाएको थियो । त्यही समितिले दिएको प्रतिवेदनका आधारमा अतिक्रमणकारी पसल सञ्चालकलाई कारण माग्दै पत्र काटिएको हो ।

कार्यकारी प्रमुख तामाङले भने, ‘अब स्थानीयको सहयोग पनि यसमा चाहिन्छ । अवैध रुपमा चलेका ब्यवसायलाई हामी बन्द गर्ने अभियानमा लागिसकेका छौं ।’

‘नाइट मार्केट’ को कार्यविधि बन्ने

तामाङले साँझको समयमा लाग्ने बजारलाई भने छुट्टै कार्यविधि बनाएर ब्यवस्थित गरिने बताए । अहिले साँझको समयमा बस्ने फुटपाथ बजारलाई भने ब्यवस्थित गराउने योजना तयार गरिएको छ ।

‘विश्वभर नाइट मार्केटलाई प्रवर्द्धन गरिएको छ । हामी पनि त्यो गर्छौं । तर, अहिलेको भन्दा ब्यवस्थित गर्न छुट्टै कार्यविधि पनि ल्याउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment