२३ माघ, काठमाडौं । नेपाली सेनाको लोकतान्त्रीकरण र समावेशीकरणको राजनीतिक नारा अझै बिक्न छाडेको छैन । सेनामा मधेसीको समूहगत प्रवेशको माग पनि अझै मधेसवादी दलको एजेण्डामै छ । तर, राष्ट्रिय सुरक्षाको प्रमुख अंग सेनाले भने मधेसी, थारु र ठूला आदिवासी जनजातिको अलग्गै पल्टन नै खडा गरेको थोरैलाई मात्र जानकारी होला ।
राज्यका सबै निकायभित्र नेपाली सेना सबैभन्दा समावेशी रहेको दावी सैनिक हेडक्वार्टरको छ । ९१ हजार जनशक्ति भएको नेपाली सेनाभित्र २ सय ६ जाति र समुदायका नेपालीहरु अटाएका छन् । मधेसी र जनजातिहरुको त छुट्टै ब्यारेक नै स्थापना भएका छन् ।
मधेसी र थारुको नयाँ ‘सबुज गण’
नेपाली सेनाभित्र एउटा छुटै गण छ, जहाँ मधेसी समुदायका सैनिकहरु मात्रै बस्छन् । नेपाली सेनाले ६२/६३ को जनआन्दोलनपछि आफनो संगठनलाई पनि समावेशी बनाउने रणनीतिअनुसार मधेसी समुदायको मात्रै ‘नयाँ सबुज गण’ स्थापना गरेको हो ।
‘नयाँ सबुज गण’मा मधेसी समुदायका सेनाहरुको मात्रै बाहुल्य रहेको छ । सैनिक प्रवक्ता सहायक रथी ताराबहादुर कार्की भन्छन्- नयाँ सबुज गण समावेशी र मधेसी समुदायप्रति हाम्रो सम्मानको एउटा प्रतीक हो । त्यसमा मधेसी समुदायका मात्रै सेनाहरुलाई मात्रै राखिएको छ ।
हेटौंमा रहेको यस गणमा ८० प्रतिशत थारु समुदायका सैनिक छन् । थारु बाहेक मधेसी समुदायका युवा सैनिक भर्तिमै कम आउने गरेका कारण सबुज गणमा थारुको बाहुल्य देखिएको हो । यही गणको एउटा टोली अहिले शान्ति मिसनका लागि साउथ सुडानमा खटिएको छ ।
६३ साल जेठ २८ गते स्थापना भएको ‘नयाँ सबुज गण’ मा बेला बेलामा थारु समुदायको परम्परा झल्कने सांस्कृतिक कार्यक्रमहरु पनि हुने गर्छन् । ‘उनीहरुले सैनिक मर्यादामा रहेर आफनो परम्परागत कला र कौशलहरु पनि देखाउँछन त्यो उनीहरुको संस्कार पनि हो’ सहायक रथी कार्कीले भने ।
स्थापनाको बेला विभिन्न युनिटहरुमा रहेका मधेसी समुदायका सेनालाई ल्याएर नयाँ सबुज गण स्थापना भएको थियो । तर, अहिले हरेक नयाँ भर्नामा आउने थारु तथा मधेसी समुदायका सेनालाई नयाँ सबुज गणमै स्थानान्तरण गरिन्छ ।
सेनाको तथ्यांक अनुसार नेपाली सेनामा ६ हजार सात सय १३ जना मधेसी समुदायका सेनाहरु छन् । यो सकल दर्जाको सात प्रतिशत हुन आउँछ ।
राई र लिम्बूको ‘श्री रिपुमर्दन गण’
नेपाली सेनाले त्यसलाई आदिवासी जनजाति समुदायका ठूला जातीय समूहको अलग अलग पल्टन खडा गरेको छ । संगठन भित्र राई र लिम्बुहरुको मात्रै छुट्टै गण स्थापना गरेको छ । हाल दाङको घोराहीमा रहेको ‘रिपुमर्दन गण’ राई र लिम्बूहरुको मात्रै गण हो ।
केही प्राविधिक र नेतृत्व बाहेक सबै राई र लिम्बूहरु मात्रै छन ‘रिपुमर्दन गण’मा ।
नेतृत्व किन फरक त ? भन्ने प्रश्नमा सैनिक प्रवक्ता कार्की भन्छन्- नेतृत्व भन्ने कुरा त्यसै हुँदैन । त्यसको लागि उपयुक्त र दाबेदारहरु मात्रै आउँछन् । कतिपय स्थानमा राई र गुरुङहरुले नेतृत्व गरेका युनिटहरु पनि छ । तर ‘श्री रिपुमर्दन गण’ नेपाली सेनाको एउटा पहिचान हो । ‘
०६३ साल जेठमै स्थापना भएको यो गणमा ६२ प्रतिशत राई रहेका छन् भने १८ प्रतिशत लिम्बूको बाहुल्यता रहेको छ । ‘रिपुमर्दन गणमा राई र लिम्बु समुदायका सैनिकले आफ्ना परम्परागत र सांस्कृतिक गतिविधि गर्छन् ।
१ सय ६१ वर्ष देखि गुरुङको गण
नेपाल राष्ट्रको एकीकरणमा गुरुङ सैनिकको योगदान इतिहासले स्वीकार गरेको तथ्य हो । पृथ्वीनारायण शाहका भरपर्दा सैनिक कमाण्डर झागल गुरुङले पूर्व विजय गरेपछि ओखलढुंगाको रुम्जाटारमै घरजम गरेका थिए । त्यहीबेलादेखि नै सेनामा गुरुङको विशेष स्थान छ ।
सेनाको निकै पुरानो गणमा पर्छ कालीबाहादुर गण । सेनाको दस्तावेज अनुसार विक्रम संवत १९१२ साल मंसिर १६ गते मा कालिबहादुर गणको स्थापना भएको हो । यो गण गरुङहरुका लागि मात्रै स्थापना भएको थियो ।
त्यो बेला गुरुङका लागि अलग गण यसकारण पनि आवश्यक थियो कि, युद्धमा जानुअघि गुरुङ सेनालाई रक्सी खुवाउनुपर्ने । बाहुन क्षेत्रीले रक्सी छुन पनि नहुने भएकाले उनीहरुका लागि त्यसबेला छुट्टै गण स्थापना गरेको हुन सक्ने कतिपयको तर्क छ ।
त्यसो त गुरुङहरुसँग ब्राह्मण र क्षेत्रीहरुको परम्परा पनि नमिल्ने भएकाले राजाले उनीहरुका लागी छुट्टै गण स्थापना गरेको कथनहरु भेटिन्छन् । हाल चारआली झापामा रहेको कालिबहादुर गणलाई अहिले पनि नेपाली सेनाले गुरुङहरुको मात्रै गण बनाएको छ । केही प्राविधक र भित्रका कुनै व्यक्ति बाहेक ८० प्रतिशत गुरुङहरु नै छन् ।
मगरको पुरानाे गोरख गण
नारायणहिटी राजदरबारमा रहेको पुरानाे गोरख गणको इतिहास पनि निकै रोचक छ । यो मगरहरुको मात्रै गण हो । विक्रमसम्वत १८१९ फागुन १० गते स्थापना भएको गोरखनाथ गणमा किन मगरहरु मात्रै राखियो भन्ने स्पष्ट कारण कतै भेटिँदैन ।
मगरहरु अरुभन्दा अनुशासित र इमान्दार हुने भएकाले पनि उनीहरुको छुट्टै गण स्थापना गरिएको हुन सक्ने कतिपयको अनुमान छ । युद्धमा लैजान पनि मगरहरु बलियो हुने र अन्य जातसँग उनीहरुको परम्परा पनि मेल नखाने भएकाले त्यतिबेलाका राजाले गोरखनाथ गण स्थापना गरेको हुन सक्छ । गोरखनाथ गणमा अहिले पनि ८० प्रतिशत मगरहरु छन् ।
२०६ जातको फुलबारी
पृथ्वीनारायण शाहले चार वर्ण ३६ जातको एउटै फुलबारी नेपाल भने जस्तै नेपाली सेना पनि विभिन्न जातहरुको एउटै फुलबारी जस्तो रहेको सैनिक अधिकारीहरु बताउँछन् ।
मगर , गुरुङ तथा मधेसी समुदायको मात्रै होइन, कतियले नामै नसुनेका जातका नेपालीहरु पनि नेपाली सेनामा कार्यरत छन् । पोदार, पिला, गमाल, कोली जस्ता जातका सैनिकहरु पनि नेपाली सेनामा छन् ।
सेनाको तथ्यांक अनुसार शिख, बाह्रघरे, मुराउ जस्ता जातका मान्छेहरु पनि नेपाली सेनामा कार्यरत छन् । मुसहर, धोबी, कसाइ जस्ता उत्पीडित जातिका मान्छेहरु पनि नेपाली सेनामा अटाएका छन् ।
सेनाको तथ्यांक अनुसार ९१ हजार जनशक्ति रहेको सेनामा २ सय ६ जातका नेपालीहरु कार्यरत छन् । सैनिक प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीको बुझाइमा कतिपय समुदायका मान्छेहरुको रोजाइमा नेपाली सेनाको जागिर पर्दैन त्यसैले ती जातका मान्छेहरुको संख्या कम देखिएको हो । तर, समावेशी प्रतिनिधित्व नभएको चाहिँ होइन ।
‘यदि नेपाली सेनाको मापदण्ड पूरा गर्न सक्छन् भने कुनै पनि समुदाय वा जातका नेपालीहरु नेपाली सेनामा आउन सक्छन् त्यसमा कुनै प्रतिबन्ध भन्ने हुँदैन’ उनले भने ।

प्रतिक्रिया 4