Comments Add Comment

हेडक्वार्टरमै सुन तस्कर ? डीएसपीले फुकाले एसएसपीको बर्दी !

श्याम खत्रीलाई लोकमानले जोगाए, नवराज सिलवालले समाते

२३ माघ, काठमाडौं । आइतबार दिउँसो सीआइबीका डीएसपी प्रवीण पोखरेलको टोली प्रहरी हेडक्वार्टरभित्र प्रवेश गर्दा एसएसपी श्याम खत्री युनिर्फममै कार्यकक्षमा थिए । लगत्तै खत्रीको बर्दी उत्रियो । त्यसको केहीबेरमै उनी सीआइबीको हिरासतमा थुनिए ।

सुन तस्करीजस्तो जघन्य अपराधमा प्रहरी हेडक्वार्डरबाटै उच्चपदस्थ अधिकारीलाई समातेर हिरासतमा कोचिएको यो नेपालको इतिहासमा नौलो घटना हो ।

चार वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रा तस्करी गरेको आरोपमा एसएसपी रविराज श्रेष्ठ बर्खास्त भए । आफ्नै गाडीमा विदेशी मुद्रा तस्करी गराएको आरोपमा श्रेष्ठलाई बर्खास्त मात्रै गरिएको थियो । यस वर्ष ३४ किलो सुनकाण्डमा एसएसपी श्याम खत्री आइतबार प्रहरी हेडक्वार्टरबाटै गिरफ्तारीमा परे ।

सीआइबीका डीएसपी पोखरेल आफूभन्दा दुई तह माथिका एसएसपी खत्रीको कार्यकक्षमा प्रवेश गरे । उनले खत्रीलाई आफुसँगै सीआइबीको कार्यालयमा हिँड्न भने । प्रहरी पोशाकमा बसिरहेका खत्रीले केहीबेर अनाकानी गरे । त्यसपछि उनले पोशाक फेरे । र, उनी लुरुलुरु सीआइबीको टोलीसँगै हिँडे ।

प्रहरी स्रोतका अनुसार खत्रीलाई पक्राउ गर्नुअघि आइजीपी उपेन्द्रकान्त अर्याललाई मात्रै जानकारी गराइएको थियो । एसएसपी खत्रीलाई पक्राउ गरेलगत्तै स्वास्थ्य परीक्षणका लागि प्रहरी अस्पताल लगिएको थियो । सबै ठीकठाक देखिएपछि सिधै सीआइबीको हिरासत पुर्‍याइएको थियो ।

आइतबारबाटै एसएसपी खत्रीको वयान लिन सीआइबीले सुरु गरेको छ ।

सीआइबीको दाबीः संलग्नता लगभग पुष्टि भएपछि समातिएको हो

३४ किलो सुनकाण्डमा समातिएका भरिया र विमानस्थलका कर्मचारीहरुको वयानपछि एसएसपी खत्रीलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुको बयानका आधारमा अनुसन्धान अगाडि बढाएको सीआइबीको भनाइ छ ।

सुन तस्करीमा एसएसपी खत्रीको भूमिका शंकास्पद देखिएको भन्दै यसअघि उनलाई विमानस्थलबाट हेडक्वार्टर तानेको थियो । सीआइबीले ३४ किलो सुन बरामद गर्दा एसएसपी खत्री एयरपोर्टको सुरक्षा हेर्ने जिम्मेवारीमा थिए ।

हेडक्वार्टरको प्रशासन विभागअन्र्तगतको जगेडा राखिएका खत्रीको सुन तस्करीमा संलग्नताका प्रमाणहरु खुल्दै गएपछि कार्यकक्षबाटै समातिएको प्रहरी हेडक्वार्टरको दाबी छ ।

नेपाल प्रहरीको इतिहासमा प्रहरी प्रधान कार्यलयबाट पक्राउ पर्ने खत्री सबैभन्दा उच्च अधिकृत हुन् । सीआइबी स्रोतका अनुसार सुनकाण्डमा खत्रीको संलग्नता देखिने प्रमाणहरु समेत फेला परेपछि पक्राउ गर्ने निर्णय भएको हो ।

लोकमानका कारण जोगिएका थिए खत्री

प्रहरी निरीक्षकबाट ०४५ सालमा नेपाल प्रहरीमा प्रवेश गरेका खत्री पहिलेबाटै विवादास्पद अधिकृत हुन् । एसएसपी हुँदासम्म उनलाई कुनै पनि युनिटको प्रमुख बनाइएको थिएन ।

लागुऔषध नियन्त्रण ब्युरो एवं अपराध महाशाखामा लामो समय बिताएका खत्रीलाई एसएसपीमा बढुवा भएपछि धौलागिरी अञ्चल प्रमुख बनाएर पठाइएको थियो ।

धौलागिरीबाट मध्यपश्चिम तालिम केन्द्र हुँदै उनी गत असोजमा विमानस्थलमा सरुवा भएका थिए । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनको गतिविधि शंकास्पद देखिएपछि अघिल्लो माघमा पनि उनीमाथि अनुसन्धान भएको थियो ।

प्रहरी स्रोतका अनुसार अघिल्लो वर्षको माघमा विमानस्थलमै कार्यरत एसपी विकास खनालको गतिविधि शंकास्पद देखिएपछि उनीमाथिसमेत छानविन भएको थियो । स्रोत भन्छ ‘एसपी खनालले अध्यागमनबाट केही वस्तु गोजीमा राखेको सीसीटिभी फुटेजमा देखिएको थियो । उनले सुन वा पैसा मध्ये के राखेका थिए, खुलेन । ‘

एसपी खनालले थोरै परिमाणमै भए पनि सुनै बोकेको हुन सक्ने देखिएपछि त्यही काण्डपछि एसपी खनाल माथि सीआइबीले नै अनुसन्धान गरेको थियो । त्यही काण्डमा एसएसपी खत्रीको समेत नाम जोडिएको थियो ।

एसपी खनालसँगै अघिल्लो वर्षको घटनामा खत्री पनि अनुसन्धानको दायरामा परेका थिए । तर, उनले अख्तियारमा रहेका आफनै ब्याजी एसएसपी योगेश्वर रोमखामीलाई भनेर लोकमानसिंह कार्कीसम्म पुगेपछि खत्री जोगिएका थिए ।

लोकमानसँगको निकटतम सम्बन्धकै कारण दुई पटक अख्तियार पुगेका रोमखामीले खत्रीलाई जोगाइदिन लोकमानसँग आग्रह गरेका थिए । लोकमानककै आदेशपछि आइजीपी उपेन्द्रकान्त अर्यालले खत्रीमाथिको अनुसन्धान रोक्न लगाएका थिए ।

एसएसपी खत्रीलाई जोगाएपछि एउटै काण्डका एसपी खनाल पनि जोगिएका थिए । प्रहरी स्रोत भन्छ- ‘अघिल्लो काण्डमै एसपी र एसएसपी दुवैलाई कार्वाही गरेको भए प्रहरीले यो बदनामी खेप्नुपर्ने थिएन ।’

भन्सारका हाकिमदेखि एयरलाइन्स कर्मचारीसम्म शंकाको घेरामा

३४ किलो सुनकाण्डमा मुछिएका जोसुकैलाई कार्वाहीको दायरामा ल्याउन गृहमन्त्रीको साथ पाएपछि सीआइबीले अनुसन्धानको दायरामा फराकिलो पारेको थियो ।

प्रहरीकै एसएसपी पक्राउ गरेका डीआइजी नवराज सिलवाल ३४ किलो सुनकाण्डमा जोडिने सबै कारवाहीको दायरमा आउने बताउँछन् । डीआइजी नवराज सिलवाल भन्छन्- ‘हामीलाई गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्मको साथ छ, त्यसैले प्रहरीका एसएसपी मात्रै होइन, तस्करसँग सम्बन्ध देखिएका सबै कार्वाहीको दायरामा आउँछन् ।’

गृह स्रोतका अनुसार अनुसन्धानमा यदि विमानस्थलकै डीआइजीको संलग्नता देखिएपछि कार्वाहीको दायरामा ल्याउन गृहमन्त्रीले आदेश दिएका छन् । सुन ल्याउन प्रयोग भएको एयर अरबियाका कर्मचारीमाथि पनि अनुसन्धान भैरहेको सीआइबी स्रोतको दाबी छ ।

भन्सारका हाकिमदेखि डीआइजी समेतले सुन तस्करलाई साथ दिएको भए पनि कार्वाहीको दायरामा ल्याउन सीआइबी सक्षम रहेको भन्दै गृहमन्त्री विमलेन्द्र निधिले यसअघि नै अलग्गै छानविन समिति बनाउनु नपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment