Comments Add Comment

शल्यक्रियामार्फत् सुत्केरी हुनेको संख्या बढ्दो

२४ माघ, काठमाडौं । कीर्तिपुरकी शोभिता अधिकारीलाई आफ्नो दोश्रो सन्तान सामान्य प्रसुतीद्वारा जन्मियोस् भन्ने ठूलो चाहना थियो । पहिलो शिशु सामान्य प्रसुतीबाट जन्मिएकाले उनीहरुले आफ्नो दोश्रो शिशुलाई पनि सामान्य प्रसुतीबाट जन्माउने कोशिश नगरेका पनि हैनन् ।

तर, जन्मने मिति भन्दा करिब दुई साता अघि जाँचका क्रममा गर्भमा रहेको शिशुले फोहर खाएको जानकारी पाएपछि चिकित्सकले उनीहरुलाई तुरुन्तै शल्यक्रियाद्वारा शिशु जन्माउन सुझाव दिए । ‘धेरै जोखिम मोल्न चाहेनौं र तुरुन्तै शल्यक्रिया गरायौ,’ शोभिताका पति सुरेन्द्रले भने ।

शोभिताले झैं चावहिलकी मुना श्रेष्ठ (नाम परिवर्तन)ले केही समय पहिले शिशुलाई जन्म दिइन् । अस्पतालको प्रसुती वार्डमा भेट्ने जो कोहीको पहिलो प्रश्न छोरा कि छोरी हुन्थ्यो भने अर्को प्रश्न अपरेशन कि नर्मल डेलिभरी । नर्भल नै हो भन्दा धेरैले आश्चर्य मान्थे ।

केही दिनको अपस्ताल बसाइका क्रममा उनले थाहा पाइन् कि त्यहाँ त धेरै डेलिभरी शल्यक्रियाबाट हुने गरेको रहेछ । जसका कारण नर्मल डेलिभरी भनेको सुन्दा अरु आश्चर्यमा परेका रहेछन् ।

चिकित्सकहरुका अनुसार पछिल्लो समय शल्यक्रियाद्वारा बच्चा जन्माउने क्रम अस्वाभाविक रुपमा बढ्दो देखिएको छ । गर्भमा रहेको बच्चामा कुनै समस्या देखिए चिकित्सकहरुले नै शल्यक्रियाका लागि सिफारिस गर्छन्, जुन अनिवार्य पनि हो । तर, कतिपय अवस्थामा विरामी स्वंयले शल्यक्रियाद्वारा बच्चा जन्माउने इच्छा प्रकट गर्ने परेका छन् ।

थापाथलीस्थित प्रसुती गृहका वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. गहेनाथ बराल पनि पछिल्लो समय शल्यक्रिया गरेर बच्चा जम्माउनेहरुको संख्या बढ्दो रहेको स्वीकार गर्छन् ।

गर्भवती महिलाको अवस्था, शिशुको आसन तथा अवस्था लगायत विभिन्न कारणले पनि शल्यक्रिया गर्नु पर्ने अवस्थाको सिर्जना हुने गरेको छ । उनले भने, ‘अस्पतालहरुमा सुविधा उपलब्ध हुनु र प्रसुतीका क्रममा आमा र शिशुको स्वास्थ्यमा हुनसक्ने जोखिम कम गर्ने लगायतका कुराले पनि सामान्य तथा शल्यक्रियाद्वारा शिशु जन्माइने कुरामा भरपर्छ ।’

प्रसुती गृहको एक तथ्यांक अनुसार गत आर्थिक वर्ष ०७२/७३ मा अस्पतालमा कुल १८ हजार ९७ जना सुत्केरी भएका थिए, जस मध्ये २५ प्रतिशत (४,५४८) शल्यक्रिया गरी बच्चा जन्माइएको छ ।

तथ्यांक अनुसार प्रसुती गृहमा दैनिक ६० वटासम्म शिशु जन्मने गरेको छ र, त्यसमध्ये दैनिक २० वटासम्म शल्यक्रियाद्धारा शिशु जन्माइने गरिएको अस्पातलका प्रमुख प्रा. डा.आमिर बाबु श्रेष्ठ बताउँछन् ।

प्राथमिक स्वास्थ्य सेवा केन्द्र वा स्वास्थ्य चौकीमा सामान्य प्रसुती गराउन नसकेर सरकारी अस्पताल रिफर गरिएका विरामीहरुका कारण पनि शल्यक्रियाको संख्या बढेको उनले बताए ।

चिकित्सकहरुका अनुसार निजी अस्पतालहरुमा शल्यक्रियाबाट बच्चालाई जन्म दिनेहरुको संख्या बढी छ ।

तर, उनीहरु कुनै तथ्यांक दिन तयार छैनन् । निजी अस्पतालमा शल्यक्रिया गरेर बच्चा जम्माउनेहरुको संख्या बढी हुनुको कारणबारे नाम उल्लेख नगर्ने सर्तमा एक चिकित्सकहरु भन्छन्, जोखिम लिन नचाहने, विरामीहरुको इच्छाका साथै आन्दानी पनि कारण हो ।’

समान्य प्रक्रियाबाट बच्चाको जन्म भयो र आमा र शिशु दुबै स्वस्थ छन् भने २४ घन्टाभित्रै डिस्चार्ज भएर घर जान सक्छन् । तर, अपरेशन गरिएको छ भने ५/७ दिन बस्नुपर्ने हुन्छ ।

उनले भने झै स्वास्थ्य मन्त्रालयले हालै गरेको एक अध्ययन अनुसार नेपालका करिब आधा भन्दा बढी (५३ प्रतिशत) स्वास्थ्य संस्थाहरुमा शल्यक्रियाद्धारा बच्चा जन्माइने गरेको पाइएको छ ।

सरकारी अस्पताल पनि कम छैनन्

शल्यक्रियाद्धारा बच्चा जन्माउनेमा निजी मात्र होइन, सरकारी अस्पतालहरु पनि कम छैनन् ।

स्वास्थ्य मन्त्रालयले गरेको एक अध्ययन अनुसार अञ्चल वा भन्दा माथिको ८८ प्रतिशत स्वास्थ्य संस्था, ५४ प्रतिशत जिल्ला अस्पतालले शल्यक्रियाद्धारा बच्चा जन्माउने सुविधा उपलब्ध हुँदै आएको छ । नेपालका एक सय ४४ वटा निजी अस्पतालमध्ये करिब ४९ प्रतिशत अस्पतालहरुमा शल्यक्रियाद्धारा बच्चा जन्माइने गरेकोे पाइएको छ ।

२८ वटा अञ्चल तथा माथिको स्वास्थ्य संस्थाहरुमध्य करिब ८८ प्रतिशतमा तथा ७६ वटा जिल्ला अस्पताहरुमध्ये झण्डै ५४ प्रतिशत स्वास्थ्य संस्थाहरुमा शल्यक्रियाद्धारा बच्चा जन्माउने गरेका ‘नेपाल स्वास्थ्य सेवा सर्वेक्षण २०१५’सर्वेक्षणमा उल्लेख गरिएको छ ।

मन्त्रालयले स्वास्थ्य संस्थाहरुमा आवद्ध झण्डै ४ हजार ५७ मानिसहरुबीच अध्ययन गरेको थियो । जसमा ४३ प्रतिशत प्यारामेडिक्स, ३९ प्रतिशत नर्स, नौ प्रतिशत डाक्टर, नौ प्रतिशत टेक्निसियन र एक प्रतिशत क्लिनिकल सेवा प्रदान गर्ने व्यक्ति आवद्ध भएका थिए ।

यद्यपि सर्वेक्षणमा समावेश गरिएका सुचांक भिन्नाभिन्नै पृष्ठभूमिमा आधारित भएकोले सामान्य प्रसुती र शल्यक्रिद्वारा बच्चा जन्माइने पद्धतीलाई एकै ठाउँमा राखेर तुलना गर्न नमिल्ने स्वास्थ्य मन्त्रालय, जनस्वास्थ्य अनुगमन तथा मूल्यांकन महाशाखाले जनाएको छ ।

महाशाखाका जनस्वास्थ्य प्रशासक गिरीराज सुवेदीले अनलाइनखबरसित भने, ‘जम्मा चार हजार अस्पतालहरुलाई आधार मानेर गरिएको यो सर्वेक्षणमा करिब ९४० मा उपलब्ध सेवालाई आधार मान्दा नेपालका स्वास्थ्य संस्थाहरुमा शल्यक्रियाको प्रतिशत धेरै देखिएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment