+

स्वास्थ्यमन्त्रीको अपरिपक्व बाचा, बिरामीको सास्ती ज्यूँका त्यूँ

२०८१ मंसिर  १९ गते २०:४३ २०८१ मंसिर १९ गते २०:४३

स्वास्थ्यमन्त्रीले २७ साउनमा पत्रकार सम्मेलन गर्दै दीर्घकालीन योजनाको रूपमा संघीय अस्पतालमा शल्यक्रियाका लागि हुने चापको लाइन घटाउन अप्रेसन थियटरमा पूर्वाधार थप गर्ने बताए । तर, स्वास्थ्यमन्त्री भएको पाँच महिना बितिसक्दा पूर्वाधारको थप गर्नु त परको कुरा भएको अप्रेसन थिएटरलाई आवश्यक औजार समेत जुटाउन सकेका छैनन् ।

स्वास्थ्यमन्त्रीको अपरिपक्व बाचा, बिरामीको सास्ती ज्यूँका त्यूँ

काठमाडौं । ‘अस्पताल आएको १५ दिनभन्दा बढी भइसक्यो । काठमाडौंमा चिनेजानेका कोही छैनन्, होटलमा बस्नुपरेको छ,’ नवलपरासीका कन्हैयालाल कुर्मी चौधरीले आँखाभरि आँसु पार्दै भने, ‘शरीरमा पीडा थपिंदै गएको छ । तर उपचार कहिले हुने थाहा छैन ।’

वीर अस्पतालको युरोलोजी विभाग बाहिर बसेका ५८ वर्षीय चौधरीको साथमा छोरा, छोरी र श्रीमती छन् । १ मंसिरमा पहिलो पटक काठमाडौंमा पाइला टेकेका उनीहरुको यो बिरानो सहरमा कोही आफन्त छैनन् । उनीहरू सुन्धाराको एक होटलमा बस्दै आएका छन् ।

किसानी पेशा गर्ने चौधरीको शरीरमा निरन्तर पीडा थपिंदै छ । चिकित्सकले प्रोस्टेटको अप्रेसन गर्नुपर्ने बताएका छन् । वाकवाकी, रिंगटा र तल्लो पेटको असहनीय दुखाइले उनको हरेक क्षण कष्टपूर्ण बनिरहेको छ ।

तीन दशक अगाडि उनले प्रोस्टेटको अप्रेसन गराएका थिए । तर केही महिनाअघिदेखि पुनः समस्या बल्झियो । ‘पाँच महिना अघिदेखि पिसाबमा रगत आउन थाल्यो, पिसाब चुहिने, वाकवाकी लाग्नेदेखि तत्लो पेट दुख्ने भइरहेको छ,’ चौधरीले मलिन स्वरमा भने, ‘आज एक कोठामा भोलि अर्को कोठामा भौंतारिहेको छु ।’

केहीबेरमा युरोलोजीको ओपीडीमा उनको पालो आयो । चिकित्सकको कोठामा प्रवेश गर्दै गर्दा चौधरी छिट्टै उपचार पाइने आशामा थिए । तर डाक्टरका शब्दले उनको आशा एकछिनमा निराशामा परिणत भयो ।

‘अब तपाईं असार १५ तिर आउनुहोला,’ चिकित्सकले शल्यक्रियाको रेकर्ड पुस्तक देखाउँदै सम्झाउने कोसिस गरे, ‘तपाईं जस्तै पालो पर्खिएका धेरै बिरामी छन् । शल्यक्रिया गर्न पालो नकुरी अन्य कुनै उपाय छैन ।’

तत्काल निजी अस्पतालमा शल्यक्रिया गर्ने सामर्थ्य उनीसँग छैन । किनकि निजी अस्पतालमा शल्यक्रियाका लागि लाखौं खर्च लाग्छ । अब विकल्प एउटै छ– वीर अस्पतालमा कहिले पालो आउँछ भनेर कुर्ने ।

****

थकान भरिएको शरीर लिएर काभ्रेका सुन्दर श्रेष्ठ वीर अस्पतालको युरोलोजी विभागमा पुगे । उनको हरेक कदममा पीडा प्रष्ट देखिन्थ्यो ।

उनलाई पछिल्लो केही महिनादेखि वाकवाकी, रिंगटा र मिर्गौला वरिपरि अत्यधिक दुखाइ थपिरहेको छ । डा. रविनबहादुर बस्नेतले रिपोर्ट हेर्दै भने ‘मिर्गौलामा ढुङ्गा छ । अब अर्को वर्ष असारमा मात्रै शल्यक्रियाको पालो छ ।’

श्रेष्ठको मुखबाट गहिरो सास निस्कियो, ‘यत्रो समय ?’ उनले आश्चर्यमिश्रित पीडाभावले सोधे,’के म यति समय दुखाइ सहेर बस्न सक्छु र !’

****

देशकै जेठो अस्पताल वीरको युरोलोजी विभागमा असारसम्म शल्यक्रियाका लागि नाम विवरणमा चढिसकेको छ । अब आउने नयाँ बिरामीले त्यसपछि मात्रै पालो पाउँछन् ।

चौधरी र श्रेष्ठ जस्तै अन्य बिरामीको पीडा पनि त्यस्तै दर्दनाक छ । खासगरी मिर्गौलामा हुने पत्थरी, प्रोस्टेट, एड्रिनल ग्रन्थी, मिर्गौलाको मुख बन्द हुने (जन्मजात), मूत्रनली खुम्चिने लगायत समस्या भएका बिरामी शल्यक्रियाका लागि ७ महिनासम्म कुर्नुको अर्को कुनै विकल्प छैन ।

तर स्वास्थ्यमन्त्री प्रदीप पौडेल भने तीन महिनाभित्रमा अप्रेसनको पालो पाइने आश्वासन नागरिकमाझ छरिरहेका छन् ।

गत कात्तिकमा अनलाइनखबरले लिएको अन्तर्वार्तामा स्वास्थ्यमन्त्री पौडेलले आफ्नो फोन नम्बर सार्वजनिक गर्दै भनेका थिए, ‘सरकारी अस्पतालमा तीन महिनाभन्दा पछाडिको अप्रेसनको पालो कुर्नपर्ने छैन । यदि तीन महिनाभन्दा पछाडि पालो पाउनु भयो भने मेरो फोन नम्बरमा सम्पर्क गर्नुहोला ।’

तर अस्पतालको दृश्य भने स्वास्थ्यमन्त्रीको भनाइभन्दा ठीक विपरीत छ ।

यस्तै स्वास्थ्यमन्त्री पौडेलले २७ साउनमा पत्रकार सम्मेलन गर्दै दीर्घकालीन योजनाको रूपमा संघीय अस्पतालमा शल्यक्रियाका लागि हुने चापको लाइन घटाउन अप्रेसन थियटरमा पूर्वाधार थप गर्ने बताए । तर स्वास्थ्यमन्त्री भएको पाँच महिना बितिसक्दा पूर्वाधारको थप गर्नु त परको कुरा भएको अप्रेसन थिएटरलाई आवश्यक औजार समेत जुटाउन सकेका छैनन् ।

शल्यक्रियाको चाप वीरको युरोलोजी विभागमा मात्रै होइन, केन्द्रीय सरकारी (पाटन, टिचिङ, कान्ति..)  अस्पतालको हालत पनि उही छ ।

वीर अस्पतालकै एक वरिष्ठ चिकित्सक मन्त्री पौडेलले धरातल नबुझी बोलिरहेको बताउँछन् । ‘चिकित्सकले कस्तो अवस्थामा कसरी सेवा दिइरहेका छन् ? मन्त्रीले केही बुझेका छैनन्,’ ती चिकित्सक आक्रोश पोख्दै भन्छन्, ‘वरिपरिका मानिसले गलत सूचना प्रवाह गरिहेका छन् ।’

पत्थरी, प्रोस्टेटका बिरामीले शल्यक्रियाका लागि ७ महिना कुर्नुपर्छ

वीरले हाल युरोलोजीको ओपीडी र अप्रेसन हप्ताको तीन–तीन दिन र मिर्गौला प्रत्यारोपण हप्ताको एक दिन गर्ने गरेको छ । युरोलोजी विभागका प्रमुख डा. रविनबहादुर बस्नेतका अनुसार ओपीडीमा अत्यधिक चाप छ । त्यसअनुसार शल्यक्रियाको अनुपात मिलिरहेको छैन ।

युरोलोजी विभागको तथ्यांक अनुसार साताको तीन दिन मात्रै सञ्चालनमा आउने ओपीडीमा हजारभन्दा बढी बिरामी पुग्छन् । जसमध्ये १८० जना हाराहारीको शल्यक्रिया गर्नुपर्ने हुन्छ । तर युरो विभागबाट साताको तीन दिनमा ४० देखि ५० जनाको हाराहारीमा शल्यक्रिया गर्न सम्भव हुन्छ ।

युरो सर्जरी विभागमा आउने बिरामीलाई आकस्मिक, सेमी–आकस्मिक र सामान्य गरी तीन समूहमा विभाजन गरेर शल्यक्रियाका लागि पालो दिने गरिन्छ ।

‘ओपीडीमा बिरामीको चाप अत्यधिक छ । त्यस अनुसार बिरामीले अप्रेसनको पालो पाउन सकेका छैनन्,’ डा. बस्नेत गुनासो गर्छन्, ‘स्वास्थ्यमन्त्रीले भनेअनुसार तीन महिनामा अप्रेसन गर्न सम्भव छैन । युरोलोजी विभागमा कम्तीमा पनि पत्थरी, प्रोस्टेटका बिरामीले ७ महिना कुनुपर्छ ।’

उनी अगाडि भन्छन्, ‘तुरुन्तै अप्रेसन नगर्दा ज्यानमै तलमाथि हुने अवस्था भए बिरामीलाई आकस्मिक रुपमा अप्रेसन गरिहाल्छौं । अन्य हकमा भने पालो दिएर पठाँउछौं ।’

डा. रविनबहादुर बस्नेत

आठ वर्षदेखिका जीर्ण औजारको प्रयोग

नयाँ मन्त्री परिवर्तन हुँदा अस्पतालको भीड नियन्त्रणदेखि शल्यक्रियाको पालो घटाउने निर्णय हुन्छ । त्यसका लागि अस्पताललाई निर्देशन दिने काम समेत गर्छन् । स्वास्थ्यमन्त्री मन्त्रालयका उच्च अधिकारीसहित अस्पताल पुग्छन् । तर अस्पतालमा भइरहेको व्यवहार कठिनाइलाई सम्बोधन गर्ने काममा भने उनीको मौन नै रहन्छन् । त्यही प्रवृति मन्त्री पौडेलले पनि दोहोर्‍याए ।

‘स्वास्थ्यमन्त्री आएर अस्पतालको अनुगमन पटक–पटक गर्नुभयो । सेवालाई चुस्त बनाउन नसकिएको व्यावहारिक समस्या राखेका थियौं,’ युरो विभागका एक चिकित्सक भन्छन्, ‘सेनालाई लडाइँमा जान गोली-बन्दुक नदिई पठाएको जस्तै काम गरियो ।’

ती चिकित्सकका अनुसार युरोलोजी विभागका कतिपय औजारका अस्पताल प्रशासन, मन्त्रालयसँग वर्षौंदेखि नै माग गर्दा उपलब्ध भएको छैन । जसकारणले धेरै सेवा कटौती गर्नुपर्ने अवस्थामा पुगेको छ ।

अस्पताल प्रशासनले आर्थिक अभावकै कारण औजार मर्मत गर्न नसकिने जवाफ दिने गरेको छ । आठ वर्षदेखि युरोलोजीको कुनै पनि नयाँ औजार अस्पताल प्रशासनले खरिद गरेको छैन ।

आठ वर्षदेखिका जीर्ण औजारको भरमा अप्रेसन गरिरहेको भन्दै डा. बस्नेतले भने, ‘दैनिक प्रयोग गर्ने सामान जीर्ण भएका छन् । औजार अभावकै कारण कतिपय सुरू भइसकेका सेवा बन्द अवस्थामा पुगेका छन् ।’

डा. बस्नेतका अनुसार मिर्गौलामा भएको फुस्रो ढुंगालाई बाहिरबाट फुटाउने सेवा गत एक वर्षदेखि बन्द छ ।

र्षौं कुर्नुपर्दा अंगफेलदेखि मृत्युसम्म

चिकित्सकका अनुसार बिरामीलाई धेरै समय कुराउँदा रोग बढ्दै जाने सम्भावना बढी हुन्छ । कतिपय केसमा त अंग नै बिग्रिने तथा बिरामीको ज्यान नै तलमाथि हुन जान्छ ।

कहिलेकाहीं साधारण भनिएको केसमा पनि लामो समय पालो पर्खिएर बस्दा भयानक असर पुग्छ । जस्तो- मिर्गौलामा भएको पत्थरी झरेर नलीमा आएर बस्दा मिर्गौला नै फेल गराइसकेको हुन्छ ।

‘वर्षौंपछिसम्म पालो कुर्नुपर्ने अवस्था आएपछि केही बिरामी हरेस मानेर उपचार नगर्ने भन्दै घर समेत फर्किने गर्छन्,’ डा. बस्नेत भन्छन्, ‘टाढाबाट आउने बिरामी तुरुन्तै अस्पताल आउन नसक्ने अवस्था भएकाले बिरामीमा जटिलता देखिनेदेखि मृत्यु समेत हुने गरेको छ ।’

अस्पताल नै नटेकी प्रतिवेदन तयार

शल्यक्रियाको चापको विषयमा प्रत्येक नयाँ स्वास्थ्यमन्त्री आउँदा अध्ययन गरी प्रतिवेदन दिन निर्देशन हुन्छ । तर कार्यावन्यन पक्ष भने शून्य नै रहन्छ । तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप यादवको निर्देशनपछि वीर अस्पतालमा अत्यधिक भीड हुने युरोलोजी विभागको प्रतिवेदन तयार गर्न अतिरिक्त सचिव डा. दीपेन्द्रमरण सिंहको सयोजत्वमा एक समिति बनेको थियो । त्यो समितिले अस्पताल नै नटेकी एक प्रतिवेदन पनि तयार पार्‍यो ।

‘अस्पतालमै नटेकी यहाँ भएका समस्याको बारेमा डाक्टरसँग छलफल नै नगरी प्रतिवेदन तयार भएछ,’ युरोलोजी विभागका अर्का चिकित्सक भन्छन्, ‘मन्त्रालयमै बसेर तयार पारेको प्रतिवेदनको फाइल पनि वर्षौंदेखि दराजमा थन्किएको छ ।’

केन्द्रीय अस्पतालमा अनावश्यक बिरामीको भीड

नागरिकमा तल्लोस्तरका अस्पतालप्रति विश्वास नहुनु र सिफारिस प्रणाली (रेफरल) प्रभावकारी नहुँदा केन्द्रीय अस्पतालमा सामान्य खालका बिरामीको चाप बढ्दो रहेको डा. बस्नेत बताउँछन् । शल्यक्रियाको भएको भीडको समस्या समाधान नै गर्न नसकिने भने होइन तर त्यसतर्फ पटक्कै काम नभएको उनी बताउँछन् ।

विज्ञका अनुसार बिरामी सबैभन्दा पहिले स्थानीय स्तरका अस्पतालमा जानुपर्छ । त्यहाँ उपचार नभएको खण्डमा जिल्ला हुँदै प्रादेशिक अस्पताल जानुपर्ने हो । तर सहज, सर्वसुलभ र गुणस्तरीय सेवा उपलब्ध नहुँदा जिल्ला, प्रादेशिक तहका अस्पतालप्रति नागरिकको विश्वास अझै कायम हुनसकेको छैन ।

७५ प्रतिशत बिरामीलाई प्रादेशिक र जिल्लास्तरमै उपचार गर्न वीर अस्पतालको युरोलोजी विभागको अध्ययनले देखाउँछ । तर त्यसका लागि प्रादेशिक तहका अस्पतालमा दक्ष जनशक्ति र स्रोत-साधन बढाउन जरूरी छ ।

ओपीडीमा ६० केसलाई शल्यक्रिया समय दिइरहँदा ८-१० जनाको हाराहारीमा मात्रै वीर अस्पतालमा शल्यक्रिया गर्नुपर्ने खालका बिरामी हुने डा. बस्नेत बताउँछन् ।

‘केन्द्रीय अस्पतालमा आउने सबैलाई विशिष्टीकृत सेवा चाहिंदैन । स्थानीय स्तरबाट रेफर सिस्टमलाई प्रभावकारी बनाएर केन्द्र अस्पतालमा पठाउने हो भने ७५ प्रतिशत भीडलाई कम हुन्छ,’ डा. बस्नेत भन्छन्, ‘सामान्य समस्याका बिरामीलाई पनि केन्द्रमा हेर्नुपर्ने भएपछि विशिष्टीकृत सेवा लिनुपर्ने बिरामीलाई असर परिरहेको छ ।’

पहुँचवालादेखि स्वास्थ्यमन्त्रीको दबाब

वीर अस्पतालका एक चिकित्सकका अनुसार स्वास्थ्यमन्त्री, नेता, सरकारी कर्मचारी, अस्पतालका कर्मचारीले भनसुन गरेर शल्यक्रियाका लागि चाँडै पालो पार्न प्रयास गर्छन् ।

पहुँचवालाले भनसुनको भरमा शल्यक्रिया गराउने प्रवृत्तिका कारण वर्षौंदेखि पालो कुरेर बसेका बिरामी थप मारमा परिरहेका छन् ।

‘राजनीतिक दलका नेता र अस्पतालको प्रशासनिक पहुँचको दबाबमा शल्यक्रियाको पालो मिच्ने काम हुन्छ,’ ती चिकित्सक भन्छन्, ‘ती दबाब जसरी पनि मान्नुपर्ने बाध्यता रहन्छ ।’

केही दिनअघिको घटना सुनाउँदै एक चिकित्सक भन्छन्, ‘एक बिरामीलाई दुई हप्ता पछाडिको शल्यक्रियाको समय दिइएको थियो । तर अस्पताल प्रशासनबाट तुरुन्तै गराउनु भनेर लेखेर आउनुभयो ।’

ती चिकित्सक अगाडि भन्छन्, ‘मिर्गौलामा सानो ढुंगा छ । जुन अप्रेसन नै गर्न पर्दैन । तर तुरुन्तै गर्नुपर्‍यो भन्ने दबाब आउँछ । पहुँचको दुरुपयोग गर्दै नाम घुसाउने काम जबसम्म अन्त्य हुँदैन तबसम्म गरिब जनताले सास्ती पाइरहन्छन् ।’

ती चिकित्सकका अनुसार महाशाखाका अधिकारीको हाकिमगिरीदेखि स्वास्थ्यमन्त्रीसम्मले यस्तो दबाब दिन्छन् ।

‘कुर्सीमा बसेर दबाब दिएर निर्देशन दिंदा अपमानित भएको महसुस हुन्छ,’ ती चिकित्सक भन्छन्, ‘तर शल्यक्रियाका लागि पालो घटाउन सरकार वा अस्पताल प्रशासनले कुनै चासो हुँदैन । सर्वसाधारणको दुःख पाएको पीडा टुलुटुलु हेर्नुपर्ने बाध्यता छ ।’

तस्वीर/भिडियो : चन्द्रबहादुर आले/अनलाइनखबर

प्रदीप पौडेल शल्यक्रिया स्वास्थ्य सेवा

धेरै कमेन्ट गरिएका

लेखक
पुष्पराज चौलागाईं
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

स्वास्थ्यमन्त्रीको अपरिपक्व बाचा, बिरामीको सास्ती ज्यूँका त्यूँ

स्वास्थ्यमन्त्रीको अपरिपक्व बाचा, बिरामीको सास्ती ज्यूँका त्यूँ

सुत्केरी गराउनुपुर्व अस्पतालको पूर्व तयारी कस्तो हुनुपर्छ ?

सुत्केरी गराउनुपुर्व अस्पतालको पूर्व तयारी कस्तो हुनुपर्छ ?

जाडोमा रुघाखोकी निको पार्ने घरेलु उपाय

जाडोमा रुघाखोकी निको पार्ने घरेलु उपाय

‘खानपानकै कारण क्यान्सर निको भयो भन्नु भ्रम’ (भिडियोसहित)

‘खानपानकै कारण क्यान्सर निको भयो भन्नु भ्रम’ (भिडियोसहित)

अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन् अधिकार सुनिश्चित गर्न कस्तो नीति ?

अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन् अधिकार सुनिश्चित गर्न कस्तो नीति ?

नवजात शिशु स्याहार्ने ७ परम्परागत उपाय हानिकारक पनि हुनसक्छ

नवजात शिशु स्याहार्ने ७ परम्परागत उपाय हानिकारक पनि हुनसक्छ