+

प्याङ्क्रियाटिक क्यान्सर कसरी हुन्छ ?

२०८१ मंसिर  २० गते १२:३५ २०८१ मंसिर २० गते १२:३५
प्याङ्क्रियाटिक क्यान्सर कसरी हुन्छ ?

प्याङ्क्रियाज पेटको पछाडिपट्टि र माथिल्लो बायाँ भागमा हुने महत्वपूर्ण अंग हो, जसले पाचन प्रणालीमा सहयोग पुर्‍याउँछ । यसले बनाउने जुस अर्थात् इन्जाइमले खाना पचाउन मद्दत गर्छ । प्याङ्क्रियाजको अर्को काम भनेको शरीरमा सुगरको मात्रा सन्तुलनमा राख्ने हो ।

हामीले खाना खाइसकेपछि वृद्धि हुने सुगरको मात्रालाई प्याङ्क्रियाजले इन्सुलिनमार्फत सन्तुलनमा राख्छ । तर प्याङ्क्रियाजबाट उत्पन्न हुने इन्जाइमले प्याङ्क्रियाजलाई नै असर गर्ने समस्या प्याङ्क्रियाटाइटिस, प्याङ्क्रियाजको ट्युबमा अवरोध हुने सिस्टिक फाइब्रोसिस तथा प्याङ्क्रियाटिक क्यान्सरजस्ता समस्या आउन सक्छन् । यसबाहेक मधुमेहमा पनि प्याङ्क्रियाजको भूमिका हुन्छ । शरीरको प्रतिरोधी प्रणालीले आक्रमण गर्ने भएकाले टाइप वान र टाइप टु डाइबिटिजमा प्याङ्क्रियाजले इन्सुलिन नै बनाउन सक्दैन ।

पटक–पटक प्याङ्क्रियाटाइटिस हुनेहरुमा प्याङ्क्रियाटिक क्यान्सर हुने सम्भावना उच्च हुन्छ । ८० प्रतिशतमा चौथो स्टेजमा पुगिसकेपछि मात्र यो क्यान्सर लागेको थाहा हुन्छ, जुन अवस्थामा उपचार निकै सीमित हुन्छ । २० प्रतिशतमा चाहिं प्रारम्भिक अवस्थामा रोग पहिचान हुने सम्भावना हुन्छ र उपचार प्रक्रियाद्वारा बाँच्ने सम्भावना बढी हुन्छ । क्यान्सर थाहा हुँदासम्म अन्य अंगमा पनि फैलिसक्ने भएकाले १० जनामध्ये ८ जनालाई बचाउन सकिंदैन ।

कस्तो मानिसलाई हुन्छ ?

मधुमेहका बिरामी, ७० वर्षभन्दा बढी उमेरका व्यक्ति, धुम्रपान तथा मदिरा सेवन गर्ने, मोटोपन भएकाहरुलाई प्याङ्क्रियाटिक क्यान्सर हुने जोखिम बढी हुन्छ । परिवारका कोही सदस्यलाई यो क्यान्सर भएको छ भने अन्य सदस्यलाई पनि हुने सम्भावना हुन्छ । यस्तै, जसलाई पेट दुख्ने तर निको नहुने समस्या छ भने पनि प्याङ्क्रियाटिक क्यान्सरको जोखिम हुनसक्छ । यस्ता समस्या भएकाले ग्यास्ट्रिक हो भनेर औषधि खाएर बस्नु हुँदैन । सिटीस्क्यान गरेर हेरेपछि क्यान्सर हो, होइन थाहा हुन्छ । तर प्याङ्क्रियाज पेटको पछाडि लुकेर बस्ने अंग भएकाले साधारण अल्ट्रासाउन्डले भने यो देखिंदैन ।

त्यसैले बारम्बार पेट दुख्ने समस्या छ भने ग्यास्ट्रोइन्टेरोलोजिस्टकहाँ जचाउन जानुपर्छ । समयमै परीक्षण गर्दा क्यान्सर अन्य अंगमा नफैलिंदै पत्ता लाग्छ ।

कस्ता हुन्छन् लक्षण ?

७० वर्ष उमेर पुगेका र मधुमेह भएका मानिसहरुमा औषधि खाइरहँदा र इन्सुलिन लिइरहँदा पनि सुगर लेभल एक्कासि बढ्ने हुन्छ । मधुमेह नभएका मानिसमा पनि सुगर लेभल बढ्ने हुन्छ । यस्तै, पेट दुखाइ धेरै हुने अनि ग्यास्ट्रिकको औषधि खाँदा पनि ठीक नहुने हुन्छ भने एक्कासि जन्डिस हुने, खाना कम रुच्ने वा खान मनै नलाग्ने, तौल एक्कासि धेरै मात्रामा घट्नेजस्ता लक्षण देखिन्छन् । शारीरिक अभ्यास लगायत कारण एक-दुई किलो तौल घट्नु सामान्य भए पनि यो क्यान्सर हुँदा तौल एकै पटक ५–६ किलोसम्म घट्ने हुन्छ । जन्डिस हुनसक्छ, जसले गर्दा शरीर चिलाउने हुन्छ ।

के हुन् यसका रोकथाम ?

मासु बढी सेवन गर्ने, धेरै मदिरा सेवन गर्ने, धुम्रपानको लत लागेकाहरुमा प्याङ्क्रियाटिक क्यान्सरको जोखिम हुने भएको त्यस्ता बानी छाड्नुपर्छ । शारीरिक व्यायाम गर्नुपर्छ । मोटोपन भएका मानिस पनि जोखिममा हुने भएकाले तौल नियन्त्रण गर्नुपर्छ ।

कोलोन क्यान्सर हुँदा बिरामीलाई बचाउन सकिने भए पनि प्याङ्क्रियाटिक क्यासरको मृत्युदर उच्च छ । यस्तै, ४०–४५ वर्षमाथिका मानिसलाई कोलोन क्यान्सरको स्क्रिनिङ गर्न सकिन्छ, तर यसको स्क्रिनिङ गर्ने सुविधा अहिलेसम्म विश्वमै छैन ।

उपचार प्रक्रिया के ?

सिटी स्क्यानबाट रोग पहिचानका साथै क्यान्सर कुन स्टेजमा छ भन्ने पनि थाहा हुन्छ । त्यसैले कतिसम्म फैलिएको छ भनेर थाहा पाएपछि शल्यक्रिया गर्ने कि किमोथेरापी गर्ने भन्ने तय गरिन्छ ।

चौथो स्टेजको क्यान्सर भइसकेकाहरु ८० प्रतिशतलाई बचाउन सकिंदैन । उनीहरुका लागि नर्भिक अस्पतालमा प्यालियाटिभ उपचार सेवा उपलब्ध छ । तर उनीहरुको बाँच्ने अवस्था भने ६ महिना हाराहारीमा मात्रै हुन्छ ।

अब्स्ट्रक्टिभ जण्डिस भएको रहेछ भने प्याङ्क्रियाज र पित्तथैलीबाट सानो आन्द्रामा आउने नलीमा हुने अवरोध ईआरसीपी विधिद्वारा स्टेन्टमार्फत हटाइन्छ । त्यसले जण्डिस घट्छ र खाना पनि रुचि हुन्छ, यसले बिरामीलाई धेरै राहत दिन्छ । स्टेन्ट प्लास्टिकको या मेटलको हाल्न सकिन्छ ।

दुखाइ कम गर्न ईयूएस अर्थात् इन्डोस्कोपिक अल्ट्रासाउड गरिन्छ । दुखाइ बढी छ, बिरामीले किमोथेरापी पनि सहन सक्दैन भने दुखाइ घटाउन मर्फिन प्रयोग गर्न सकिन्छ । तर यसको बानी पर्ने, मर्फिन नभए निद्रा नै नलाग्ने हुनसक्छ ।

प्यालियटिभ केयर भनेको बिरामीलाई बाँचुञ्जेल सहायता दिने सेवा हो, यसमा बिरामीको जीवनशैली कम्तीमा केही हदसम्म राम्रो गराउने प्रयास गरिन्छ ।

पीडा कम गर्न औषधिको प्रयोग गरिन्छ । तर औषधिको बानी पर्दै जाँदा मात्रा पनि बढाउँदै जानुपर्ने हुन्छ । त्यस्तो अवस्थामा इन्डोस्कोपिक अल्ट्रासाउन्ड मार्फत पीडा कम गर्ने विधि प्रयोग गरिन्छ, जसलाई सिलियाक प्लेक्सस न्युरोलाइसिस भनिन्छ, जुन नसालाई मार्ने प्रक्रिया हो, त्यसले बिरामीको जीवन अलिक सहज बनाउँछ । इन्डोस्कोपिक अल्ट्रासाउन्डबाट बायोप्सी पनि लिन सजिलो हुन्छ, यसलाई ईयूएस एफएनए भनिन्छ । डाइग्नोसिसका लागि ईयूएस एफएनए सेवा नर्भिकले नेपालमा २०१४ मा सबैभन्दा पहिले सुरु गरेको हो ।

क्यान्सर डा. सन्दीपराज कुँवर प्याङ्क्रियाज

धेरै कमेन्ट गरिएका

डा. सन्दीपराज कुँवर
लेखक
डा. सन्दीपराज कुँवर
पेट तथा कलेजोरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ५२४३ हाल काठमाडौं थापाथलीस्थित नर्भिक अस्पतालमा पेट तथा कलेजोरोग विभाग प्रमुखको रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

भिटामिन सीको मात्रा धेरै भए के हुन्छ ?

भिटामिन सीको मात्रा धेरै भए के हुन्छ ?

प्याङ्क्रियाटिक क्यान्सर कसरी हुन्छ ?

प्याङ्क्रियाटिक क्यान्सर कसरी हुन्छ ?

स्वास्थ्यमन्त्रीको अपरिपक्व बाचा, बिरामीको सास्ती ज्यूँका त्यूँ

स्वास्थ्यमन्त्रीको अपरिपक्व बाचा, बिरामीको सास्ती ज्यूँका त्यूँ

सुत्केरी गराउनुपुर्व अस्पतालको पूर्व तयारी कस्तो हुनुपर्छ ?

सुत्केरी गराउनुपुर्व अस्पतालको पूर्व तयारी कस्तो हुनुपर्छ ?

जाडोमा रुघाखोकी निको पार्ने घरेलु उपाय

जाडोमा रुघाखोकी निको पार्ने घरेलु उपाय

‘खानपानकै कारण क्यान्सर निको भयो भन्नु भ्रम’ (भिडियोसहित)

‘खानपानकै कारण क्यान्सर निको भयो भन्नु भ्रम’ (भिडियोसहित)