पेट स्वस्थ छ भने शरीरले आवश्यक पोषण र ऊर्जा पाउँछ, जसले शरीरमा दिनभर स्फूर्ति राख्छ । दैनिक कार्यक्षमतामा वृद्धि गर्छ । तर पेट खराब हुँदा पाचनप्रक्रिया प्रभावित हुन्छ, ऊर्जा कम हुन्छ र जाँगर घटेर दैनिक कार्यक्षमता कमजोर हुन्छ ।
पेट खराब हुनुको मुख्य जिम्मेवार अस्वस्थ खानपान र खराब जीवनशैली हो । त्यो मात्र नभई कहिलेकाहीं हामीले लिने गलत जानकारीले पनि स्वस्थ बिगारिरहेका हुन सक्छौं । समाजमा पेटको स्वास्थ्यलाई लिएर केही भ्रम व्यापक फैलिएका छन् ।
केही भ्रम र त्यसको वास्तविकता
भ्रम : पेटको सुरुवातमै हामीले खाएको खानेकुरा पच्छ ।
– धेरैलाई खानेकुरा पेटमा पुग्ने बित्तिकै तुरुन्त पच्छ जस्तो लाग्छ । तर यो भ्रम मात्र हो । पाचनको आफ्नै प्रक्रिया हुन्छ । जसकारण प्रक्रियाबद्ध ढंगले खानेकुरा अन्ननली हुँदै पेट (आमाशय)मा पुग्छ । त्यहाँ पेटको इन्जाइमहरुले खाना टुक्रयाउने, सानो आन्द्राले खानेकुरा पचाउने, काम लाग्ने खानेकुरा सोस्ने र नलाग्ने मलको लागि तयार गर्ने जस्ता प्रक्रिया हुन्छ ।
भ्रम : पातलो वर्णको मानिसको पेट पनि पातलो नै हुन्छ ।
– तौल र पेटको आकारसँग कुनै सम्बन्ध छैन । पातलो व्यक्तिको पनि पेट बढी तौल भएको व्यक्तिको भन्दा ठूलो पनि हुनसक्छ । आकार, रुप भन्ने कुरा व्यक्ति अनुसार फरक-फरक हुन्छ ।
भ्रम : कब्जियत हुने समस्या मात्र डाइटको कारणले हुन्छ ।
– कब्जियत हुने मुख्य कारण गलत खानपान पनि हो । तर यो मात्र यसको एक कारण होइन । स्वस्थ खानपिन गर्दा गर्दै पनि कब्जियतको समस्या लिएर आउने धेरै हुन्छन् । कब्जियत शारीरिक श्रम नगर्ने, तरल पदार्थ कम खाने, तनाव बढी लिने, आन्द्रामा समस्या, दिसा आउने बित्तिकै नगर्ने र विभिन्न औषधि सेवन गर्ने कारणले पनि हुनसक्छ ।
भ्रम : खानेकुरामा कटौती गर्दैमा पेट आफैं घट्छ ।
– खानेकुरा कटौती र पेटको आकार घट्ने दुई फरक पाटो हुन् । वयस्क भइसकेपछि पेट एकै अवस्थामा रहिरहन्छ । खानेकुरा कटौती गर्दा खानाको मात्रा कम गर्न मद्दत गर्छ । सधैं कम खान थालेमा भोक पनि पटक-पटक लाग्दैन । खानाको मात्रा कटौती गर्ने, व्यायाम गर्ने र स्वस्थ जीवनशैली अपनाएपछि शरीरको अनावश्यक बोसो भने कम हुन्छ ।
भ्रम : खाली पेट कफी पिउँदा ग्यास्ट्रिक हुन्छ ।
– खाली पेटमा कफी पिउँदा केही व्यक्तिमा अम्लता (एसिडिटी) बढ्न सक्छ, तर सबैलाई ग्यास्ट्रिक हुँदैन । तर कफी धेरै खाएर नै ग्यास्ट्रिक भएको व्यक्तिलाई भने अम्लता (एसिडिटी) बढाउन सक्छ । यो खासगरी व्यक्तिको सहन क्षमता कस्तो छ त्यसमा निर्भर गर्छ । तर एसिडिटीको समस्या छ भने खाली पेट कफी पिउनु भन्दा पहिले केही खानेकुरा खानु उचित हुन्छ ।
भ्रम : पेट फुल्नु भनेको ग्यास्ट्रिक समस्या मात्र हो ।
– पेट फुल्ने समस्या ग्यास्ट्राइटिस मात्र नभई धेरै कारणले हुनसक्छ । फुड इन्टोलरेन्स (खाद्य असहिष्णुता), कब्जियत, आन्द्रामा समस्या र पेटको संक्रमणले पनि पेट फुल्न सक्छ ।
भ्रम : तातोपानी पिउँदा पाचन राम्रो हुन्छ।
– मनतातो पानीले पेटको रक्तसञ्चारलाई सुधार गरी पाचन प्रक्रियालाई सहज बनाउन सक्छ । तर अति तातोपानीले धेरै पिउँदा त्यसले पेटको भित्री सतहलाई क्षति गर्न सक्छ ।
भ्रम : जति धेरै फाइबर खाने, उति राम्रो ।
– फाइबर पाचन स्वास्थ्यका लागि महत्त्वपूर्ण छ । तर अत्यधिक फाइबर खाँदा पेटमा ग्यास वा अपचको समस्या हुनसक्छ । सन्तुलित मात्रामा फाइबरयुक्त खाना (फलफूल, सागसब्जी, गहुँजन्य खाना) खानु उत्तम हो ।
भ्रम : औषधि खाएर मात्र ग्यास्ट्राइटिस सधैं निको हुन्छ ।
– ग्यास्ट्रिक हुने बित्तिकै औषधि खाएर सधैं निको हुँदैन । त्यसका लागि ग्यास्ट्रिकको कारण पत्ता लगाउनुपर्छ । एचपाइला औषधिले अस्थायी राहत दिन्छ । तर दीर्घकालीन समाधानका लागि जीवनशैली परिवर्तन (समयमै खाना खाने, मसालेदार खाना कम खाने र तनाव व्यवस्थापन) आवश्यक छ ।
भ्रम : अमिलो पानी आउनु ग्यास्ट्राइटिस हो ।
एसिड रिफ्लक्स भएको लक्षणमा मात्र मुखमा पानी आउँछ । ग्यास्ट्राइटिस दुई किसिमले हुन्छ- साइलेन्ट र लक्षणसहित । ग्यास्ट्राइटिस भएकोलाई एसिड रिफ्लक्स भएमा मुखमा अमिलो पानी आउँछ । कहिलेकाहीं त्यत्तिकै पनि एसिड रिफल्क्स भई मुखमा पानी आउन सक्छ ।
प्रतिक्रिया 4