+

‘खानपानकै कारण क्यान्सर निको भयो भन्नु भ्रम’ (भिडियोसहित)

२०८१ मंसिर  १८ गते १७:२० २०८१ मंसिर १८ गते १७:२०
‘खानपानकै कारण क्यान्सर निको भयो भन्नु भ्रम’ (भिडियोसहित)

काठमाडौं । क्यान्सर आफैंमा भयावह रोग हो । क्यान्सर लागेपछि मृत्यु नजिकिन्छ भनिन्छ । तर अध्ययनहरुले भन्छन्- क्यान्सरलाई जित्न पनि सकिन्छ ।

क्यान्सरको सफल उपचारपछि सामान्य जीवन बिताइरहेकाहरु हाम्रै समाजमा धेरै छन् । यही विषयमा क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीसँग अनलाइनखबरकर्मी सुमित्रा लुईटेलले गरेको कुराकानीको सम्पादित अंश :

आयुर्वेदिक औषधिले क्यान्सर निको भयो भनेर सोसल मिडियामा धेरै प्रचार गरेको पाइन्छ आयुर्वेदिक औषधिले साँच्चै क्यान्सर निको हुन्छ ?

यो विषयमा बेलाबेलामा चर्चा चलिरहन्छ । तर मेरो पढाइ आधुनिक चिकित्सा अर्थात् एलोपेथिक मेडिसिन भएको हुनाले आयुर्वेदको बारेमा मलाई एकदमै न्यून ज्ञान छ । आयुर्वेदको औषधि सेवन गरेर क्यान्सर निको भयो भनेर भएका अध्ययन अनुसन्धान पनि त्यति भेटिंदैन ।

एलोपेथिक मेडिसिनमा भने क्यान्सर निको भएका धेरै प्रमाण छन् र धेरै अध्ययन अनुसन्धान पनि भएको छ । हजारौं बिरामीमा अनुसन्धान गरेर क्यान्सरको उपचारमा कुन औषधि कसरी प्रयोग गर्ने भनेर निर्क्योल निकालिएको हुन्छ ।

क्यान्सरको उपचारमा प्रयोग हुने प्रविधि जस्तो शल्यक्रिया, रेडिएसन, किमोथेरापी, इम्युनोथरापी, तारगेटेड थेरापी, हर्मोनल थेरापी सबैको अध्ययन अनुसन्धान भएर कुन प्रविधि सबैभन्दा राम्रो हुन्छ, त्यो नै प्रयोग गरेर उपचार गरिन्छ ।

कुन स्टेजको क्यान्सर हो त्यसले पनि उपचारमा फरक पार्छ । त्यसैले कुन स्टेजको क्यान्सर हो भन्ने ज्ञान पनि हुन जरुरी हुन्छ । स्टेज एक, दुई र तीन हो भने निर्मूल हुनेगरी उपचार गर्न सकिन्छ । स्टेज चारको क्यान्सर हो भने निर्मूल पार्न नसके पनि मधुमेह, बाथ र रक्तचाप जस्ता रोग नियन्त्रणमा राखिए जस्तै भरसक नियन्त्रणमा राख्न खोजिन्छ ।

भारतीय राजनीतिज्ञ एवं टेलिभिजन पर्सनालिटी नवजोत सिंह सिद्धूले आफ्न श्रीमतीको क्यान्सर खानपानले निको भयो भनेर प्रेस मिट नै गरेका छन्खानपानले क्यान्सर निको हुन्छ ?

यो विषय अहिले सोसल मिडियामा धेरै भाइरल भइरहेको छ । त्यसैले यो विषयमा भारतका एक जना चिकित्सकसँग मैले पनि कुरा गरेको थिएँ । उहाँका अनुसार नवजोत सिंह सिद्धूकी श्रीमती आफैं एक चिकित्सक हुन् र उनले क्यान्सरका लागि शल्यक्रिया, किमोथेरापी, रेडियोथेरापी सबै उपचार गरिसक्नुभएको रहेछ ।

क्यान्सरको स्टेज एक, दुई, तीनमा उपचारपछि क्यान्सर सेल सबै हरायो भने निको भयो भनिन्छ । तर स्टेट ४ मा भने उपचारपछि क्यान्सर सेल हरायो भने पनि निको भयो नभनेर ‘रेमिसन’ भनिन्छ ।

उहाँको श्रीमतीको उपचारपछिको समय ‘रेमिसन’ बेलामा सिद्धूकी श्रीमतीलाई जे–जे खानेकुरा खान दिइयो त्यसले लक्षण कम हुँदै गयो । त्यसपछि उनको मनमा यो खानपानका कारण भयो भन्ने परेको हुनसक्छ । त्यसैले उनले खानपानको कारण निको भयो भने ।

जस्तो- कसैलाई टाउको दुखेको छ उसले सिटामोल खाएन कागती पानी खायो र उसको टाउको दुखाइ कम भयो भने कागती पानी खाएर टाउको दुखाइ बिसेक भयो भन्ने लाग्छ नि त्यस्तै भएको हो । सिद्धूकी श्रीमतीको केसमा पनि त्यही भएको हो । खानपानकै कारण रोग निको भएको भन्दा पनि उपचारले हो ।

काँचो बेसार, निम लगायतको सेवनले क्यान्सर निको भयो भन्ने कुरा छ नि ?

आजभन्दा पाँच-छ महिना अगाडि अमेरिकामा पनि एउटा अध्ययन भएको थियो । जसमा मलद्वारको क्यान्सर भएका २० जना बिरामीलाई ‘डोस्टारालोमा’ भन्ने औषधि इम्युनोथरापी दिंदा क्यान्सर पूर्ण निको भयो भनेर प्रचार गरिएको थियो । तर त्यही औषधि धेरै जनामा प्रयोग गर्दा भने निको भएन । त्यस्तै यो खानपानका कारण सबैको क्यान्सर निको हुन्छ भन्ने हुँदैन ।

काँचो बेसार र निम खाएर नै क्यान्सर निको हुन्छ भन्न मिल्दैन । केही सामान्य स्वास्थ्य समस्या त हाम्रो शरीर आफैंले निको पार्छ । लगभग ९५ प्रतिशत समस्या त आफैं निको हुन्छ, पाँच प्रतिशत समस्याका लागि मात्र अन्य उपचारको जरुरी हुन्छ । स्वास्थ्य समस्यामध्ये कुन आफैं निको हुन्छ र कुनलाई उपचार चाहिन्छ भन्ने कुरा छुट्याउन अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्छ ।

उपचार चाहिने समस्यामा पनि खानपान र जीवनशैली सुधारेर निको हुन्छ भनेर बसिन्छ भने समस्या झन् बढ्दै जान्छ । त्यसैले सोसल मिडियाको पछि लाग्नुभन्दा विषेशज्ञ चिकित्सकको सल्लाह लिनुपर्छ ।

नियमित रुपमा व्यायाम गर्ने व्यक्तिलाई क्यान्सरको जोखिम कम हुन्छ ?

नियमित व्यायामले क्यान्सरको जोखिम कम हुन्छ भन्ने कुरा सही हो । हाम्रो जीवनमा हरेक कुराको सन्तुलन हुनुपर्छ । खानपान, आराम र व्यायाम सन्तुलित रुपमा भयो भने क्यान्सर लगायत धेरै दीर्घ रोगको जोखिम कम हुन्छ । दैनिक आधा घण्टादेखि एक घण्टा व्यायाम गरियो, घरमै बनेको ताजा दालभात तरकारी खाने र ६ देखि आठ घण्टा निदाइयो र धुम्रपान मद्यपान गरिएन भने क्यान्सर लगायत विभिन्न स्वास्थ्य समस्याबाट बच्न सकिन्छ ।

अहिले मान्छेहरु घरमा बनेको खानेकुरा भन्दा बाहिरको प्रशोधित खानेकुरा फास्टफुड, जंकफुड खान्छन् । तनावको कारण राम्ररी निदाउँदैनन्, व्यायाम गर्दैनन् त्यसको कारण पछिल्लो समय विभिन्न रोगको जोखिम बढेको छ ।

दबाले रोग निको पार्ने हैन, रोगलाई दबाउने हो भन्ने एउटा भाष्य छ नि ?

दबाई अर्थात् औषधिले रोगलाई दबाउने मात्र हैन निको पार्छ । केही वर्षअघि मात्र पनि हामी कोभिडले त्रसित थियौं । तर कोभिडको खोपका कारण त्यो अहिले सामान्य भएको छ । त्यस्तै सरुवा रोग पोलियो, दादुरा जस्ता समस्या पनि त औषधिको कारण नै कम भएको छ ।

मधुमेह, उच्च रक्तचाप, बाथ र दम जस्ता दीर्घरोग भने पूर्ण रुपमा निको हुन सक्दैन, त्यसैले यस्ता रोगमा भने औषधिले रोग दबाउने अर्थात् नियन्त्रण गर्ने गर्छ । औषधिकै कारणले मान्छेको औसत आयु पनि बढेको छ ।

क्यान्सरको जोखिम कम गर्ने पाँच खानेकुरा, १० खानेकुरा भन्दै चर्चा हुन्छ त्यो के हो ?

क्यान्सरबाट बच्न के गर्ने भन्ने कुरा थाहा पाउनु भन्दा पहिले क्यान्सर के कारणले हुन्छ भन्ने कुरा थाहा हुनुपर्छ । शरीरमा दुई सयभन्दा बढी आकारप्रकारका स–साना कोष तथा कोषिका हुन्छन्, ५० खर्ब जति । यसमध्ये नयाँ बन्ने कोष र कोषिकाहरुको वृद्धिक्रम सामान्य अवस्थामा कोषभित्र रहेको डीएनएले नियन्त्रण गरिरहेको हुन्छ । तर खराब जीवनशैली र बाह्य वातावरणीय प्रतिकूलताका कारण कोष तथा कोषिकाहरुको वृद्धि अनियन्त्रित हुन्छ, तब क्यान्सर हुन्छ ।

यस्तोमा सबैमा एकै कारणले एउटै क्यान्सर हुन्छ भन्ने हुँदैन । त्यसैले यी खानेकुरा खाँदा क्यान्सर हुँदैन भन्ने हुँदैन । उदाहरणका लागि धुम्रपान गर्नेलाई फोक्सोको क्यान्सर हुन्छ भनिन्छ । तर सबै धुम्रपान गर्नेलाई क्यान्सर हुन्छ नै भन्ने छैन ।

त्यसैले क्यान्सरको जोखिम हुने खानेकुरालाई चाहिं कम गर्दै जाने हो । धेरै प्रशोधित खानेकुरा, जंकफुड, फास्टफुड जस्ता खानेकुरा धेरै खाँदा त्यसको प्रतिकूलताका कारण कोष तथा कोषिकाहरुको वृद्धि अनियन्त्रित हुन्छ र क्यान्सरको जोखिम हुन्छ । त्यसैले त्यस्ता खानेकुरा कम खाएर, सन्तुलित खाना खाने,  व्यायाम गर्ने र पर्याप्त आराम गर्ने हो भने क्यान्सरको जोखिम कम हुन्छ ।

चिनीले क्यान्सर सेल बढाउँछ भनिन्छ नि ?

चिनीको सेवनले क्यान्सरको सेल बढाउँछ भनेर कुनै पनि अध्ययन अनुसन्धानले पुष्टि गरेको छैन । जस्तो- चुरोटले फोक्सोको क्यान्सरको जोखिम बढाउँछ, रक्सीले स्तन क्यान्सरको भनेर धेरै अध्ययन अनुसन्धान भएको छ । चिनी खाँदैमा क्यान्सर हुन्छ भनेर पुष्टि भएको छैन । तर मधुमेहको बिरामीलाई प्यान्क्रियाजको क्यान्सर हुने जोखिम हु्न्छ । किनकि सुगरको मात्रा नियन्त्रणमा हुँदैन । यस्तोमा मधुमेह भएको व्यक्तिले धेरै चिनीयुक्त खानेकुरा खाँदा उनीहरुमा भने क्यान्सर लगायत अन्य समस्याको जोखिम हुनसक्छ ।

एन्टिअक्सिडेन्टयुक्त खानेकुराले क्यान्सरको जोखिम हुन्छ भनिन्छ, यो सत्य हो ?

एन्टिअक्सिडेन्टयुक्त खानेकुराको सेवनले क्यान्सरको सम्भावनालाई धेरै हदसम्म कम गर्न सक्छ । एन्टिअक्सिडेन्टले शरीरलाई फ्री रेडिकलले हुने क्षतिबाट बचाउँछ र कोषहरूलाई क्षति हुनबाट रोक्छ । यस्तोमा एन्टिअक्सिडेन्टयुक्त खानेकुरा अमला, अनार, टमाटर लगायत खानेकुरा खानुपर्छ ।

यति वर्ष मात्र बाँच्छ भनेको क्यान्सरको बिरामी त्यो भन्दा धेरै वर्ष बाँचेको उदाहरण पनि छ नि ?

क्यान्सरको समस्यामा व्यक्तिको आयु यति नै हो भनेर तोक्न मिल्दैन । किनकि औषधि, जीवनशैली परिवर्तन, व्यक्तिको मनोबलले उसको रोग कम गर्न सहयोग गर्छ र उसको उमेर लम्बिन्छ । त्यसैले बिरामी यति नै वर्ष बाँच्छ भनेर भन्न मिल्दैन । यसले त बिरामीको मनोबल नै कमजोर बनाउँछ ।

व्यायामले क्यान्सर निको हुन्छ भनेर योगगुरुहरुले भन्छन् नि यसमा चाहिं कति सत्यता छ ?

एलोपेथिक मेडिसिनमा कुनै चिकित्सकले औषधि दिंदा त्यसले कसरी काम गर्छ, कति मात्रामा दिने, के साइड-इफेक्ट हुन्छ, सबै कुराको अध्ययन अनुसन्धान गरेका हुन्छन् । तर योगगुरुहरुले जे जति कुरा भन्छन्, ती कुराको कुनै वैज्ञानिक आधार हुँदैन ।

चिकित्सकले गरेको उपचार ठीक छ कि छैन भनेर नियमन गर्ने विभिन्न निकाय छन् । तर बाबाहरुले भनेको व्यायाम ठीक हो कि होइन भन्ने नियमन गरिएको हुँदैन । त्यसैले वैज्ञानिक आधार भएको उपचार गर्नु राम्रो हो । रोग लाग्नै नदिन व्यायाम गर्नु ठीक हो । तर रोग लागिसकेपछि भने उपचार नै गर्नुपर्छ ।

उपचारसँगै स्वस्थ खानपान र जवनशैली परिवर्तनले क्यान्सरको समस्या छिटो निको हुन्छ ?

क्यान्सरका बिरामीले औषधिले राम्ररी काम गरोस् भनेर सोच्छन् भने औषधिसँगै खानपान र जीवनशैली परिवर्तन गर्नुपर्छ । क्यान्सर गराउन सक्ने सम्भावित पक्ष जस्तै, धुम्रपान तथा मद्यपान नगर्ने,  सडेगलेका, प्रशोधित खानेकुरा, जंकफुड नखाने, घरमै पाकेको ताजा दाल भात तरकारी खाने, शारीरिक रुपमा सक्रिय रहने । नियमित व्यायाम, योग, प्राणायाम गर्ने र तनाव नलिने, सकारात्मक, ऊर्जावान् रहेर क्यान्सरसँग लड्न सकिन्छ ।

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

क्यान्सर डा. अरुण शाही स्वास्थ्य

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय