+

घातक इबोला भाइरसको पुनरागमन : नेपालमा जोखिम कति ?

२०८३ जेठ  ५ गते ११:३० २०८३ जेठ ५ गते ११:३०

विज्ञहरूका अनुसार इबोला अत्यन्त घातक भए पनि समयमै पहिचान, आइसोलेसन र निगरानीमार्फत नियन्त्रण गर्न सकिने रोग हो ।

घातक इबोला भाइरसको पुनरागमन : नेपालमा जोखिम कति ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्व स्वास्थ्य संगठनले अफ्रिकी मुलुक कंगोमा फैलिरहेको बुन्डीबुग्यो इबोला भाइरसका कारण सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ।
  • संक्रमण शरीरका तरल पदार्थबाट फैलिने भएकाले नेपालमा तत्काल जोखिम कम भए पनि सतर्कता र तयारी आवश्यक रहेको विशेषज्ञहरूले बताएका छन्।

हालै अफ्रिकी मुलुक कंगोमा बुन्डीबुग्यो इबोला भाइरस तीव्र गतिमा फैलिरहेको छ । यो भाइरस छिमेकी देश युगान्डामा पनि पुगिसकेको छ । यसको असाधारण तथा तीव्र फैलावटले अन्य देशहरूलाई प्रभावित पार्न सक्ने जोखिम देखिएपछि विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

यो घोषणासँगै विश्वभर फेरि एक पटक इबोलाको त्रास बढेको छ । सन् २०१४–१५ मा पश्चिम अफ्रिकामा फैलिएको इबोला महामारीले हजारौं मानिसको ज्यान लिएको थियो । अहिले देखिएको बुन्डीबुग्यो प्रजातिलाई पनि उत्तिकै गम्भीर रूपमा हेरिएको छ ।

विशेषज्ञहरूका अनुसार यो भाइरस अत्यन्त घातक भए पनि कोभिड–१९ जस्तो हावाबाट सर्ने रोग भने होइन । तर संक्रमित व्यक्तिको शरीरका तरल पदार्थसँग सम्पर्कमा आउँदा छिट्टै फैलिन सक्ने भएकाले सतर्कता अत्यन्त आवश्यक हुन्छ । नेपालमा अहिले तत्काल उच्च जोखिम नरहे पनि विश्वव्यापी यात्रा र आवतजावतका कारण पूर्ण रूपमा सुरक्षित भने भन्न नसकिने विज्ञहरू बताउँछन् ।

संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार बुन्डीबुग्यो इबोला भाइरस इबोलाका मुख्य प्रजातिमध्ये एक हो । विगतमा यसको प्रकोप धेरै पटक नदेखिए पनि यो अत्यन्त खतरनाक मानिन्छ ।

उनका अनुसार विगतका अध्ययनले यसको मृत्युदर औसत ४० प्रतिशत हाराहारी देखाएको छ । समग्र इबोलाको मृत्युदर करिब ५० प्रतिशतसम्म पुग्ने गरेको छ ।

डा‍‍. पुनका अनुसार यो भाइरसको सुरुआती लक्षण सामान्य ज्वरो, टाइफाइड वा मलेरियासँग मिल्दोजुल्दो हुन्छ । ज्वरो आउने, शरीर दुख्ने, अत्यधिक थकान महसुस हुने, घाँटी दुख्ने, कमजोरी बढ्ने जस्ता लक्षण सुरुमा देखिन्छन् । पछि गएर रक्तस्रावसम्बन्धी गम्भीर समस्या पनि देखिन सक्छ ।

इबोला संक्रमणको सबैभन्दा खतरनाक पक्ष भनेको यसको उच्च संक्रामकता रहेको उनी बताउँछन् । यद्यपि यो हावाबाट फैलिँदैन । संक्रमित व्यक्तिको शरीरका तरल पदार्थसँग प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्क हुँदा संक्रमण सर्ने गर्छ । रगत, वान्ता, पिसाब, दिसा, थुक, पसिना वा वीर्यजस्ता शरीरका तरल पदार्थबाट भाइरस सजिलै सर्न सक्छ ।

संक्रमित व्यक्तिले प्रयोग गरेका सामग्रीबाट समेत संक्रमण फैलिन सक्छ । संक्रमित जनावर, विशेषगरी चमेरोबाट मानिसमा भाइरस सर्न सक्ने विश्वास रहेको डा. पुन बताउँछन् ।

लक्षण देखिएपछि मात्र संक्रमित व्यक्तिले अरूलाई सार्ने हुन्छ । त्यसैले समयमै पहिचान र आइसोलेसन गर्न सकियो भने संक्रमण नियन्त्रण सम्भव हुन्छ ।

नेपालमा अहिले त्यसको प्रत्यक्ष जोखिम कम भए पनि जोखिम शून्य नै छ भन्ने अवस्थामा नरहेको डा. पुनको भनाइ छ । उनका अनुसार अफ्रिकी देशहरूबाट नेपालीहरूको आवतजावत बढ्दो क्रममा छ । पर्यटकको संख्या पनि बढिरहेको छ । यस्तो अवस्थामा संक्रमण कुनै पनि समयमा नेपालसम्म आइपुग्न सक्ने सम्भावना रहन्छ ।

‘मंकीपक्स अफ्रिकाबाट नेपालसम्म पुगेको उदाहरण हामीसँग छ’ उनी भन्छन्, ‘त्यसैले इबोलालाई पनि हल्का रूपमा लिन मिल्दैन । हाम्रो देशमा सरसफाइ, निगरानी र स्वास्थ्य तयारीको अवस्था अझै कमजोर भएकाले दीर्घकालीन तयारी आवश्यक छ ।’

अहिले नेपाल उच्च जोखिममा नरहेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारी बताउँछन् । प्रभावित अफ्रिकी क्षेत्रसँग नेपालको प्रत्यक्ष आवतजावत सीमित रहेको उनको भनाइ छ ।

‘मुख्य रूपमा शान्ति मिसनमा जाने नेपाली सुरक्षाकर्मीहरू ती क्षेत्रमा पुग्ने गरेका छन्,’ डा. अधिकारी भन्छन्, ‘तर विश्व अहिले ग्लोबल भिलेज बनिसकेको छ । त्यसैले कुनै पनि देशको संक्रमण अर्को देशमा पुग्न समय लाग्दैन ।’

डा. अधिकारीका अनुसार सरकारले अहिले नै विभिन्न तयारी अघि बढाइसकेको छ । स्वास्थ्य मन्त्रालयले केन्द्रीय स्तरमा निगरानी संयन्त्र सक्रिय बनाएको छ भने प्रयोगशालाहरूलाई परीक्षणका लागि तयारी अवस्थामा राखिएको छ ।

उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ज्वरो स्क्रिनिङ र स्वास्थ्य जाँचको व्यवस्था गरिएको छ । लक्षण देखिएका व्यक्तिलाई तुरुन्त आइसोलेसनमा राख्ने प्रणाली बनाइएको छ ।

‘द्रुत प्रतिकारक टोली तयारी अवस्थामा छन्,’ डा. अधिकारी भन्छन्, ‘विश्व स्वास्थ्य संगठन तथा अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावलीअनुसार अन्य देशसँग पनि समन्वय भइरहेको छ । अफ्रिकाबाट फर्किने सुरक्षाकर्मीहरूका लागि कडा स्वास्थ्य प्रोटोकल लागू गरिएको छ ।’

उनका अनुसार अहिले सर्वसाधारण डराउनुपर्ने अवस्था भने छैन । तर सतर्कता भने आवश्यक छ ।

संक्रामक रोग विशेषज्ञ अनुप सुवेदीका अनुसार अहिले देखिएको बुन्डीबुग्यो प्रजातिको अर्को चुनौती भनेको यसको पूर्ण रूपमा प्रभावकारी र स्वीकृत खोप वा विशेष औषधि उपलब्ध नहुनु हो । यही कारण अहिलेको प्रकोपलाई विश्व स्वास्थ्य संगठनले गम्भीर रूपमा लिएको सुवेदी बताउँछन् ।

‘इबोला अत्यन्त घातक रोग हो’ उनी भन्छन्, ‘तर यो कोभिडजस्तो हावाबाट फैलिने रोग होइन । संक्रमित व्यक्तिको शरीरका तरल पदार्थसँग प्रत्यक्ष सम्पर्क भएपछि मात्र संक्रमण सर्छ । यही कारण समयमै पहिचान, निगरानी र आइसोलेसन गर्न सकियो भने नियन्त्रण गर्न सकिन्छ ।’

डा. सुवेदीका अनुसार सन् २०१४–१५ को ठूलो प्रकोपपछि पनि इबोलाका साना–साना संक्रमणहरू पटक–पटक देखिँदै आएका छन् । तर यो अहिलेसम्म विश्वव्यापी महामारीका रूपमा नफैलिनुको कारण हावाबाट नसर्ने यसको गुण हो ।

नेपालमा अहिले ठूलो महामारीको जोखिम कम भए पनि अप्रत्यक्ष रूपमा संक्रमित व्यक्ति अन्य देश हुँदै नेपाल आउन सक्ने सम्भावना भने रहने डा. सुवेदी बताउँछन् ।

‘केही महिनासम्म विश्वभर सतर्कता र तनावको अवस्था रहन सक्छ,’ सुवेदी भन्छन्, ‘तर अहिले आत्तिनुभन्दा तयारी र सचेतना महत्वपूर्ण हो ।’

विशेषज्ञहरूका अनुसार सर्वसाधारणले अहिले सामान्य स्वास्थ्य सावधानी अपनाउन आवश्यक छ । प्रभावित क्षेत्रबाट आएका व्यक्तिमा ज्वरो वा अन्य लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्थामा जानकारी दिनुपर्छ । संक्रमित व्यक्तिको शरीरका तरल पदार्थसँग सम्पर्कबाट बच्नुपर्छ । नियमित हात धुने, व्यक्तिगत सरसफाइ कायम गर्ने र आधिकारिक सूचनामा मात्र विश्वास गर्नुपर्ने उनीहरूको सुझाव छ ।

विज्ञहरूका अनुसार इबोला अत्यन्त घातक भए पनि समयमै पहिचान, आइसोलेसन र निगरानीमार्फत नियन्त्रण गर्न सकिने रोग हो । नेपाल अहिले उच्च जोखिममा नरहे पनि स्वास्थ्य प्रणाली, निगरानी क्षमता र जनचेतनालाई बलियो बनाउनु अत्यन्त आवश्यक देखिएको छ ।

अहिलेको अवस्थामा डरभन्दा बढी आवश्यक कुरा सतर्कता, तयारी र सही सूचना भएको चिकित्सकहरूको निष्कर्ष छ ।

अफ्रिका इबोला भाइरस
लेखक
सुमित्रा लुइटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय