+

खानपानले चौथो चरणको क्यान्सर पनि निको हुन्छ ?

२०८१ मंसिर  १४ गते १३:५७ २०८१ मंसिर १४ गते १३:५७
खानपानले चौथो चरणको क्यान्सर पनि निको हुन्छ ?

भारतीय राजनीतिज्ञ, टेलिभिजन पर्सनालिटी तथा पूर्वक्रिकेटर नवजोत सिंह सिद्धूले केही दिनअघि आफ्नी पत्नी नवजोत कौर सिद्धू क्यान्सरमुक्त भएको घोषणा गरेका थिए । पञ्जाब, अमृतसरस्थित आफ्नो निवासमा आयोजित पत्रकार सम्मेलनमा सिद्धूले श्रीमतीले आफ्नो आहारमा केही कुरा समावेश गरेर चौथो चरणको क्यान्सरलाई जितेको जनाएका थिए ।

सिद्धूले आफ्नी श्रीमतीको आहारमा कागती पानी, काँचो बेसार, स्याउको सिरका, निमको पात, तुलसी, फर्सी, अनार, अमला, चुकन्दर र ओखर जस्ता चीज समावेश गरेकाले उनी स्वस्थ भएको बताएका थिए । उनले भनेका यी कुरा अहिले सोसल मिडियामा भाइरल छ । नेपालमा पनि यो विषयमा चर्चा भइरहेको छ । यस्तोमा खानपानको सहयोगले साँच्चै क्यान्सर निको हुन्छ त भन्ने प्रश्न उठ्छ ।

यस विषयमा पाटन अस्पतालका क्यान्सररोग विशेषज्ञ डा. अरुण शाही भन्छन्, ‘यो विषय अहिले सोसल मिडियामा धेरै भाइरल भइरहेको छ । त्यसैले यो विषयमा भारतका एक जना चिकित्सकसँग मैले पनि कुरा गरेको थिएँ । उहाँका अनुसार नवजोत सिंह सिद्धूको श्रीमती आफैं एक चिकित्सक हुन् र उनले क्यान्सरका लागि शल्यक्रिया, किमोथेरापी, रेडियोथेरापी सबै उपचार गरिसक्नुभएको रहेछ ।’

उपचारपछिको समय ‘रेमिसन’ क्यान्सर अझै पनि शरीरमा हुनसक्छ वा केही लक्षण हुनसक्छ । किमोथेरापीको केही साइड-इफेक्ट देखिएको बेलामा सिद्धूकी श्रीमतीलाई जे-जे खानेकुरा खान दिइयो त्यसले लक्षण कम हुँदै गयो । त्यसपछि उनको मनमा यो खानपानका कारण भयो भन्ने परेको हुनसक्छ । त्यसैले उनले खानपानको कारण निको भयो भने । तर क्यान्सर निको पार्न सही उपचार र खानपान दुवैको भूमिका हुन्छ ।

बेसार, स्याउ, निमको पातले क्यान्सर निको हुन्छ कि हुँदैन भन्ने कुरा अनुसन्धानको विषय हो । तर काँचो बेसार, स्याउ र ओखरमा भएको फाइटोकेमिकल्सले क्यान्सरसँग लड्न मदत गर्ने पोषणविद् भूपाल बानियाँ बताउँछन् ।

बेसारमा भएको फाइटोकेमिकल्सले क्यान्सरलाई पूर्ण रुपमा निको पार्छ भन्दा पनि क्यान्सरसँग लड्न भने सहयोग गर्छ भन्न सकिने बानियाँ बताउँछन् ।

भारतको टाटा मेमोरियल अस्पतालका क्यान्सर विशेषज्ञ चिकित्सकहरूले यो दाबीसँग असहमति जनाएका छन् । उनले एक पत्र जारी गर्दै यी भनाइलाई समर्थन गर्ने कुनै वैज्ञानिक प्रमाण नभएको बताए ।

नवजोत सिंह सिद्धुको दाबीपछि प्रश्न उठ्यो- काँचो बेसार, कागती पानी र निमको पातले क्यान्सर निको हुन्छ ?

टाटा मेमोरियल अस्पतालका क्यान्सर विशेषज्ञहरुका अनुसार यो प्रश्नको उत्तर ‘हुँदैन’ नै हो । यी चिकित्सकहरुले विज्ञप्ति जारी गरे । विज्ञप्तिमा उल्लेख छ, ‘सोसल मिडियामा एउटा भिडियो भाइरल भइरहेको छ । यसमा एक पूर्वक्रिकेटरले आफ्नी श्रीमतीको क्यान्सरको उपचारको बारेमा कुरा गरिरहेका छन् । भिडियोमा उहाँले बेसार र निमको प्रयोगले श्रीमतीको क्यान्सर निको पार्न मद्दत गर्‍यो भनेर भन्नुभएको छ । यसलाई समर्थन गर्ने कुनै वैज्ञानिक प्रमाण छैन ।’

अप्रमाणित उपचार पद्धति नपछ्याउन र आफ्नो उपचारमा ढिलाइ नगर्न उनीहरुले अपील समेत गरेका छन् । शरीरमा क्यान्सरको कुनै लक्षण देखिएमा डाक्टरसँग परामर्श लिइहाल्न उनीहरुको आग्रह छ ।

नवजोत सिंह सिद्धूकी श्रीमती नवजोत कौर सिद्धू डाक्टर हुन् । उनले पञ्जाब स्वास्थ्य विभागमा काम गरेकी छिन् । भारतकी अर्की क्यान्सर विशेषज्ञ डा. कनुप्रिया भाटिया पन्जाबको लुधियानाको मोहन दाइ ओसवाल अस्पतालमा मेडिकल अन्कोलोजिस्टको रूपमा काम गरिरहेकी छिन् ।

उनी भन्छिन्, ‘मेरो क्लिनिकमा आउनेमा कम्तीमा ३०–४० प्रतिशत मानिस लामो समयदेखि क्यान्सरबाट पीडित छन्, तर उपचारका लागि जडीबुटीमा निर्भर छन् ।’

उनी अगाडि भन्छिन्, ‘आज पनि देशको ठूलो वर्ग शिक्षित नभएका कारण बिरामीले चिकित्सकको सल्लाहको सट्टा जडीबुटीको सहारा लिने गरेका छन् । उनीहरू सामाजिक सञ्जालमा देखेका कुरामा विश्वास गर्छन् र आफैं उपचार गर्ने प्रयास गर्छन् । यो धेरै हानिकारक हुनसक्छ । सही समयमा उपचार भएमा क्यान्सर निको हुन्छ ।’

कसैको शरीरमा क्यान्सरको लक्षण देखिएमा तुरुन्तै डाक्टरसँग परामर्श लिन उनी सुझाउँछिन् । सामाजिक सञ्जालमा देखेपछि खानपिन बदल्न थालियो र घरेलु उपचार गर्न थालियो भने समस्या झन् बढ्न सक्छ । सही समयमा डाक्टरको सल्लाह नपाउँदा र उपचार सुरु नगर्दा क्यान्सर यस्तो चरणमा पुग्छ जहाँ उपचार गर्न नै गाह्रो हुने उनी बताउँछिन् ।

खाने बानीबारे के भन्छन् डाक्टर ?

खानपान र जीवनशैली परिवर्तन गरेर मात्र क्यान्सर निको नहुने चिकित्सकहरु बताउँछन् । तर उचित खाने बानी क्यान्सर उपचारको एक महत्वपूर्ण भाग अवश्य हो ।

डा. जसबीर औलख पञ्जाब स्वास्थ्य विभागका उपनिर्देशक हुन् । उनी भन्छन्, ‘हाम्रो खाने बानी एकदमै खराब भएको छ । भिडियोमा उल्लेख गरिएका कुराहरू गलत होइनन्, तर केही वर्ष फर्केर हेर्दा हामीले यी चीजहरू सामान्य रूपमा खान्थ्यौं ।’

उनी अगाडि भन्छन्, ‘पहिलेका जमानामा मानिसहरूले सूर्यास्तपछि खाना खाँदैनथे र बिहान १० बजेतिर पहिलो खाना खान्थे, जसलाई अहिले अन्तरिम उपवास भनिन्छ । यी सबै चीज स्वास्थ्यका लागि राम्रो हुन्छ । तर यसले क्यान्सर निको हुन्छ भन्नु चाहिं गलत हुन्छ ।’

डा. कनुप्रिया भाटिया पाँच प्रतिशतभन्दा कममा मात्रै क्यान्सरको कारण पत्ता लगाउन सकिने बताउँछिन् । ‘क्यान्सरको कारण सामान्यतया थाहा हुँदैन । यी सबै चीज स्वास्थ्यका लागि राम्रो छन् । तर यसले क्यान्सर निको हुन्छ भन्नु गलत हुनेछ’ उनी भन्छिन् ।

डा. कनुप्रियाका अनुसार ‘क्यान्सरको उपचारको मात्रै कुरा गर्ने हो भने यसलाई चार भागमा बाँडिएको छ । पहिलो शल्यक्रिया, दोस्रो केमोथेरापी, तेस्रो विकिरण र चौथो इम्युनोथेरापी हो । चारै चरणको उपचारको मेरुदण्ड भनेको राम्रो खाने बानी पनि भएको उनी बताउँछिन् ।

उनी भन्छिन्, ‘तर यो आहार विशेषज्ञ वा क्यान्सर विशेषज्ञले मात्र दिनुपर्छ भन्ने कुरा महत्त्वपूर्ण छ ।  अन्कोलोजी पढ्दा हामीलाई उपचारमा आवश्यक राम्रो आहारको बारेमा सिकाइन्छ । त्यसैले सामाजिक सञ्जालमा आउने जानकारीबाट बिरामीलाई प्रभावित नगर्न अपील गर्छु । आफैं केही पनि खान र पिउन सुरु नगर्नुहोस् । यो हानिकारक हुन सक्छ ।’

बीबीसीको सहयोगमा

क्यान्सर खानपान नवजोत सिंह सिद्धू

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय