Comments Add Comment

मुसहर बस्ती बनाउन धुर्मुस-सुन्तलीलाई अष्ट्रेलियाबाट ६५ लाख सहयोग

नेपाल फर्किनु अघि सुन्तलीले भनिन्- नसोचेको सहयोग पाइयो

७ फेब्रुअरी, सिड्नी । मुसहर बस्ती निर्माणका लागि सहयोग जुटाउने उद्देश्यले करिब तीन हप्ता लामो अष्ट्रेलिया भ्रमण पूरा गरी सिताराम कट्टेल र कुन्जना घिमिरे (धुर्मुस-सुन्तली) मंगलबार नेपाल फर्किएका छन् । अष्ट्रेलियाबासीले उनीहरुलाई झण्डै ६५ लाख नेपाली रुपैयाँ सहयोग गरेका छन् ।

सो रकम महोत्तरीको मुसहर बस्ती निर्माणमा खर्च गरिने धुर्मुस-सुन्तली फाउण्डेसनले जनाएको छ ।

फेसबुक लाइभ मार्फत् धन्यवाद ज्ञापन

नेपाल फर्किने क्रममा सिड्नीको समय अनुसार दिउँसो साढे एक बजे धुर्मुस-सुन्तली फाउण्डेसनको फेसबुक लाइभमार्फत् आफ्ना हजारौं समर्थकहरुलाई अष्ट्रेलिया भ्रमण सफल पार्न सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए ।

अष्ट्रेलियाबाट करिब ८२ हजार अष्ट्रेलियन डलर (करिब ६५ लाख नेपाली रुपैयाँ) जुटेको उनीहरुले जानकारी दिए ।

जसमध्ये जनवरी २१ मा सिड्नीमा भएको कार्यक्रमबाट झण्डै २५ हजार अष्ट्रेलियन डलर, जनवरी २६ मा एडिलेडमा भएको कार्यक्रमबाट १५ हजार अष्ट्रेलियन डलर, जनवरी २९ मा मेलवर्नमा भएको कार्यक्रमबाट २३ हजार अष्ट्रेलियन डलर, फेब्रुअरी ४ मा बि्रसवेनमा भएको कार्यक्रमबाट १९ हजार अष्ट्रेलियन डलर, बन्डावर्गमा भएको कार्यक्रमबाट ५ हजार अष्ट्रेलियन डलर सहयोग रकम प्राप्त भएको थियो ।

पर्थका बालबालिकाले पनि उठाए रकम

पर्थ शहरमा धुर्मुस-सुन्तली पुग्न नपाए पनि त्यहाँ रहेका नेपाली बालबालिकाहरुले स्वतस्फूर्त रुपमा सहयोग रकम संकलन गरेका थिए । पर्थमा मेरीगोल्ड किड्स क्लबले धुर्मुस-सुन्तली फाउण्डेसनलाई सहयोगार्थ फेब्रुअरी ५ तारिखमा रात्रीभोज आयोजना गरेको थियो । सो कार्यक्रममा एक हजार पाँच सय अष्ट्रेलियन डलर संकलन भएको क्लबका विष्णुकुमार श्रेष्ठले जानकारी दिए ।

सिड्नी विमानस्थलमा अनलाइनखबरसँग कुरा गर्दै सिताराम कट्टेल (धुर्मुस)ले भने, ‘हामी अष्ट्रेलिया भ्रमणबाट अत्यन्तै खुसी छौं । मुसहर बस्ती निर्माणमा सहयोगका लागि सम्पूर्ण अष्ट्रेलियाबासी नेपालीहरुप्रति हार्दिक आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्दछौं ।’

धुर्मुस-सुन्तली फाउण्डेसनले तेस्रो एकीकृत वस्ती निर्माणको क्रममा महोत्तरीमा मुसहर बस्ती निर्माण सुरु गरेको थियो । गत पुस २५ गतेबाट सुरु भएको मुसहर बस्ती निर्माणको काम आज ठीक एक महिना पुगेको छ । तर, काम पूरा गर्नका लागि अझै रकम अभाव रहेकाले निरन्तर सहयोग गर्न कट्टेलले आग्रह गरे । मुसहर बस्तीबाटै आफू संसारभरका नेपालीहरुसम्म पुग्ने जानकारी उनले दिए ।

सबैभन्दा रोमाञ्चक ग्रेट ओसियन रोडको यात्राः कुन्जना

सहयात्रामा कुन्जना घिमिरे (सुन्तली)ले अष्ट्रेलियाका शहरहरुमा यो अभियानमा साथ दिने सबैप्रति आभारी रहेको बिचार व्यक्त गरिन् । उनले भनिन्, ‘अष्ट्रेलिया बसाईको क्रममा नसोचेको सहयोग पाइयो । हरेक स्थानमा भएका कार्यक्रमको फोटाहरु खिचेका छौं ।’

ग्रेट ओसियन रोडको यात्रा आफूलाई निकै रमाइलो लागेको उनले बताइन् ।

धुर्मुस-सुन्तलीको कार्यक्रममा कलाकारहरु भरत सिटौला, दीपक आचार्य र अष्ट्रेलियाको चर्चित डान्स ग्रुप ‘द नेक्स्ट’ले साथ दिएका थिए ।

धुर्मुस-सुन्तलीसँगै अष्ट्रेलिया आएका कलाकार दीपक आचार्यले आफूहरुसँग भेट्न चाहँदा चाहँदै पनि नभ्याएकाहरुलाई अष्ट्रेलियाका आयोजकहरुसँग सम्पर्कमा रहन अनुरोध गरे ।

यसैगरी अर्का कलाकार भरत सिटौलाले धुर्मुस-सुन्तलीसँग सामाजिक कामका लागि हातेमालो गर्न पाएकोमा खुसी व्यक्त गरे । ‘मेरो यो पहिलो अष्ट्रेलिया भ्रमण हो । त्यसमा पनि धुर्मुस-सुन्तली फाउण्डेसनको पवित्र कामको लागि सहयात्रा गर्न पाएँ । म अत्यन्त खुसी छु,’ सिटौलाले अनलाइनखबरसँग भने, ‘यहाँ मेरा गीतहरु पनि राम्रो चल्दो रहेछ ।’

अष्ट्रेलियामा धुर्मुस-सुन्तलीको टोलीलाई ‘गजबको इभेन्ट्स’ले निमन्त्रणा गरेको थियो । गजबको इभेन्ट्सका प्रदीप चापागाईं, सन्दिप अधिकारी र रोशन आचार्यले धुर्मुस-सुन्तली फाउन्डेसनलाई अष्ट्रेलियाबाट सहयोग निरन्तर रहने बताए ।

सहयोग जुटाउन एडिलेडमा खटेका दीपक लामा, अशोक केसी, मेलवर्नमा खटेका कृष्ण न्यौपाने, बन्डावर्गमा खटेका प्रणय गुरुङ, वि्रसवेनमा खटेका मेरो इभेन्ट्सका सुन्दर क्षेत्रीले सहयोग गरेका थिए ।

अष्ट्रेलियामा रहेका भुटानीहरुले पनि धुर्मुस-सुन्तली फाउन्डेसनलाई सहयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment