Comments Add Comment

राजतन्त्रको एजेन्डामा नयाँ शक्ति जन्मिँदै, दर्शन रौनियारदेखि मोहनचन्द्रसम्म संलग्न

कमल थापाको प्रतिद्वन्द्वी केशरबहादुरले खोले 'राष्ट्रवादी' शक्ति

२६ माघ, काठमाडौं । राप्रपा नेपालबाट अलग्गिएका नेता केशरबहादुर विष्टको नेतृत्वमा ‘सेरेमोनियल राजतन्त्र’ सहितको एजेन्डा लिएर नयाँ राजनीतिक शक्ति निर्माण हुने भएको छ । अमेरिकामा राजनीति गरेर फर्केका दर्शन रौनियारदेखि १७ वर्ष जेलजीवन बिताएका एमाले नेता मोहनचन्द्र अधिकारीसम्म यो राजावादी शक्तिमा जोडिँदैछन् ।

‘एकीकृत राष्ट्रवादी शक्ति निर्माण अभियान’ नाम दिइएको राजनीतिक शक्तिको औपचारिक घोेषणा भोलि (बिहीबार) नयाँ बानेश्वरबाट हुनेछ । यसलाई सुरुमा अभियानका रुपमा अघि बढाएर पछि पार्टीको रुप दिइने संयोजक विष्टले अनलाइनखबरलाई बताए ।

वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाउने दाबी गरिएको यस अभियानले तीनवटा एजेन्डा बोकेको छ । विष्टका अनुसार तीन एजेन्डामा सेरेमोनिनयल राजतन्त्र पुनस्र्थापना हुनुपर्ने, संघीयता खारेज गरिनुपर्ने र हिन्दू राष्ट्र कायम हुनुपर्ने रहेका छन् ।

आफू आवद्ध रहेको कमल थापा नेतृत्वको राप्रपा नेपालले यी एजेन्डाहरुलाई कुल्चेर हिँडेकाले नयाँ शक्ति निर्माण गर्नुपरेको विष्टले बताए ।

राजतन्त्रबाहेकका मुद्दामा सहमत छु : रौनियार

अमेरिकाबाट फर्केर नेपालमा राजनीति गर्न तम्सिएका दर्शन रौनियारले सेरेमोनियल राजतन्त्र बाहेकका मुद्दामा यस अभियानसँग आफ्नो मत मिलेको बताए । संघीयता खारेजी र हिन्दू राज्य कायम गर्नुपर्ने मुद्दामा आफू सहमत भएको, तर सेरेमोनियल राजतन्त्रका विषयमा कुरा मिल्न बाँकी रहेको रौनियारको भनाइ छ ।

‘राजतन्त्रका विषयलाई जनमत संग्रहबाट टुंगो लगाउनुपर्छ भन्नेमा म ओपन छु,’ रौनियारले अनलाइनखबरसँग भने, ‘यस विषयमा हामी छलफलमै छौं ।’

रौनियारले ‘मुभमेन्ट फर चेन्ज’ का नाममा बेग्लै अभियान पनि चलाइरहेका छन् । पछि गएर दुवै अभियानलाई समायोजन गरी पार्टीको रुप दिने योजना रहेको उनले सुनाए ।

‘अहिलेलाई उहाँ (केशरबहादुर)हरुको अभियानमा म सामेल हुन्छु, र मेरो अभियानमा उहाँहरु सामेल हुनुहुन्छ,’ रौनियारले भने, ‘पछि गएर हामी एक हुनेछौं ।’

आफूसँग एउटा विकसित मुलुकमा गएर राजनीति गरेर नेपाल र नेपालको इज्जत बढाएको अनुभव रहेको दाबी गर्दै रौनियारले भने- ‘अब म यो अनुभवलाई आफ्नो देशभित्र सदुपयोग गर्न चाहन्छु ।’

आगामी ०७४ साल माघ ७ गतेदेखि संसदको म्याद सकिने भन्दै रौनियार त्यसको एक घण्टा पनि म्याद थप्न नदिने कुरालाई आफूहरुको अभियानले प्रमुखता दिएको बताए ।

अभियानका संयोजक विष्टले आफ्नो अभियानमा ५/७ वटा पार्टीहरु सहभागी भइसकेको र विहीबारको कार्यक्रमबाट थप दलहरु सहभागी हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment