+
+

कानेगुजी बारेका केही भ्रम र यथार्थ

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ २८ गते ११:०५

कानमा जम्ने कानेगुजीलाई निकै फोहोर चिज मानिन्छ । कानेगुजी किन जम्छ ? कानेगुजी जम्मा हुन नदिन के गर्ने ? कानेगुजी कसरी निकाल्ने ? भन्ने बारेमा विभिन्न खालका मान्यताहरु रहेका छन् । कानेगुजीका बारेमा रहेका केही भ्रम र त्यसको यथार्थ यस्तो छ:

भ्रम: कानमा कानेगुजी हुनै हुँदैन । यो हानीकारक हुन्छ ।

यथार्थ:  कानेगुजी कानमा आफैं उत्पादन हुन्छ र यसका कैयन् फाइदाहरु समेत हुन्छ । यसले धुलो तथा अनय बाह्य पदार्थ र किटाणुहरुलाई समेत आफूमा समायोजित गर्दछ र कानभित्रको संवेदनशील क्षेत्रमा जान दिँदैन । कानेगुजीमा कानमा संक्रमण हुनबाट जोगाउँदछ ।

भ्रम: दिनहुँ कान सफा गर्नुपर्दछ ।

यथार्थ: कानको कानेगुजी आफैं बाहिर निस्किन्छ । कहिलेकाहीँ कानको प्वाल सानो तथा टेढो हुनुका कारणले मात्र कानेगुजी ठूलो परिमाणमा भित्र जमिरहने हो । कानभित्र पानी पस्दा कानेगुजी फुल्छ र व्यक्तिलाई असहज महसुस हुन्छ । यस्तोमा विशेषज्ञ चिकित्सककोमा जानुपर्छ ।  त्यसैले दिनहुँ कानेगुजी सफा गर्न आवश्यक छैन । कानेगुजी निकाल्नका लागि कानभित्र कुनै तिखो बस्तु पसाल्नुको साटो कानको बाहिर सतहको छालामा भिजेको कपडाले हल्का सफा गर्नुपर्दछ ।

भ्रम: इयरबडले कान सफा गर्नु सुरक्षित र प्रभावकारी हुन्छ ।

यथार्थ: इयरबड होस् वा अन्य वस्तु जे सुकैले कानेगुजी निकाल्नुस्, त्यसले केवल बाहिरी सतहबाट मात्रै कानेगुजी निकाल्न सक्दछ । यसरी लगातार इयरबडले कानेगुजी निकाल्ने प्रयास गर्दा केही कानेगुजी उल्टै कानको भित्री भागतर्फ ठेलिन्छ । जसका कारण कानको जालीको नजिकै गएर कानेगुजी जम्मा हुन थाल्दछ । यसले कानको जालीमा संक्रमण हुने तथा चोट पुग्ने खतरा हुन्छ ।

भ्रम: तातो तेल कानमा हाल्नु फाइदाजनक हुन्छ ।

यथार्थ: कान दुखेको बेला, टिनिन्न गरेको बेला कानमा तातो तेल हाल्ने चलन छ । यसो गर्दा उल्टै कानमा ढुसीको संक्रमण तथा अन्य समस्या पैदा हुनसक्दछ ।

कानको सुरक्षाका लागि

रुघाखोकीलाई बेवास्ता नगर्नुस् । लामो समयसम्म रुघाखोकी रहनाले कानको जाली तथा कानको हड्डीसम्बन्धी रोगको समस्या हुन्छ । नाक बन्द रहँदा वा रुघा लाग्दा नाक र कानको बीचमा हुने युस्टेचियन ट्युबमा असर पुग्न सक्दछ । जसका कारण उक्त नलीमा संक्रमण हुन सक्दछ । कानभित्र पानी छिर्न नदिनुहोस् । नुहाउने बेलामा कानमा तेल वा भ्यासलिन चोपेको कपास लगाउन सकिन्छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?