+
+
Shares
कभर स्टोरी :

संकटमा भैंसीपालन : दश वर्षमा अढाइ लाख परिवारले पाल्न छाडे

बढ्दो शहरीकरण, फेरिएका गाउँबस्ती र जीवनशैली, सुक्दै गएका पानीका स्रोत र चरन क्षेत्रको अभावले भैंसीपालन संकटमा पर्दै गएको छ । पछिल्लो दश वर्षमा मुलुकका अढाइ लाख परिवारले राँगा, भैंसी पाल्न छाडेका छन् ।

टंक ढकाल टंक ढकाल
२०८० फागुन १८ गते २०:४४

१८ फागुन, काठमाडौं । २०८० मंसिर दोस्रो साता दाङ जिल्लाको गढवामा जाडो सुरु भइसकेको थियो । गाउँको बाटो छिचोलेर हामी ८० वर्षीय कन्हैयालालको घर पुग्यौं । त्यहाँ केही छाप्रा, परालका टौवा र गोठ थिए । अनि आँगनमा बाँधिएका भैंसी र आडैको छाप्रोमा दुईवटा गाई थिए ।

काम गर्न सक्ने जति सदस्य भैंसीको स्याहारमा दत्तचित्त थिए । पुरुष जति भैंसी दुहुदै थिए भने महिला कुँडो पकाउँदै अनि भकारो सफा गर्दै ।

गढवा गाउँपालिका वडा नं. ६ परनाहास्थित यो घरको गोठमा एकाबिहानै कन्हैयालाल बाल्टी लिएर दोस्रो बेते भैंसी दुहुदै थिए । नयाँ मान्छे देखेर भैंसी डराएकोले होला उनले सधैं भन्दा चाँडै दूध दुहे ।

आधा बाल्टी दूध देखाउँदै उनले भने, ‘अब बाँकी पाडोले खान्छ ।’ उनका जेठा छोरा अनुराग यादव (६२) र भतिज लालबहादुर (३१) पनि भैंसी दुहुदै थिए ।

बिहानको कुहिरो छिचोलेर घाम लाग्दै गर्दा उनीहरूले भैंसी दुहिसके । कुँडो–पानी खुवाए, घाँस–पराल हाले । त्यसपछि चिया पिउन बसे ।

करिब साढे सात बजे लालबहादुर सिल्बरको क्यानमा दूध राखेर मोटरसाइलकमा डेरीतर्फ हुँइकिए । नयाँ मान्छे देखेर डराएको त्यो दुहुनो भैंसी अब कुँडो खाएर पराल खोसल्न थाल्यो ।

भिडियोः दाङको गढवा गाउँपालिका–६ परनाहास्थित कन्हैयालाल यादवको परिवारका सदस्य बिहानैदेखि भैँसीको स्याहार तथा दुहुनदाहानमा व्यस्त हुन्छन् । महिला सदस्यहरुले आँगनगोठ सफा गर्ने, कुँडो पकाउने तथा घाँस परालको व्यवस्था गर्छन् भने पुरुषले दुहुने कुँडो खुवाउनेसहितका काम गर्छन् ।

आँगनमा चियाको सुर्को लगाउँदै कन्हैयालालले श्रीमती छत्रपति यादवसँग घन्टी मगाए । ‘यस्तो थिएन पहिले । यति बेलासम्म यी भैंसी जंगलतिर गइसक्नेथिए’ कुर्सीमा बसेका कन्हैयालालले मुस्किलले मुट्ठीमा अटाउने फलामको घन्टी देखाउँदै भने, ‘बिहान दुहेर कुँडो खुवाएपछि फुकाएर जंगलतिर पठाइन्थ्यो । हामी खाना खाएर घन्टा (घन्टी) को आवाज सुन्दै भैंसीको बगाल भएतिर जान्थ्यौं ।’

उनले चरिरहेका भैंसी खोज्न घन्टीको आवाज पछ्याउने पुराना दिन सम्झिए । अनि हालको अवस्था माथि बेलिबिस्तार लगाए– ‘अहिले न चराउने ठाउँ छ, न खोलामा पानी नै । दिउँसो एकछिन डुलाउन निकाल्ने हो । पहिला जस्तो चराउन नपाएपछि घन्टीको कामै छैन !’

कन्हैयालालको घन्टी उनको पुर्ख्याैली पेशाको चिनो मात्र हैन, उनको काममा आएको बदलावको साक्षी पनि हो । दशकौंदेखि जीविकाका लागि भैंसी सहितका चौपाया पाल्दै आएको यादव समुदाय अब यो पेशामा कहिलेसम्म टिक्छन् भन्ने प्रश्न यतिखेर पेचिलो बनेको छ । कन्हैयालालको घन्टीले यो पेचिलो प्रश्नलाई बेलाबखत सम्झाइरहन्छ ।

बढ्दो शहरीकरण, फेरिएका गाउँबस्ती र जीवनशैली, सुक्दै गएका पानीका स्रोत र चरन क्षेत्रको अभावका कारण अहिले दाङमा मात्रै नभएर देशभर भैंसीपालन संकटमा छ । तराईका जंगल, खोला, नदी, पोखरी जस्ता पानीका स्रोतहरू मासिन थालेपछि परम्परागत शैलीमा भैंसी पाल्ने यादव समुदाय (महिषपाल वंशका सन्तति मानिने) यतिखेर वातावरणीय संकटसँग जुधिरहेको छ ।

उनीहरूको पेशामाथि के कारण संकटको बादल मडारिएको हो भनेर खुलस्त पार्ने कुनै अध्ययन वा तथ्यांक हामीले फेला पार्न सकेनौं । तर, यस रिपोर्टका लागि गरिएको स्थलगत अध्ययनका क्रममा उनीहरू वातावरणमा आएको परिवर्तन र प्राकृतिक स्रोत दोहनको मारमा परेको छर्लङ्गै देखियो ।

यादव समुदायको बसोबास बढी भएको दाङको गढवा र राजपुर गाउँपालिकाभित्रका केही परिवारको तीन पुस्ताको अनुभव केलाउँदा पछिल्लो केही वर्षदेखि परम्परागत पशुपालन संकटोन्मुख हुँदै गएको स्पष्ट हुन्छ । तथ्यांकले समेत त्यसको पुष्टि गर्छ ।

राष्ट्रिय कृषि गणना २०७८ (पृष्ठ २५) अनुसार पछिल्लो १० वर्षमा मुलुकभर भैंसी र राँगा पाल्ने किसान परिवारको संख्या १६ लाख ६९ हजारबाट १४ लाख १७ हजारमा झरेको छ । यस्तै भैंसी र राँगाको कुल संख्यामा पनि कमी आएको छ । २०६८ सालको गणनामा देशभर ३१ लाख ७४ हजार भैंसी र राँगा रहेकोमा २०७८ सालमा यो संख्या २९ लाख २३ हजारमा झरेको छ ।

गम्भीर कुरा के छ भने यहाँका बुढापाकाहरू आउँदा केही वर्षमै यो पेशा लोप हुने त होइन भन्ने चिन्तामा छन् भने युवाहरू विकल्पको खोजीमा । तर, तीनै तहका सरकार र समुदायस्तरमा पनि यसबारेमा न कुनै नयाँ कार्यक्रम बनिरहेका छन् न जनचेतनाका नयाँ प्रयासहरू नै भएका देखिन्छन् ।

खोला सुके, चरन खुम्चियो

कृषि र पशुपालनमा मौसमी गतिविधिको सिधा प्रभाव पर्ने अनुसन्धानकर्मी बताउँछन् । खडेरी र त्यसले कृषिमा पार्ने प्रभावबारे अध्ययन गर्दै आएकी वैज्ञानिक हेमु काफ्लेका अनुसार, बर्खा र हिउँद याममा पानी पर्ने शैलीमा आएको परिवर्तनको प्रभाव गाउँघरका कुवा, सिम खेत तथा आहाल पोखरीहरूमा परिरहेको छ ।

‘तराईका खेतबारीमा पहिला स–साना पोखरी प्रशस्त देखिन्थे । अहिले निकै कम छन्’, काफ्ले भन्छिन् । काफ्लेको भनाइसँग सहमत छन्, तराईमा बसेर पत्रकारिता गरिरहेका स्वतन्त्र पत्रकार चन्द्रकिशोर । उनले देख्दादेख्दै पानीका स्रोतहरू नासिंदै गए; पोखरी, खोलानालामा पानी कम भयो ।

‘अहिले भैंसी आहाल बस्न पाउँदैनन् । मोटरको पानीले नुहाएर चिल्लो पार्न त सकिन्छ तर उनीहरूले खेल्न र रमाउन पाउन छोडे’ चन्द्रकिशोर भन्छन्, ‘चरनका लागि खाली सार्वजनिक जमिन छैनन् । वन र सिमसार क्षेत्र मासिंदै गए । त्यसले गर्दा यादव समुदाय मात्रै होइन, पशुपालन गर्ने सबै किसान अहिले समस्यामा छन् ।’

मासिंदै गएको चरन क्षेत्र, सुक्दै गएका र धेरै ठाउँमा अतिक्रमणमा परेका नदी खोलाका कारण पशुचौपायाको संख्या घट्दै गएको छ । यसका एकजना साक्षी हुन्, गढवाका कन्हैयालाल । १५—२० वर्षअघिसम्म पनि उनी भैंसीलाई दिनभरि जंगलमा छोड्थे । तर अहिले अवस्था फरक छ । उनी भन्छन्, ‘अहिले त पुच्छर समातेर जाने, केही बेर डुलाएर ल्याउने हो । पहिले जस्तो घाँटीमा घन्टी झुन्ड्याउनै पर्दैन ।’

बुवा कल्लु यादवले भैंसी चराएको देखेर हुर्किएका कन्हैयालालले त्यसैको बिंडो थामे । त्यो देखेर छोरा अनुराग र परिवारका सदस्यले उनलाई साथ दिए । तर, भैंसीको संंख्या भने लगातार घट्दै गयो । बुवाको पालामा एक सय हाराहारी भैंसी हुन्थे । उनले आफैं पालुन्जेल पनि ५० देखि ६० वटासम्म थिए । तर, अहिले छोराको पालामा आइपुग्दा उनको घरमा २० मात्रै भैंसी बाँकी छन् ।

‘अब मेरो जीवन पछि त यी भैंसी पनि घट्छन् भन्ने डर छ’ बिहान ११ बजेसम्म घाम तापेर बसेका उनले भने, ‘पहिला वन थियो । घाँस खाएर भैंसी पनि मोटा हुन्थे । अहिले हेर्नु त, खान छैन बरा (बिचरा) !’

घुँडा दुखेको औषधि खाइरहेका कन्हैयालाल भैंसी डुलाउन जान नसक्ने भएर भतिज लालबहादुरलाई बोलाए । लालबहादुर लैनो भैंसीका लागि कुँडो तयार पार्दैथिए । अघिल्लो दिन धेरै दूध खाएका कारण छेरिरहेको एउटा पाडोलाई उनले गोठबाट बोकेर घाममा ल्याए । यसरी उनले गोठको काम सिध्याउँदा मध्याह्न कट्यो ।

त्यसको केहीबेरपछि लालबहादुरले भैंसी फुकाउन थाले । कन्हैयालाल विस्तारै गोडो खोच्याउँदै पछि लागे । त्यहाँबाट करिब १०० मिटर दक्षिण सिक्रहवा खोला पुगियो । खोलाको डिलमा उभिएर कन्हैयालालले १० वर्ष अघिसम्म पनि सिक्रहवा खोलाको पानीमा भैंसी कसरी रमाउँथे भनेर सम्झिए ।

तर, अहिले खोलामा छिपछिपे पानी मात्रै थियो । एक किनारमा अलिअलि बगेजस्तो देखिन्थ्यो, लेउ लागेको थियो । केही बेरमा लालबहादुर ८ वटा भैंसीको हुलसहित आइपुगे । उनले भैंसीलाई खोला किनारमा हुले ।

पानीमा पसेपछि केही भैंसी आहाल खेल्न थाले भने केहीले त्यही पानी खाए । अघि बढ्दै जाँदा पुलको आसपास पुगेपछि पानी अलि बढी देखियो । लालबहादुर भैंसीलाई नुहाउन थाले । चप्पल फुकालेर दह बनेको भागमा पसे । भैंसीलाई हातले पानी छ्याप्दै नुहाइदिए । केहीबेरमा भैंसी डिल उक्लिएर बाटैबाटो अघि बढे ।

भिडियोः सिक्रहवा खोलामा भैँसीलाई नुहाइदिँदै लालबहादुर यादव । विगतमा आफैं आहाल बसेर भैंसी सफा हुनेमा पानी नहुँदा दह बनेको ठाउँमा आफैंले छ्यापेर नुहाइदिनु परेको उनी बताउँछन् । 

‘रह रह’ भन्दै चप्पल टिपेर लौरी बजार्दै लालबहादुर पछि–पछि लागे । उनको घुँडाभन्दा तलसम्म पानीले भिजेको थियो । ‘पाँच वर्षजति अघिसम्म पनि यो ठाउँमा हामी जान सकिंदैनथ्यो, यहाँ डुब्ने पानी हुन्थ्यो । भैंसी आफैं आहाल खेल्थे’ लालबहादुर भन्छन्, ‘हामी यही खोलामा पौडी खेल्थ्यौं ।’

लालबहादुरसँग गाउँका अरू घरका भैंसी पनि खोलाबाट उक्लिएर बाटैबाटो बायाँ लागे । ग्वाला (गोठाला) जति आफ्ना भैंसीको बथानसँगै हिंड्दै थिए । तोरीबारी, घर छेउछाउका बुट्यान जोगाउँदै ग्वालाको टोली करिब ५०० मिटर पर रहेको उत्तरतर्फको सिक्रहवा खोलामा पुग्यो (राप्तीमा मिसिने दुवै खोलाको नाम सिक्रहवा हो) । भैंसी खोला किनारमा पसे ।

‘यो खोला पनि निकै सानो भयो’ अर्को हुलका भैंसीसँग जुध्न गएको आफ्नो पाको भैंसीलाई ‘झ झ’ भन्दै लालबहादुरले धपाए । उनले भने, ‘यहाँ केही बढी पानी बगेको देखिन्छ, तर यो खोला पहिले निकै ठूलो बग्थ्यो ।’ सिक्रहवा खोलाको पुलमुनिको किनारमा कोही लुगा धुँदै थिए भने कोही नुहाउँदै । गोठालाहरू आफ्ना बथानका भैंसीको रेखदेख गर्दै थिए ।

भैंसी खोलाको पानीमा आहाल बस्दै, किनारमा निस्कँदै थिए । उनीहरूले करिब एक किलोमिटर दूरीमा रहेका दुई पुलको बीचको किनारमै भैंसी डुलाए । दिउँसो चार बजेतिर लालबहादुरले भैंसी घर फर्काए । ‘आजलाई डुलाउन पुग्यो । यही हो अचेलको चरन’ भन्दै उनी भैंसी धपाउँदै घरतिर लागे ।

फेरिएको परिवेश : एकभारी घाँसका लागि एकदिन

बढ्दो शहरीकरण र प्राकृतिक स्रोतको दोहनका कारण भैंसीको चरन क्षेत्र साँघुरिंदै गएको छ । सँगै भैंसीको स्वच्छन्द तवरले विचरण गर्ने र आहाल बस्ने समय पनि छोट्टिंदै गएको छ । यसले पानी र जंगल अपरिहार्य हुने भैंसी पालन पेशा चपेटामा परेको छ ।

‘पहिले खोला तथा जंगल भएका ठाउँमा अहिले बस्ती छन्’ आँखै अगाडि फेरिएको गाउँको साक्षी कन्हैयालाल भन्छन्, ‘अनि कसरी घाँस पलाउनु ? कहाँ चरन क्षेत्र हुनु ? बाटोमा हिंडायो घर फर्कायो ।’

भैंसी पालन गरिरहेका त्यस गाउँका सातै परिवारको अवस्था उस्तै छ । परनाहाकै अर्को बस्तीका देवराज यादव (३६) कुनै बेला हजुरबुवासँग भैंसी चराउन जान्थे । अहिले उनका बुवा गुरुदयाल यादव (७२) ले चराउने गरेका छन् ।

पुर्ख्याैली पशुपालन व्यवसायमा सहयोग गरिरहेका उनी भन्छन्, ‘पहिले हाम्रो पशुपालन १०० प्रतिशत चरिचरनमा निर्भर थियो । तर, अहिले घरमा घाँस–परालको व्यवस्था नगरे भैंसी पाल्न सकिने अवस्था छैन ।’

भिडियोः सिक्रहवा खोला किनारको डिलमा चर्दै गरेका भैँसी । चरन क्षेत्रको अभावमा यहाँका किसानहरु भैँसीलाई खोला वारिपारि किनार चराउन बाध्य छन् । 

पहिले पाँच किलोमिटर भित्रसम्म गएर दिनभर भैंसी चराएर ल्याउने गरेको सम्झिंदै उनी भन्छन्, ‘अहिले बढीमा दुई किलोमिटर जति गइन्छ, डुलाउने हिसाबले मात्रै हो लैजाने ।’ १५ वर्षयता बाध्य भएर घरमै घाँसपानीको व्यवस्था गर्नु परेको उनले बताए ।

चरन क्षेत्र खुम्चिएसँगै पानीका स्रोत पनि सुक्दै गएका छन् । देवराज भन्छन्, ‘पहिले विना बोरिङ नै खेती लगाउन सकिन्थ्यो । बर्खामा राम्रो पानी पर्थ्यो । अचेल पानी पर्ने कम भएको जस्तो लाग्छ । त्यसमाथि बस्ती बढ्यो । पानी सुक्दै गयो ।’

गोठ नजिकैको नल्का (धारा, चापाकल) सँगै उभिएका देवराजले त्यहाँबाट ५०० मिटर दक्षिणतिर देखाउँदै भने, ‘१० वर्ष अघिसम्म यहाँ माघीका बेला नुहाउने, माछा मार्ने मानिस टन्नै हुन्थे । अहिले त्यहाँ गहुँ, मुसुरो सहितको बाली लगाइएको छ ।’

आफूहरू खोला खोज्दै टाढा जानु परेको मात्र हैन, पहिलेभन्दा अघि नै राप्तीमा भैंसी लैजानु परेको बाध्यता उनी सुनाउँछन् । २०–२५ वर्षअघि वैशाख लागेपछि मात्रै राप्तीमा भैंसी लैजाने गरेकोमा अहिले फागुनको अन्तिमतिरै लैजानुपर्छ । ‘कक्रहवा खोला माघतिरै सुक्छ । त्यसपछि त पानी भेट्न पर राप्तीसम्म पुग्नुपर्छ । त्यहाँ पनि धेरै पानी हुँदैन ।’

पानीका लागि नल्का बनाउन २५ हजार रुपैयाँसम्म लाग्छ । मनिकापुर सामुदायिक वन नजिक भएकाले जमिनमुनिको पानीको संकट परनाहाका बासिन्दाले हालसम्म भोगेका छैनन् । तर, बक्रहवामा कन्हैयालाल र उनका छिमेकीको घरका नल्का २५ देखि ३० फिटसम्म गाडिएका छन् । एउटा भैंसीका लागि दिनमा कम्तीमा ७० लिटर पानी चाहिन्छ जसका लागि उनीहरू नल्काकै भरमा छन् ।

सिक्रहवा खोला किनारमा चर्दै गरेका भैँसी ।

पानी र चरन क्षेत्रको संकुचनका कारण आहारका भरमा घरमा पशुपालन गर्न बाध्य हुँदै गएका यहाँका किसानले घाँसको समस्या पनि खेपिरहेका छन् । गढवाबाट दक्षिण भारतीय सीमातर्फ जाँदा आउँछ, यादव बाहुल्य भएको राजपुर गाउँपालिका वडा नं. ४ खर्दरिया गाउँ । यहाँका हरेक घरपरिवारले १०० हाराहारीमा भैंसी पालेका छन् । यहाँका महिलाको अधिकांश समय भैंसीलाई पानी र घाँसको जोहो गर्दैमा बित्छ ।

डेढ सय भैंसी पालेकी अन्जना यादव अपराह्नतिर घाँस काट्न जाने तरखरमा थिइन् । ‘यो गाउँभरिका लागि यही एउटा कुवा (इनार) छ । भैंसीलाई खुवाउने, हामीले खाने यसकै पानी हो’, लेउ लागेर जमेको पानी देखाउँदै उनी भन्छिन् ।

इनारमाथिको रिङमा राखिएका काठमा बसेर दुई महिला पानी तान्दै थिए । घरमा पानी राखेर अर्को बाल्टी बोक्न आउँदै थिइन् अन्जनाकी छिमेकी । ‘कम्तीमा सात घर परिवारका सदस्य र चार सयभन्दा बढी भैंसी यही इनारको भरमा छन्’, उनले भनिन् ।

भैंसीपालन र खेतीपातीको भरमा जीविका चलाइरहेका उनीहरूलाई पानीको मात्रै दुःख छैन, एक भारी घाँस बटुल्न दिनभरि लाग्छ । ‘एक भारी घाँस ल्याउन हामी त्यो लेकसम्म पुग्छौं’ दक्षिणमा भारतीय सीमासँग जोडिएका चुरे पहाडको जंगल देखाउँदै उनले भनिन् । बिहान ८ बजे निस्केर बेलुका ५ बजे एक भारी (करीब ५०/६० किलो) घाँस बोकेर फर्किन्छन् उनीहरू ।

यसले मानवीय उत्पादकत्वमा सिधा असर गर्नुका साथै आर्थिक रूपमा पुछारमा रहेका समुदायको उन्नतिको सम्भावना थप पर धकेलिने तराईका बासिन्दाको सामाजिक, आर्थिक अवस्थाको अध्ययन गर्दै आएका सोहन साह बताउँछन् ।

‘एक भारी घाँसका लागि दिन बिताउँदा उनीहरूको उत्पादकत्व त्यही भारी घाँसमा सीमित हुन्छ’ मार्टिन चौतारीका अनुसन्धानकर्मी साह भन्छन्, ‘विकल्पको व्यवस्थापन गरेर समय बचाउन सकियो भने जीवनस्तर उकास्न सकिन्छ र उत्पादकत्व पनि बढ्छ ।’

छैन लक्षित कार्यक्रम

स्थानीय सरकारले यो समुदायलाई लक्षित गरेर अहिलेसम्म कुनै कार्यक्रम ल्याएको छैन । गएको वर्षदेखि हेफर इन्टरनेशनलसँगको सहकार्यमा राजपुर र गढवा गाउँपालिकामा साना किसान तथा युवा उद्यमशीलता साझेदारी कार्यक्रम सञ्चालनमा छ । ४२ महिनाका लागि सञ्चालित यो कार्यक्रमको लागत प्रति पालिका ६ करोड २० लाख रुपैयाँ छ, जसमा ७० प्रतिशत लगानी पालिकाको छ ।

गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोखरेलले यही कार्यक्रममा पशुपालन गर्नेहरूका लागि भकारो सुधार र उन्नत जातको घाँसको बीउका लागि सहयोग राखिएको दाबी गरे । ‘तर यादव समुदायकै लागि भनेर लक्षित कार्यक्रम भने छैन’, उनी भन्छन् ।

उता राजपुर गाउँपालिकामा पनि सो कार्यक्रम अन्तर्गत यादवहरूलाई लक्षित गरेर सहयोग गरिएको पालिका उपाध्यक्ष धनपतिदेवी यादवले बताइन् । ‘हेफरसँग मिलेर गरेको कार्यक्रममा भैंसी पालक किसानलाई समेटिएको छैन भन्ने गलत कुरा हो’ यादव समुदायका किसानको गुनासोबारे उपाध्यक्ष धनपतिदेवीले भनिन्, ‘बाख्रा पालनसँगै भैंसीको गोठ सुधारका लागि पनि सहयोग गर्ने गरेका छौं ।’

परम्परागत रूपमा शाकाहारी, बाख्रा, कुखुरा नपाल्ने यादव समुदायको बाहुल्य रहेको राजपुर र गढवा गाउँपालिकामा कृषि तथा पशुपालन लक्षित कार्यक्रम भनेर बाख्रापालनलाई केन्द्रमा राखी कार्यक्रम ल्याइएकोमा यादव समुदाय रुष्ट छ । साझेदारी कार्यक्रम सुरुमा बाख्रापालनलाई नै केन्द्रमा राखेर सञ्चालन गरिएको थियो । तर, पछि किसानको आवश्यकता हेरी आंशिक रूपमा भकारो सुधारको कार्यक्रम पनि समेटिएको हेफरका वरिष्ठ कार्यक्रम अधिकृत महेश आचार्यले बताए ।

दुवै पालिकाले किसानलाई नल्का (धारा) बनाउन र घाँसको समस्या हल गर्ने उद्देश्यले उन्नत जातको घाँसको बीउ वितरण गर्ने गरेका छन् । ‘ती कार्यक्रम पनि यादव समुदायका लागि भनेर ल्याइएका होइनन् तर उनीहरू पनि समेटिएका छन्’, गढवा गाउँपालिकाका अध्यक्ष पोखरेल भन्छन् ।

‘पालिकाले आवश्यकतालाई भन्दा पनि पहुँचलाई आधार बनाएर नल्का, भकारो सुधार तथा घाँसको बीउ दिने गर्छ’ गढवा परनाहाका किसान अनुराग यादवको आरोप छ । तर, पालिका अध्यक्ष पोखरेलले पनि विगतमा त्यस्तो हुने गरेको स्वीकार्दै त्यसलाई रोक्न किसानको समूह बनाएर सो समूहको सिफारिसका आधारमा मात्रै सहयोग गर्न सुरु गरिएको बताए ।

आरोप र बचाउको यस्तो कथा पटक–पटक सुनेका अगुवा किसान कन्हैयालालले भैंसीलाई हेर्दै हामीसँग भनेका थिए, ‘यी लालाबाला भएनन् भने त हाम्रो पहिचान के ?’ लालाबाला अर्थात् भैंसी । पहिचान अर्थात् यादव समुदायको पशुपालनसँग जोडिएको जीविका । गाउँपालिकाले अवस्था सुधार हुँदै गरेको बताए पनि स्थानीय किसानको जीवनमा त्यसको कुनै झल्को भने देखिंदैन ।

(तथ्यांक पत्रकारिता केन्द्र नेपाल र अर्थ जर्नालिजम नेटवर्कको सहयोगमा, साथमा दशरथ घिमिरे, दाङ ।)

इन्फोग्राफिक्सः अरुण कार्की/अरुण देवकोटा

कभर स्टोरी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?