+
+

चिनियाँ संसदको अधिवेशन अर्थतन्त्र सुधारमा केन्द्रित, सुरक्षा बजेट बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २२ गते १३:३०

२२ फागुन । चिनियाँ संसद नेशनल पिपल्स कंग्रेस(एनपीसी) को अधिवेशन आर्थिक सुधारमा केन्द्रित बनेको छ । अर्थतन्त्र खस्किरहेको समयमा प्रधानमन्त्री ली छ्याङले यस वर्ष ५ प्रतिशत आर्थिक वृद्धि हुने घोषणा गरेका थिए ।

मुलुकको अर्थतन्त्रमा केही अप्ठ्यारा देखिए पनि त्यसलाई सुधार गर्दै लक्ष्य हासिल गर्न सकिने उनको भनाइ छ । ‘अर्थतन्त्रमा केही जटिलताहरु पक्कै छन् ती जटिलताहरुलाइ समाधान गर्दै सरकार अघि बढ्नेछ’, उनको भनाइलाई सिन्ह्वाले उधृत गरेको छ ।

चीनको लक्ष्यनै प्रगतितर्फ उन्मुख हुनु रहेको भन्दै लीले भनेका छन्, ‘संरचनात्मक सुधार, गुणस्तरमा वृद्धि र प्रदर्शनमा सुधार गर्दै हामी हाम्रो लक्ष्य भेट्नेछौं ।’

गत वर्षपनि चीनको आर्थिक वृद्धि ५.२ प्रतिशत थियो । यसपटक पनि त्यसलाई कायमै राख्ने घोषणा गरिएको हो । घरजग्गा कारोबारमा देखिएको संकट, मुद्रास्फीतिको दबाब र पुँजी पलायनका चुनौतीबीच चिनियाँ अर्थतन्त्रप्रति विश्वास जगाउनका निम्ति सरकार जुटेको छ ।

चिनियाँ अर्थतन्त्रबारे जानकार लेरी ह्वुले सरकारको यो लक्ष्य महत्वाकांक्षी भएपनि हासिल गर्न सकिने किसिमकै रहेको बताएका छन् । ‘अर्थतन्त्रमा चौतर्फी दबाब सिर्जना भइरहेको समयमा लगानीकर्ताहरुको विश्वास जित्नका निम्ति सरकारले महत्वाकांक्षी योजना अघि सारेको छ । सरकार  स्वयंले समेत सुधारको दबाब महसुस गरेकाले उपयुक्त उपायहरु अवलम्बन गर्दै लक्ष्य हासिल गर्ने सम्भावना छ’ उनले सिएनएनसँग भनेका छन् ।

प्रधानमन्त्री लीले रोजगारी र आम्दानी बढाउँदै सम्भावित जोखिमहरुको न्युनीकरणमार्फत लक्ष्य हासिल गरेरै छोड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

रक्षा र विज्ञान प्रविधिमा लगानी बढाउने घोषणा

चीनले रक्षा र विज्ञान प्रविधिमा लगानी बढाउने घोषणा गरेको छ । सन् २०२४ का लागि रक्षा मामिलामा ७.२ प्रतिशतले बजेट बढाउने घोषणा संसदमा गरिएको छ । यस घोषणा अनुसार चीनले अब रक्षा क्षेत्रमा २३०.६ अर्ब डलर खर्च गर्नेछ ।

यस्तै विज्ञान र प्रविधि क्षेत्रमा १० प्रतिशतले बजेट बढाउने घोषणा गरिएको छ । विज्ञान प्रविधि क्षेत्रमा यसपटक चीनले ५१.६ अर्ब डलर खर्च गर्न लागेको छ । सन् २०१९ पछि विज्ञान प्रविधि क्षेत्रमा यो वर्ष अहिलेसम्मकै धेरै बजेट छुट्याइएको हो ।

अमेरिकाले विज्ञान प्रविधिको क्षेत्रमा चीनलाई  विभिन्न प्रतिबन्ध लगाएसँगै उसले आत्मनिर्भर हुनका निम्ति बजेट बढाएको हो । प्रधानमन्त्री लीले भनेका छन्, ‘विज्ञान प्रविधिमा आत्मनिर्भर हुनका निम्ति हामीले लगानी बढाएका छौं । हामी नवीनतम प्रविधिका लागि पनि राष्ट्रव्यापी रुपमा आफ्नो क्षमता बढाउने सोचिरहेका छौं’, लीले भनेका छन् ।

यान्त्रिक वौद्धिकता, सेमिकन्डक्टर लगायतका क्षेत्रमा अमेरिकाले चीनमाथि प्रतिबन्ध लगाएसँगै चीनले विज्ञान प्रविधिमा बजेट बढाउने भएको हो ।

यी विषयमा भइरहेका छन् छलफल

संसदको वार्षिक अधिवेशनमा व्यापार घाटालाई सुधार गर्ने, स्थानीय सरकारहरुलाई दिइने रकमको अधिकतम सीमा निर्धारण गर्ने, लामो समयका लागि  ट्रेजरी बन्ड जारी गर्ने, एआइका लागि विशेष अभियान सञ्चालन गर्ने विषयमा छलफल भएका छन् ।

यस्तै, रक्षा प्रणालीलाई बलियो बनाउने, घरेलु उत्पादन बढाउँदै खपत प्रोत्साहन गर्ने, केन्द्रीय सरकारले विभिन्न क्षेत्रमा ७०० अर्ब युआन भन्दा बढी लगानी गर्ने विषयमा पनि छलफल भइरहेको छ । यस्तै, आन्तरिक माग वृद्धि, वैदेशिक लगानी रहेका संस्थामा राष्ट्रिय हित सुरक्षाको थप सुनिश्चितता गर्ने, प्यासिफिक क्षेत्रमा सहकार्यको नयाँ मोडल बनाउने विषयमा पनि बहस भइरहेको छ ।

यस्तै छलफलको एजेण्डामा, घरजग्गा कारोबारमा देखिएका जोखिम न्युनीकरण, खराब कर्जाको समाधान, संकटमा परेका साना तथा मझौला उद्योगहरुको पुनरुत्थान पनि परेका छन् ।

संसदमा विकास र सुरक्षा दुबैलाई बलियो बनाउने विषयमा पनि छलफल हुने छ भने ऊर्जा प्रणालीलाई थप बलियो बनाउने विषयमा पनि छलफल हुनेछ ।

सदाझैं चीनले ताइवानको स्वतन्त्रता मात्रै नभएर त्यस मामिलामा वैदेशिक हस्तक्षेप समेत स्वीकार नगर्ने बुँदामा पनि त्यहाँ छलफल भइरहेको छ । यस्तै, अन्तर्राष्ट्रिय स्तरमा निष्पक्षता र न्यायको पक्षमा दृढतापूर्वक उभिने सन्दर्भमा पनि बहस भइरहेको सिन्ह्वाले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?