+
+

भोटो : नेपाली उत्पादनलाई प्रोत्साहित गर्न तीन साथी मिलेर गरेको उद्यम

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८० फागुन २२ गते १७:०७

काठमाडौं । नेपाली बजारमा अन्तर्राष्ट्रिय ब्रान्डप्रतिको आकर्षण बढ्दै गइरहेको छ । यस्तोमा नेपाली ब्रान्डलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने दौडमा छिन् पूजा रिमाल । उनको यो दौडमा साथ दिएका छन् पूजा पाण्डे र सस्मिता बिडारीले ।

नेपाली पहिचान र नेपाली उत्पादनलाई बजारमा स्थापित गराउने उद्देश्यका साथ उनीहरूले २०७४ मा ‘भोटो’ सुरु गरे । भोटो नेपाली उत्पादनबाट निर्मित कपडाको ब्रान्ड हो । यो नेपाली फेसनशैलीको प्रतिनिधित्व गर्ने लक्ष्यका साथ अघि बढेको छ ।

नेपालीहरू संसारको जुनसुकै कुनामा भए पनि भोटो भन्ने बित्तिकै आफ्नो बालापनमा फर्किन्छन् । किनकि बालापनमा भोटो नलगाउने नेपाली सायदै होलान् । यो नाम आफैंमा फरक त छँदैछ, यसले नेपाली पहिरन शैलीको प्रतिनिधित्व पनि गर्छ । त्यसैले आफ्नो ब्रान्डको नाम भोटो राखेको पूजा बताउँछिन् । भोटोको कपडा भनेको नेपाली ब्रान्ड हो भनेर नेपालीहरूले गर्व गर्नसक्ने बनाउने उनको इच्छा थियो ।

मान्छे भित्री रूपमा राम्रो हुनुपर्छ भनिन्छ । तर सबैभन्दा पहिले देखिने भनेको बाहिरी रूप नै हो, र बाहिरी रूपलाई निखार्नमा कपडाको महत्त्वपूर्ण भूमिका हुने पूजा बताउँछिन् । ‘त्यसैले राम्रो गुणस्तरको कपडा नेपालीहरूले पनि लगाउनुपर्छ भन्ने उद्देश्यले भोटो सञ्चालनमा ल्याएको हुँ,’ उनी भन्छिन् ।

भोटो युनिसेक्स फेसन ब्रान्ड हो, जहाँ जुनसुकै उमेर समूहका महिला तथा पुरुषका लागि गुणस्तरीय सामान पाइन्छन् । फेसनको दुनियाँमा नेपाली ब्रान्डको उदयले गुणस्तरीय सामानको छनोट गर्ने अवसर बढेको छ ।

पूजा भन्छिन्, ‘नेपाली उत्पादनलाई प्रोत्साहित गर्न पनि यो ब्रान्ड लिएर आएका छौं । भोटोलाई उत्कृष्ट नेपाली उत्पादनका रूपमा विकास गर्दै लैजाने योजना छ ।’

फेसन र गुणस्तर दुवैको पहिचान भएका युवा र वयस्क सबैका लागि सबैथरीको कपडा भोटोमा पाइन्छ । काठमाडौंको हात्तीसारमा ‘भोटो’को पसल सञ्चालनमा आयो । नेपालमा पाइने कच्चा पदार्थ प्रयोग गरेर सामान उत्पादन भयो ।

भोटोमा पाइने कपडा गुणस्तरीय भएकाले छोटो समयमा नै धेरैको मन त जित्यो, तर खुलेको दुई वर्ष पूरा नहुँदै कोरोना र लकडाउनका कारण सम्पूर्ण व्यवसाय जस्तै भोटो पनि प्रभावित भयो । लकडाउनको गाह्रो समयमा पनि हिम्मत नहारेको कारण लकडाउन पछि फेरि भोटोले गति लिन थाल्यो । नेपाली ब्रान्डलाई माया गर्ने ग्राहकहरूका कारण पछिल्लो समय भने भोटोले बिस्तारै गति लिइरहेको छ ।

नेपाली ब्रान्ड भन्ने बित्तिकै केही महंगो र नेपालीहरूले खरिद गर्न सक्दैनन् भन्ने बुझाइ भए पनि भोटोका उत्पादन सबैले खरिद गर्न सक्ने मूल्यको भएको पूजा बताउँछिन् ।

भोटोले ह्यान्ड मेड (हातले बुनेका) सामानलाई बढी महत्त्व दिएको छ । यस्ता सामानमा पनि कम मार्जिन राखेरै भए पनि सस्तोमा सामान बिक्री गरेको पूजाले बताइन् । भोटोले नयाँ प्रयोग पनि गरिरहेको छ । सामान खरिदका लागि आउने ग्राहकबाट प्रतिक्रिया लिइन्छ र त्यही प्रतिक्रियाअनुसार ग्राहकको रोजाइ अनि मागलाई मध्यनजर गरेर सामान उत्पादन गरिन्छ ।

नेपालीहरूले आफ्नो मौलिकपन अनि स्वदेशी उत्पादनलाई माया गर्ने गरेको त नेपालमा उत्पादित अन्य ब्रान्डको चर्चाबाट पनि थाहा हुन्छ । त्यसैले पनि स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ भन्नेमा नेपालीहरू धेरै नै सचेत रहेको भोटोकी अर्की सञ्चालिका सस्मिता बताउँछिन् ।

यो कुनै वर्गका लागि होइन, बरु यो त सबै नेपालीका लागि हो । नेपाली उत्पादन पनि विदेशी उत्पादनभन्दा कम छैन भन्ने कुराको आभास भोटोको कपडाले दिलाउने सस्मिता बताउँछिन् । भोटोलाई स्वदेशी ब्रान्डका रूपमा स्थापित गरेर भविष्यमा अन्य स्थानमा पनि विस्तार गर्दै लैजाने योजनामा छिन् पूजा । साथै भोटोका उत्पादनलाई विदेशमा पनि फैलाउँदै लैजाने पूजाको योजना छ ।

बजारमा प्रतिस्पर्धा निकै भए पनि भोटोले सानो-सानो कुरामा ध्यान दिएर सामान उत्पादन गर्ने गरेको छ । बजारको मागअनुसार आफूलाई ढाल्दै जाने सोचले भोटोले हाल बजार सर्वेक्षण अनि ग्राहकको चाहनालाई नै पहिलो प्राथमिकता दिएको छ ।

झट्ट हेर्दा विदेशी ब्रान्डका सामान जस्ता देखिने भएकाले पहिले त मान्छेहरू पसलमा छिर्न नै डराउने गर्थे । तर एकपटक ग्राहक पसलभित्र छिरे पछि मात्र थाहा पाउन थाले यहाँ हरेक नेपालीका लागि सबै प्रकारका कपडाहरू पाइन्छ । ८०० देखि २० हजारसम्मको कपडा भोटोमा उपलब्ध छ ।

नेपाली उत्पादनको प्रयोग बढाउन सोच परिवर्तनमा ल्याउन जरुरी भएको पूजा बताउँछिन् । ‘नेपाली उत्पादन पनि राम्रो हुन्छ, यसको प्रयोग गर्न डराउनु पर्दैन भन्ने सोच ल्याउन जरुरी छ । यसो गर्न सके देशमा उत्पादन बढ्छ, रोजगारी सिर्जना हुन्छ, पैसा विदेश जानबाट पनि रोकिन्छ,’ उनी भन्छिन् ।

‘भोटो’लाई नेपालभर फैलाउने लक्ष्य पूजाले राखेकी छन् । त्यसैले कसैले भोटोको फ्रेन्चाइज लिन चाहन्छन् भने भोटोको टिमलाई सम्पर्क गर्नसक्ने पनि उनले बताइन् ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?