+
+
Shares

सांसद शाहीको आरोप– सरकारले व्यक्तिगत इगो साट्न राज्यसत्ताको दुरुपयोग गर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते १७:२९

१२ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले वर्तमान सरकारले व्यक्तिगत ‘इगो’ साट्नका लागि राज्यसत्ताको चरम दुरुपयोग गरिरहेको आरोप लगाएका छन् ।

सोमबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विधि र प्रक्रिया मिचेर गरिएको गिरफ्तारीले सरकारको छवि धुमिल भएको टिप्पणी गरे ।

‘कोही पनि व्यक्तिलाई पक्राउ गर्नुहुन्न भन्ने होइन, तर पक्राउ गर्दा कानुनी आधार र अदालतको पक्राउ पुर्जी अनिवार्य हुनुपर्छ । प्रमाणबिना राति ३ बजे पक्राउ गर्नु र पछि छाड्नु बालहठ मात्र हो । ९ अर्ब रुपैयाँ घोटालाको आरोपी जिबी राई, वाइडबडी काण्ड, ४ जी र एनसेलका दोषीहरू खुला हिँडिरहेका छन्,’ उनले भने ।

सांसद शाहीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र व्यवसायी दुर्गा प्रसाईंको गिरफ्तारीको प्रसंग उठाउँदै कानूनी राज्यको उपहास भएको जिकिर गरे ।

‘सरकारले व्यक्तिगत प्रतिशोधका लागि मात्र शक्ति प्रयोग गरिरहेको छ । यस्ता हर्कतले हिजोको र आजको सरकारबीच कुनै भिन्नता देखिँदैन । तपाईंहरूले जसरी इगो साट्न पक्राउ गर्ने खेल शुरु गर्नुभएको छ, यसको हिसाब किताब भोलि जनताले माग्छन्,’ उनले भने ।

शाहीले सरकारलाई सुशासनको मार्गमा अघि बढ्न सुझाव दिँदै यदि सरकारले भ्रष्टाचार विरुद्ध वास्तविक कदम चाल्ने हो भने आफ्नो दलले साथ दिने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?