काठमाडौं । आठ कविको संयुक्त कवितासंग्रह ‘एकात्म’ सार्वजनिक भएको छ । काठमाडौं मल सुन्धारास्थित थिएटर मलमा शनिबार रंगकर्मी राजन खतिवडा, लेखक केशव सिग्देल र समीक्षक सगुना शाहले कृतिको लोकार्पण गरे ।
संग्रहमा उज्ज्वल ढुङ्गाना, नविन अभिलाषी, कुशल सुमन, प्रसन्न घिमिरे, विष्णु सन्यास, बुद्धि कटेल, सिजन श्रेष्ठ र पार्थक्य ‘हृदय’का कविताहरु संग्रहित छन् । नेपाली कविताको नयाँ अनुहार चिनाउन नदेखिएका र नसुनिएका कविहरुलाई समेटिएको प्रकाशन संस्था सम्यम किनाराले जनाएको छ ।
कृति लोकार्पणपछि सिग्देलले संग्रहका धैरै कविहरु नयाँ भए पनि अब्बल कविताहरुले कविहरुको दक्षता देखाएको टिप्पणी गरे ।
पुस्तकसम्बन्धी विमर्श गराउने बुकाहोलिक्सकी सगुनाले नयाँ कविहरुले जीवन, समाज अनि सम्बन्धमा लुकेर बसेका मसिना तर महत्वपूर्ण कुरालाई कवितामा पस्किएको बताइन् । उनले प्रशंसा गर्दै भनिन् ‘कवितामा अव्यवस्थाको चित्रण गर्दै रुवाबासी र गाली मात्र आइरहेको यो समयमा ती भन्दा फरक कुरा आउनु स्वागतयोग्य हो ।’
रंगकर्मी खतिवडाले नाटकमा पनि कविता प्रयोग हुने बताउँदै नाटक लेख्ने र अभिनय गर्नेले कवितालाई ग्रहण गर्नुपर्ने बताए ।
कार्यक्रममा संग्रहका केही कविता कविहरुले वाचन गरेर सुनाएका थिए ।
प्रतिक्रिया 4