Comments Add Comment

बालाजुका बाइसै धारा ! यसरी फेरिँदैछ मुहार

पौडीपोखरीदेखि पिकनिक स्थलसम्म

२ फागुन, काठमाडौं । ‘बालाजुका २२ धारा’ भनेपछि ज्येष्ठ नागरिकहरुलाई थप केही व्याख्या गर्नै पर्दैन । उहिले ‘नेपाल’ घुम्न आउने तीर्थालुहरुका लागि पशुपतिनाथ जति महत्वपूर्ण थियो, उनीहरु बालाजुका २२ धारामा पनि अनिवार्यरुपमा पुगेकै हुन्थे । २२ धाराको गीतसमेत बनेको थियो । तर, यही ऐतिहासिकस्थल यतिबेला नयाँ पुस्ताका लागि पहिचानविहीनजस्तै बन्न पुगेको छ ।

भूकम्पले पौडी पोखरीदेखि धेरै संरचनामा क्षति पुगेपछि बालाजुको बाइसधारा पार्कको शोभा हराएको छ । तर, काठमाडौं महानगरपालिकाको योजनाअनुसार काम भए यो पार्क छिट्टै लोभलाग्दो पर्यटकीय क्षेत्र बन्ने भएछ ।

महानगरपालिकाले पहिले पार्कको स्तरीकरण थालेको छ । यसक्रममा भूकम्पले क्षति पुगेका संरचनाहरु मर्मत गर्नुका साथै नयाँ संरचनाहरु समेत थपिनेछ ।

महानगरले पार्कको स्तरोन्नतिका लागि यो वर्षमात्रै झण्डै २ करोड रुपैयाँ खर्चिँदैछ । पहिलो चरणमा पार्कको सबै क्षेत्रमा कम्पाउण्डिङको काम सकिएको महानगर प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले बताए ।

बाइसधारा पार्कलाई स्वदेशी पर्यटकीय क्षेत्र बनाउने महानगरको योजना छ । यसका लागि पार्कभित्रका पोखरीहरुको मर्मत गरिनेछ भने बगैँचालाई स्तरीकरण गरिनेछ ।

पौडीपोखरीको काम सुरु

महानगरपालिकाले अहिले बाइसधारा पार्कमा नयाँ स्विमिङ पुल (पौडी पोखरी) पनि बनाउँदैछ । भूकम्पले पौडी पोखरी र चेन्जिङ रुममा क्षति पुगेपछि त्यसलाई भत्काएर नयाँ बनाउन थालिएको छ । अहिले धमाधम काम भइरहेको र छिट्टै सञ्चालन ल्याइने महानगर प्रमुख तामाङले जानकारी दिए ।

स्विमिङ पुललाई आधुनिक किसिमबाट तयार पारिँदैछ । ‘यसको स्तरीकरणपछि कुनै पाँचतारे होटलमा गएर स्विमिङ गर्नु र यहाँ पौडीको मज्जा लिनुमा कुनै फरक हुनेछैन’ तामाङले भने, ‘यसको निर्माण पनि हामी आधुनिक किसिमबाट गर्नेछौं । यसको सञ्चालन पनि चुस्त बनाउनेछौं ।’

पौडी पोखरीको वरपरको जग्गामा बच्चाहरुका लागि पनि छुट्टै पोखरी बनाउने तयारी गरिएको छ । स्विमिङ पूल वरपर हरियाली बगैँचा पनि रहनेछ । सँगै विभिन्न आकर्षक संरचनाहरु बनाएर स्विमिङ पूललाई स्तरी बनाइनेछ ।

महानगरपालिकाका निर्माण तथा विकास शाखा प्रमुख उत्तरकुमार रेग्मीका अनुसार ‘चेन्जिङ रुम’हरु रहने भवनको माथिल्लो तलमा सभा सेमिनार हल निर्माण गरिनेछ ।

शहरी क्षेत्रभित्र रहेको पार्कहरुलाई संरक्षण गरेर थप आकर्षक, सुविधायुक्त र मनमोहक बनाउने नीतिअनुरुप महानगरले बाइसधारा पार्कको छुट्टै गुरुयोजना तयार पार्ने योजना पनि महानगरको छ । ‘अब पार्कलाई मर्मत गरेर मात्र हुँदैन, यसलाई पुनःसंरचनामार्फत नयाँ स्वरुप दिएर स्मार्ट बनाउने हाम्रो सोच छ,’ रेग्मीले भने, ‘केही वर्ष लाग्ला तर, पार्कलाई स्तरोन्नति गरेर साँच्चिकै थकाइ बिसाउने उत्तम विकल्प बनाउँछौं ।’

स्तरीय पिकनिक स्पट

महानगरपालिकाले बाइसधारा पार्कभत्रको पिकनिक स्पटलाई व्यवस्थित गरी सञ्चालन गर्ने तयारी पनि गरेको छ । पिकनिक कार्यक्रमका लागि प्रयोग गर्न मिल्ने व्यवस्थित संरचना निर्माणको काम सुरु भइसकेको छ ।

पार्कको माथिल्लो भागमा रहेको खाली जग्गामा एउटा आधुनिक पिकनिक स्पट बनाइँदैछ । खाना बनाउनका लागि सुरक्षित र सानो भवन नै बनाइएको छ ।

वरपर बगैँचा पनि विकास गरिनेछ । प्रशस्त खुला क्षेत्रलाई टायलिङ गरेर धुलो र हिलोमुक्त बनाइनेछ । ताकि बषर्ाको समयमा पनि पिकनिक कार्यक्रम गर्न सकियोस् ।

दोस्रो चरण्मा पार्कभित्र रहेका सबै पिकनिक स्पटहरुलाई यस्तै बनाउने योजना महानगरको छ ।

वि.सं.२०१८ सालमा तत्कालीन राजा महेन्द्रको निर्देशनमा बालाजुमा व्यवस्थित पार्कको निर्माण भएको थियो । बालाजुको बाइस धारा धार्मिक हिसावले महत्वपूर्ण मानिन्छ ।

२२ मध्ये २१ धारा राजा जयप्रकाश मल्ल र एउटा धारा राजा रणबहादुर शाहले निर्माण गरेकाले पुरातात्विक हिसाबले पनि यसको महत्व उच्च छ । तर, पछिल्लो समय पानीका अभावका कारणले २२ धारा सुकेका छन् ।

पार्कभित्र बालनीलकण्ठ, राधाकृष्ण, शिव पार्वती, शीतला माई, जलभैरव र वनदेवीको मन्दिर र गुम्बा छ । यस्तै आदिकवि भानुभक्तको शालिक स्थापना गरिएको पार्कमा गुम्बा राजा महेन्द्र र रानी रत्नको प्रतिमा पनि छ ।

बालाजु पार्कको स्वामित्वमा १ सय ६२ रोपानी जग्गा छ । अब सबै जग्गा सदुपयोग गर्ने र आन्तरिक पर्यटन गन्तव्यका रुपमा विकास गर्ने महानगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment