+
+
Shares

उपेन्द्र सुब्बाका तीन प्रेम कविता

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन ३ गते १५:१६

१. प्रेम

घाम हेर्दा राग देखेँ
जून हेर्दा दाग देखेँ
तारा हेर्दा टाढा देखेँ
फूल हेर्दा काँडा देखेँ
मैले सबैमा खोट देखेँ
अनि आँखा बन्द गरिहेर्दा
गान्धारीलाई देखेँ
हजुर !
मलाई गान्धारी औधी मन पर्‍यो
त्यसै-त्यसै अन्धो हुन मन पर्‍यो ।

२. सायद

अचानक बाटोमा भेटिनु
तिमी मुस्कुराउनु
सायद, मुस्कुराउनु तिम्रो स्वभाव थियो ।

बाटोमा खेल्दा-
भकुन्डो तिम्रो घरको कम्पाउन्डभित्र छिर्नु
भकुन्डो लिन मैं आउनु
मुस्कुराउँदै तिम्ले मेरो हातमा दिनु
सायद, असल छिमेकी हुनु मात्र थियो ।

बार्दलीमा फुलेका फूलहरुमाझ बसेर
घामको न्यानो ताप्दै
हरेक बिहान तिम्ले कपाल कोर्नु
वर, झ्यालको चौकसमा बसेर
गितार बजाउँदै मैले गीत गाउनु
सायद, हाम्रो नित्यकर्म मात्र थियो ।

बिजुलीको खम्बानेर
खम्बै भएर मैले हरेक दिन उभिनु
हरेक दिन तिमी ढिलो आउनु
मुस्कुराउँदै कान समाएर तिम्ले माफी माग्नु
कलेज ढिलो हुने बहाना बनाएर मैले बाइक हुइँक्याउनु
तिमी डराएर मसँग लिपिक्क टाँसिनु
सायद, मेरै नियत मात्र खराब थियो ।

फुरुरु उड्दै दुई पंक्षी, नौ डाँडा काटी जाऊँ कान्छी
माकुरी मायाजाल बुन्छ, भन्देऊ न कान्छी लौ हुन्छ

हरदिन/हरसाँझ मैले यही गीत गाउनु
मेरो कुममा टाउको बिसाएर,
मायालु भएर
‘परीक्षापछि ल’ तिम्ले भन्नु
तिम्रो परीक्षा नसकीकनै तिम्रो फुपूको छोरो पल्टनबाट छुट्टी आउनु
मेरो कोठामा आएर तिमी बेसरी रुनु
सायद, तिम्रो सफल अभिनय मात्र थियो ।

३. ढुंगाको मन

ठीकै भन्यो क्यार
तिम्रो प्रेममा नजरबन्द मेरो मन
निरमाया,
साँच्ची त ढुङ्गा पो होला ।

भन ढुङ्गा नभए
ग्रेटवाल कहाँ उभिन्थ्यो र ?

राता ढुङ्गा मनहरुको पिरामिड
बन्द राजारानीको अमर देह
सङ्गमरमरको प्रेम वा ताजमहल
मन ढुङ्गा नभए
निरमाया,
देउराली कहाँ रुन्थ्यो र ?

सुम्हालुङ गढी, ढुङ्गा मन
ढुङ्गाकै देवीथान
प्रेमको धागो बाँधेर सिन्दूर छर्की
भाकल गरेको चुच्चे ढुङ्गा मन
मन ढुङ्गा नभए
निरमाया,
देउता कहाँ हुन्थ्यो र ?

ठीक भन्यो क्यार
तिम्रो प्रेममा नजरबन्द मेरो मन
निरमाया,
साँच्ची त ढुङ्गा पो होला ।

(‘खोलाको गीत र पुराना कविताहरु’ संग्रहबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?