Comments Add Comment

प्याव्सन महाधिवेशनमा यसरी हुँदैछ दलगत भिडन्त, अध्यक्षमा पुरी र सम्बाहम्फेको दाबी

५ फागुन, काठमाडौं । निजी विद्यालयहरुको छाता संगठन प्याब्सनको १३ औं महाधिवेशनमा अध्यक्षका लागि टिकाराम पुरी र बिजय सम्बाहम्फेबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

पुरी एभरेष्ट उच्च मावि विराटनगरका प्रिन्सिपल हुन् भने सम्बाहम्फे लोयल्टी स्कूल मण्डिखाटारका हुन् । माओवादी केन्द्र निकट सम्बाहम्फे हाल प्याब्सनका वरिष्ठ उपाध्यक्ष छन् । अघिल्लो महाधिवेशनमा सम्बाहम्फेसँग झिनो मतले पराजित भएका पुरी एमाले निकट हुन् ।

अध्यक्ष पदमा कांग्रेस निकटको व्यक्तिबाट दाबी सार्बजनिक भएको छैन ।

प्याब्सनको महाधिवेशन यही फागुन ९ र १० गते काठमाडौंमा हुँदैछ । महाधिवेशनमा करीव २ हजार प्रतिनिधि सहभागी हुनेछन् । प्याब्सनको ६७ पदका लागि २५० भन्दा बढी उम्मेदवारहरु हुने अनुमान छ ।

देशभर करीब १० हजार निजी विद्यालयहरुमध्ये ६ हजार ५ सय प्याब्सनमा आबद्ध छन् । प्याब्सनका ७२ जिल्ला शाखा छन् ।

उम्मेदवारका एजेण्डा कस्ता ?

निजी विद्यालय मैत्री र लगानी मैत्री शिक्षा नीति बनाउन दबाव दिने महाधिवेशनको मूल एजेण्डा रहेको प्याब्सन अध्यक्ष लक्ष्यबहादुर केसीले बताए । उनले निजी विद्यालय सिध्याउने र लगानी ध्वस्त पार्ने तथा शिक्षाको लगानी विदेश पठाउने खेल भइरहेकाले प्याब्सन महाधिवेशनले ठोस दिशानिर्देश गर्ने दाबी गरे ।

१३ औं महाअधिवेशनमा चुनावी प्रतिस्पर्धामा उत्रनेहरु आफ्नो प्रचार शुरु गरिसकेका छन् ।

अध्यक्षका प्रत्याशी टीकाराम पुरीले भने, ‘निजी विद्यालय मैत्री शिक्षा नीति, सुदृढ, गतिशील र समृद्ध प्याब्सन भन्ने मेरो नारा हो । अहिले शिक्षा नीतिले निजी विद्यालय सिध्याउन खोजेको छ । त्यसविरुद्ध लड्न मेरो नेतृत्व आवश्यक छ ।’

अध्यक्षका अर्का प्रत्याशी सम्बाहम्फेले निजी विद्यालयका विद्यार्थीलाई सरकारी छात्रवृत्तिमा भएको विभेदीकरणको अन्त्यलाई जोड दिएका छन् ।

पुरीले भने, ‘सरकारले छात्रवृत्तिमा संस्थागत विद्यालयका विद्यार्थीलाई बिभेद गरेको छ । सामुदायिक विद्यालयमा पढेकाले मात्र सरकारी छात्रवृत्ति पाउने भनिएको छ, यो विभेद अन्त हुनुपर्छ । निजी विद्यालयले पनि प्राविधिक शिक्षा पढाउन पाउनुपर्छ ।’

एमाले निकटका पुरीलाई हालका अध्यक्ष लक्षबहादुर केसी, भोजवहादुर शाह लगायतको समर्थन रहेको बताइन्छ । सम्बाहम्फेलाई उमेश श्रेष्ठ, राजेश खड्का लगायतको समर्थन रहेको स्रोतको दाबी छ । प्याब्सनका अर्का अगुवा बाबुराम पोखरेल भने खुलेका छैनन् ।

६७ सदस्यीय कार्यसमितिमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ८ जना भूगोल र एक महिलासहित ९ जना उपाध्यक्ष रहनेछन् । यसैगरी एक महासचिव र एक उपमहासचिव रहनेछन् ।

त्यस्तै एक महिला र ३ जना खुलासहित ४ सचिव तथा दुईजना सहकोषाध्यक्ष कार्यसमितिमा रहनेछन् । अन्य सदस्यहरु रहनेछन् ।

वरिष्ठ उपाध्यक्षमा हिरा चन्द र डिके ढुंगानाले आफ्नो दाबी घोषणा गरेका छन् ।

उपाध्यक्षका लागि ईश्वरबहादुर गुरुङ, दीपिका थापा, कृष्ण अधिकारी, आशिष श्रेष्ठ, किशोर गौतम, निर्मल उपाध्याय, विमल थापा, नवराज महत, गोपेन्द्रकेशरी न्यौपाने, सुमन गोपाल आचार्य, वीरबहादुर बुढाथोकी, गोविन्द लम्साल लगायतको दाबी छ ।

महासचिवमा राजेन्द्र बानिया र गोपाल आचार्यले उम्मेद्वारी घोषणा गरिसकेका छन् ।

उपमहासचिवमा कुमार घिमिरे, भुवनलाल श्रेष्ठ र आरबी कटवालले उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

त्यस्तै कोषाध्यक्षमा सन्तोषमणी न्यौपाने, टंक भट्टराईले उम्मेद्वारी घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment