९ असोज, काठमाडौं । मधेशको राजनीतिले सुधारका एजेण्डाहरूलाई सम्बोधन गर्न भूमिका नखेलेको भन्दै ‘हुंकार मधेश’ नामक नयाँ राजनीतिक अभियान सुरु भएको छ ।
उक्त अभियानले शुक्रबार काठमाडौंमा अवधारणा पत्र तथा केन्द्रीय अभियन्ताहरूको सूची सार्वजनिक गरेको छ ।
अभियानले ‘मौलिकतावादको वैचारिकी’ र ‘सामुदायिक समाजवाद’लाई अर्थनीतिको आधारका रूपमा स्थापित गर्ने जनाएको छ।
त्यस्तै, सनातन, संघीयता, सामाजिक न्याय, सुशासन र समृद्धिलाई पाँच ‘स’का रूपमा अघि सार्दै सोही मान्यताअनुसार शासन व्यवस्था कायम गर्नुपर्ने धारणा सार्वजनिक गरेको छ।
अभियानले जातीय विभेद तथा छुवाछुत अन्त्य गर्न र सामूहिक पहिचान निर्माण गर्न नामबाट थर हटाउन प्रेरित गर्ने अभियान सञ्चालन गर्ने जनाएको छ।
साथै, राजनीतिक तथा संगठनात्मक नेतृत्वमा एउटै व्यक्तिले लामो समयसम्म पदमा रहिरहने प्रवृत्तिको अन्त्य गर्न ‘एक व्यक्ति, दुई कार्यकाल’को अवधारणा लागू गर्नुपर्ने प्रस्ताव अघि सारेको छ।
‘हुंकार मधेश’ले संगठनको कार्यकारी तहको अध्यक्ष वा संयोजक बन्न अधिकतम ४९ वर्ष उमेर सीमा तथा कुनै पनि समितिमा रहन अधिकतम ६५ वर्षको उमेर सीमा प्रस्ताव गरेको छ।
संगठनमा ४० वर्षमुनिका ४० प्रतिशत, ६० वर्षमुनिका ४० प्रतिशत र ६० वर्षभन्दा माथिका २० प्रतिशतको उमेरगत प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
अभियानले अध्यक्षीय प्रणालीबाट उत्पन्न हुन सक्ने तानाशाही तथा नोकरशाही प्रवृत्तिको विकल्पका रूपमा लोकतान्त्रिक र सामूहिक नेतृत्व प्रणाली स्थापित गर्ने बताएको छ। त्यस्तै, ‘राजनीति र उद्यम सँगसँगै’ भन्ने मान्यता स्थापित गर्नुपर्नेमा पनि जोड दिइएको छ।
नेतृत्वमा शैक्षिक योग्यता आवश्यक हुनुपर्ने धारणा अघि सार्दै अभियानले केन्द्रीय संयोजक वा अध्यक्ष बन्न स्नातकोत्तर तथा मातहतका समितिको नेतृत्वका लागि स्नातक तहको शैक्षिक योग्यता आवश्यक हुने व्यवस्था प्रस्ताव गरेको छ।
पूर्वीय दर्शन, सभ्यता, सनातन संस्कृति तथा पूर्वीय ज्ञान प्रणालीको संरक्षणलाई पनि अभियानले आफ्नो प्रमुख एजेन्डामा समेटेको छ। संविधानले प्रदान गरेका अधिकारको कार्यान्वयन, संविधान संशोधनमार्फत अधुरा माग सम्बोधन, संघीयतालाई थप अधिकारसम्पन्न बनाउने तथा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग पनि अभियानले अघि सारेको छ।
भ्रष्टाचारमुक्त र सुशासनयुक्त समाज निर्माणसँगै नागरिकमा राजनीतिप्रतिको घृणा र निराशालाई प्रेम र आशामा बदल्ने गरी राजनीतिक आचरण विकास गर्नुपर्ने अभियानको धारणा रहेको अभियन्ता केशव झाले जनाए ।
अभियानले नेपालको राज्य संरचनासम्बन्धी आफ्नो छुट्टै राजनीतिक अवधारणा पनि सार्वजनिक गरेको छ। प्रादेशिक पहिचानलाई राष्ट्रियताको आधार र केन्द्रीय पहिचानलाई धर्मको आधारमा कायम गर्दै ‘संघीय लोकतान्त्रिक हिन्दु गणराज्य’ घोषणा गर्नुपर्ने उसको प्रस्ताव छ।
आर्थिक क्षेत्रमा भने महत्वाकांक्षी लक्ष्य अघि सारिएको छ। अभियानले हालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) करिब ४२ अर्ब अमेरिकी डलरबाट १० वर्षभित्र ५०० अर्ब अमेरिकी डलर पुर्याउने योजना लागू गर्नुपर्ने तथा सोही अवधिमा प्रतिव्यक्ति आय १५ गुणाले वृद्धि गर्नुपर्ने लक्ष्य सार्वजनिक गरेको छ।
त्यस्तै, समग्र थरुहट–मधेशलाई एक स्वायत्त प्रदेश बनाउने, नेपाल–भारत सीमामा बसोबास गर्ने दुवैतर्फका नागरिकलाई सम्मानपूर्वक आवतजावतको वातावरण निर्माण गर्ने तथा दैनिक उपभोग्य वस्तुको आवतजावतमा करमुक्त व्यवस्था गर्नुपर्ने धारणा अभियानले अघि सारेको छ।
‘हुंकार मधेश’ले सार्वजनिक गरेको अवधारणा पत्रमा राजनीतिक प्रणाली, नेतृत्वको पुस्तान्तरण, सामाजिक न्याय, सांस्कृतिक संरक्षण, संघीयता, सुशासन, आर्थिक विकास, कृषि, चुरे संरक्षण तथा नेपाल–भारत सीमासम्बन्धी विषयसहित २१ वटा प्रमुख एजेन्डा समेटिएका छन्।
प्रतिक्रिया 4