Comments Add Comment

बादलले पूरा गरे चुनावी बाचा


६ फागुन, चितवन । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा जनप्रतिनिधिहरु आफ्ना मतदाताहरुसँग नजिकिन थालेका छन् । अन्य नेताहरु जस्तै केन्द्रको पहलमा साना-ठूला बिकास आयोजनाहरुमार्फत जनताको मन जित्ने प्रयासमा देखिएका छन् माओवादी केन्द्रका नेता तथा चितवन क्षेत्र नम्बर २ का पूर्वसांसद रामबहादुर थापा ‘बादल’ ।

२०६५ सालको संविधानसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित तत्कालिन नेकपा माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ले जनचाहना अनुसार काम नगरेको भन्दै मतदाताहरु असन्तुष्ट थिए ।

दोस्रो संविधानसभा निर्वाचनमा उम्मेदवारी नदिएका उनले आसन्न निर्वाचनका लागि आधार तय गर्ने क्रममा स्थानीय जनता प्रत्यक्ष लाभान्वित हुने गरी चितवन क्षेत्र नम्बर २ मा २५ करोडभन्दा बढी बिकासको बजेट निकासा गराएका छन् ।

चितवन क्षेत्र नम्बर २ मा प्रस्तावित योजनाहरु खर्च गर्ने अख्तियारी पाएपछि आफूले चुनावी नारा बनाएका योजनाहरु बारेमा बजेट निकासा गरेको थापाले जानकारी दिए । चुनावी प्रतिवद्धता अनुसार थापाले १० लाखदेखि ५५ लाख रुपैयाँसम्मका विकास योजनाहरुका लागि अर्थ मन्त्रालयबाट रकम निकासा भएको जानकारी समेत दिएका छन् ।

‘लामो संघर्षका साथ हामी संसदीय व्यवस्थामा आएका थियौं,’ उनले भने, ‘जनताका चाहाना अनुसार धेरै योजनाहरु आएपनि आवश्यकता अनुसार चुनावी प्रतिवद्धताका काम सम्पन्न गर्ने अख्तियारी जिविस चितवनमा मार्फत हुनेछ ।’

पूर्वी चितवनमा रनपामा कभर्ड हल, सहिद स्मृति पार्क, टिकौली, रत्ननगर नगरपालिका ९ र १३ का सुकुम्वासी वस्तीमा सामुदायिक आवास तथा भवन निर्माण, खैरहनीमा खेलकुद मैदान र फन पार्क, उपरदाङगढी पदैल मार्ग निर्माण, जुटपानी सिंचाई र कुलो मर्मत, पदमपुरमा व्यवस्थित खानेपानी लगायतका योजनाहरुमा ५५ लाख रुपैयाँका दरले रकम विनियोजन भएको छ ।

त्यस्तै बाटोघाटो निर्माण, विद्यालय सुधार, ताल संरक्षण, पशुपालन, क्षमता विकास तालिम, बाख्रापालन, माछा पालन, कुखुरा पालन सहयोग लगायतका योजनाहरु पनि छन् । चेपाङ छात्रावास सहयोग, थारु संस्कृति संरक्षण तटबन्धका योजनाहरुले पनि प्राथमिकता पाएका छन् ।

पूर्व रक्षामन्त्री समेत रहेका थापाले स्थानिय मन्त्रालय हुदै अर्थ मन्त्रालयमा पेश गरेको ४५ योजनाहरुमा बजेट परेको र अझै अन्य योजनाहरु आउने क्रममा रहेको समेत बताए । ‘म यहीँका जनताको प्रतिनिधि हुँ,’ थापाले भने, ‘धेरै योजनाहरु विस्तारै आउने छन्, जनताले मलाई यस्तै बिकास निर्माण गर्नका लागि जिताएका हुन्, मैले पनि सकेको गरेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment