Comments Add Comment

माओवादीले मधेसी मोर्चालाई भन्यो- संशोधन अघि नबढ्ला कि भन्ने आशंका नगर्नुस्

१० फागुन, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले संविधान संशोधन प्रस्ताव अघि नबढ्ला कि भन्ने आशंका नगर्न मधेसी मोर्चालाई आग्रह गरेको छ । साथै मधेसी मोर्चा आन्दोलनमा जानु उपयुक्त नभएको प्रतिक्रिया दिएको छ ।

सरकारले सोमबार वैशाख ३१ मा स्थानीय तहको चुनाव गर्ने घोषणा गरिसकेको छ । त्यसविरुद्ध मधेसी मोर्चाले दबावमुलक आन्दोलन घोषणा गरेको छ ।

तर, सत्तारुढ माओवादीले भने संविधान संशोधनलाई टुंगोमा पुर्‍याएर निर्वाचन गर्ने सम्झौता र प्रतिवद्धतामा आफू कायमै रहेको बताएको छ ।

माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले अनलाइनखबरसँग भने, ‘संविधान संशोधन प्रस्ताव टुंगोमा पुर्‍याएपछि मात्र चुनावको मिति घोषणा गर्दा निर्वाचन आयोगलाई तयारीको समय नपुग्ने भएकाले मात्र अगाडि नै घोषणा गर्नु परेको हो । संशोधन प्रस्ताव अघि बढ्छ ।’

उनका अनुसार संशोधन प्रक्रिया अघि बढाउनेबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउने तयारी भइरहेको छ । र, सम्भवत आजै बैठक बस्नेछ ।

लगतै संसदमा दर्ता भएको संविधान संशोधन प्रक्रिया अघि बढाइने श्रेष्ठले बताए । संशोधनबारे संसदले निर्णय गर्ने भन्दै उनले भने, ‘हामीले सबैसँग कुराकानी गरिहेका छौं र संशोधन पास गराउन प्रयत्न गरिरहेका छौं ।’

उनले अहिले नै मधेसी मोर्चा आन्दोलनमा जानु उपयुक्त नभएको बताए । उनले भने, ‘संशोधन विधेयकलाई एउटा टुंगोमा पुर्‍याएपछि नै निर्वाचन हुने हो । संशोधन प्रस्ताव अघि नबढ्दा कि भन्ने आशंका नगरे हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment