+
+
Shares

लालपुर्जा, पासपोर्ट र नागरिकता आँगनमा पाएपछि जनताले संघीयता बुझ्छन्ः प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन १० गते १३:१७

१० फागुन, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले लालपुर्जा, पासपोर्ट, नागरिकता लगायतका सुविधा र अधिकार आफ्नै आँगनमा पाउँदा जनताले संघीयताको मर्म बुझ्ने बताएका छन् ।

दिवङ्गत पत्रकारहरुको स्मृतिमा प्रेस काउन्सिलको कार्यालय परिसरमा निर्मित पत्रकार स्मृति स्तम्भको अनावरण गर्दै प्रधानमन्त्रीले संघीय लोकतान्त्रिक गणतन्त्रले एउटा सिङ्गो युगको प्रतिनिधित्व गर्ने बताए ।

कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘तर, जनतालाई आम रुपमा त्यसको त्यति ठूलो सरोकार हुँदैन, जनताले आफ्नै जीवन र परिणाम हेरेर परिवर्तन अनुभूत गर्छन् । अहिलेको सन्दर्भमा जनताको मन छुने विषय स्थानीय निर्वाचन नै हो ।’

प्रधानमन्त्रीले स्थानीय तहलाई व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको अधिकार दिएकाले संघीयताको प्रभाव शशक्त हुने बताए । उनले भने, ‘निर्वाचनपछि जनताले नागरिकता, पासपोर्ट, लालपुर्जा आफ्नै आँगनमा पाउँछन्, आफैले आफ्नो साधन र स्रोतको परिचालन गर्छन्, त्यसपछि बल्ल उनीहरुले गणतन्त्र र संघीयताको वास्तविक महत्व बुझ्छन् र त्यसको स्वामित्व लिन्छन् ।’

प्रधानमन्त्री प्रचण्डले सबै राजनीतिक दल, नागरिक समाज, सामाजिक संघसंस्था र सञ्चार क्षेत्रले अभियानको रुपमा निर्वाचनमा लाग्न अनुरोध गरे । उनले भने, ‘स्थानीय तहको निर्वाचनपछि देशको मुहार बदलिनेछ, जनताको जीवन बदलिनेछ ।’

अहिलेको युग सूचना प्रविधिको युग भएकोमा जोड दिँदै प्रधानमन्त्रीले भने, ‘अहिलेको युगलाई सूचना रसञ्चारको युग भनेर चिनिन्छ, यस क्षेत्रमा नेपालले पनि ठूलो फड्को मारिसकेको छ । सञ्चारको गुणात्मक विकासका लागि सरकारले के गर्नुपर्छ सुझाव दिनुस् र सञ्चार क्षेत्रमा देखिएका विकृति राज्यले होइन, तपाईहरुको आफ्नै प्रतिस्पर्धाद्वारा नियन्त्रण र मर्यादित गर्नुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?