१० फागुन, काठमाडौं । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले बैंकिङ क्षेत्र बाहिरका व्यक्तिहरुले सेयर लगानी गर्न वा चुक्तापुँजी बढाउँन बैंकबाटै कर्जा लगानी भएको जस्तो हचुवा कुरा गरिरहेको आरोप लगाएका छन् ।
‘बैंकिङ क्षेत्र बाहिर बसेर धेरैले गैर जिम्मेवार भएर बोलिरहेका छन्, म वहाहरुलाई धितोपत्र बोर्डमा गएर चालु आवमा कति नयाँ सेयर (एफपीओ) र हकप्रद जारी भएको छ हेर्न अनुरोध गर्दछु,’ गभर्नर नेपालले आक्रोशित हुँदै भने । उनले यो वर्ष जम्मा ९ अर्ब रुपैयाँका हकप्रद सेयर र ५ अर्ब रुपैयाँको एफपीओ जारी भएको तथ्यांक सार्वजनिक गरे ।
नेपालले जेठमा बैंकहरुसँग अधिक तरलता रहेको कारण समस्या समाधान गर्न बैंकहरु डेलिगेशन नै गएको जानकारी समेत गराए ।
‘जेठमा अत्यधिक तरलता थियो, वहा (बैंकर)हरु लगानी गर्ने ठाँउ पाइएन भनेर हारगुहार गर्दै हुनुहुन्थ्यो, जेठमा ३ अर्बको एफपीओ जारी भएको थियो, त्यसमा केही कर्जा गयो पनि होला,’ नेपालले भने ।
तर, राष्ट्र बैंककै डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले नै केही दिन अघि भएको कार्यक्रममा यसमा निगरानी गर्न नसक्नु कमजोरी भएको नै स्वीकारेका थिए ।
अर्को तर्फ, राष्ट्र बैंकका गभर्नर नेपालले हालै वाणिज्य बैंकहरुले जारी गरेको नयाँ सेयरमा अत्याधिक आवेदन परेको कुरालाई पनि बिर्सिएर तर्क गरेको देखिन्छ । बैंकहरुको चुक्तापुँजी बढाउँन गत वर्ष यता दुईटा बैंकले एफपीओ जारी गरेका छन् । गत फागुनमा नेपाल इन्भेष्टमेन्ट बैंकले ५ अर्बको एफपीओ जारी गर्दा करिब ४८ अर्ब रुपैयाँको आवेदन परेको थियो । त्यस्तै, नेपाल एसबीआई बैंकले जारी गरेको ६ करोड रुपैयाँको एफपीओमा ४ अर्ब ८२ करोड रुपैयाँको र फवार्ड माइक्रोफाइनान्सले जारी गरेको ६ करोड रुपैयाँको सेयरमा ६ अर्ब ८० करोड रुपैयाँको आवेदन परेको थियो ।
नेपालले भनेजस्तो चुक्ता पुँजी वृद्धिको लागि यी तीन बैंकमा लगानीकर्ताको ५ अर्ब १२ करोड रुपैयाँ मात्र वास्तविक लगानी परेको सही हो । तर आवेदनमा हालेको रकमले नै पनि केही दिन वित्तीय प्रणालीमा रकम अभाव भएको कुरा बिर्सन सकिन्छ र ? यही समस्यालाई अवगत गरेरै धितोपत्र बोर्डले सेयरमा परेको आवेदन रकम ६ दिन राष्ट्र बैंकमा राख्न पर्ने प्रावधानलाई हटाएको र चाँडै सेयर बाँटफाँड गर्न निदेएशन दिएको होइन र ?
यसबाहेक धितोपत्र बोर्डले गत आर्थिक वर्ष २०७२/७३ मा नै ५ अर्ब ७६ करोड रुपैयाँ बराबरको हकप्रदलाई स्वीकृती दिएको थियो । चालु आव २०७३/७४ मा पनि ९ अर्ब बराबरका हकप्रद जारी भइसकेका छन् । नेपाल एसबीआई, फवार्ड माइक्रो फाइनान्स र नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ सेयर एफपीओ सहित हेर्ने हो भने गत वर्ष र चालु आवमा जारी भइसकेका हकप्रदमा कुल २० अर्ब नयाँ लगानी परिसकेको छ ।
अझै १६ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन अनुमतिको लागि कम्पनीहरु धितोपत्र बोर्डमा पालो पर्खिरहेका छन् । यसमा केही जलविद्युत्, बीमा कम्पनीलाई अलग्याउने हो भने पनि बैंक तथा वित्तीय संस्थाबाट मात्रै लगभग साढे १२ अर्ब रुपैयाँको हकप्रद निकाल्न स्वीकृतीमा रहेको देखिन्छ । यता, स्ट्याण्डर्ड चार्डर्ड बैंकले मात्रै ३ अर्ब ३० करोड रुपैयाँ बराबरको एफपीओ जारी गर्ने अनुमति पाइसकेको छ ।
प्रतिक्रिया 4