Comments Add Comment

दुई दिनमा ‘लुट २’ को आक्रामक व्यापार


निर्माता माधव वाग्ले आफू निर्मित चलचित्र ‘लुट २’ को व्यापारले दंग छन् । उनले चलचित्र प्रदर्शन अगावै भन्दै आएको ‘छक्का पञ्जा’ को रेकर्ड तोड्ने भनाइ अहिले पनि रोकेका छैनन् ।

निर्माता वाग्लेका अनुसार ‘लुट २’ले देशभरका हलबाट २ दिनमा ३ करोड आसपासको व्यापार गरेको छ । निश्चल बस्नेत निर्देशित यो चलचित्र हेर्नका लागि काठमाडौंका मल्टिप्लेक्स र सिंगल हलमा दर्शकको घुँइचो देखिएको थियो ।

शुक्रबार र शनिबारको बिदाले यो चलचित्रको व्यापारमा ठूलो योगदान गरेको छ । प्रचारप्रसार, निश्चलको नाम, ‘लुट’ को ब्रान्डका कारणले पनि चलचित्रले २ दिन आक्रामक व्यापार गर्न सफल भएको हो । शुक्रबार चलचित्रले काठमाडौंबाट १ करोडको व्यापार गरेको र काठमाण्डौ बाहिरबाट ५० लाखको व्यापार गरेको निर्माता वाग्लेले जानकारी दिएका छन् । उनले भने-‘शुक्रबार र शनिबार काठमाण्डौका सबै हलमा शतप्रतिशत अकुपेन्सी छ । काठमाण्डौ बाहिर भने शत प्रतिशत छैन ।’

शनिबार चलचित्रले काठमाडौंमा १ करोड ५ लाख र मोफसलमा ६० लाखको व्यापार गरेको वाग्लेको दाबी छ । उनले भने-‘चलचित्रको लगानी १ करोड ६० लाखको हो । ६० लाख त मैले कलाकारकै पारिश्रमिक तिरेको छु । यसैले लगानी उठ्न अझै केही दिन लाग्छ ।’ सोमबारको बिदाले चलचित्रलाई फाइदा हुने देखिएको छ ।

सौगात मल्ल, दयाहाङ राई, कर्मा, विपिन कार्की, कामेश्वर चौरासिया, ऋचा शर्मा, एलिसा राई लगायतका कलाकारले अभिनय गरेको यो चलचित्रमा हाकु काले र ४ युवाको लडाइँलाई नै मुख्य केन्द्रमा राखिएको छ । चलचित्रका ‘वर्ड अफ माउथ’ भने मिश्रित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment