Comments Add Comment

भारु सटहीको लागि आएको टोली बुधबार बैंकरहरुसँग भेट्दै


१७ फागुन, काठमाडौं । नोटबन्दीमा परेको ५ सय र १ हजारको भारु नोट सटहीको सम्बन्धमा बुझ्न नेपाल आएको भारतीय टोलीले भोेली (बुधबार) बैंकर्स एशोसिएशनसँग छलफल गर्ने भएको छ । भारतबाट त्यहाको कन्द्रीय बैंकको मुद्रा व्यवस्थापन बिभाग र नियमन बिभागका अधिकारी मंगलबार नेपाल आएका हुन् ।

नोट सटहीको लागि राष्ट्र बैंकले गठन गरेको समितिसँग मंगलबार ती अधिकारीले छलफल समेत गरेका छन् । ‘आज वहाहरुसँग एक चरणको छलफल भएको छ, वहाहरुको जिज्ञासा यहा बैंकहरुले अपनाएको ग्राहक पहिचान तथा सम्पत्ती शुद्धिकरण विरुद्धको कार्यक्रममा अवलम्बन गरिएको प्रणालीमा रहेको देखिएको छ ,’ राष्ट्र बैंक बैदेशीक मुद्रा बिभागका प्रमुख तथा राष्ट्र बैंकका कार्यकारी निर्देशक भिष्म राज ढुंगानाले भने । भारतीय टोलीलाई नेपाली टोलीले गरेको बिफ्रिङ प्रति भने उनीहरु विश्वस्त देखिएको ढुंगाना बताउँछन् ।

ढुंगानाका अनुसार एक चरणमा भएको यो छलफलपछि बुधवार नेपाल बैंकर्स एशोसिएशनसँग पनि छलफल हुने भएको हो । यो टोलीले नै भारु सटहीको निर्णय भने गर्नेछैन् । यो टोली भारत फर्केपछि यहाको अध्ययन प्रतिवेदन पेश गर्ने छ । त्यही प्रतिवेदनको आधारमा निर्णय हुने सम्भावना छ । नेपाल बसाईपछि यो टोली भार सटहीकै विषयमा छलफल गर्न भुटान जाने भएको छ ।

केही समय अघि भारतको दुई दिने भ्रमणमा रहेको नेपाल राष्ट्र बैंकको टोलीले भारतीय अर्थमन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरु सम्मिलत टोलीलाई नोट सटही प्रणाली सम्बन्धि प्रतिवेदन पनि बुझाएको थियो ।

राष्ट्र बैंकले एक जनाबाट अधिकतम २५ हजार भारु साट्ने मोडालिटी भारतमा पेश गरेको थियो । मोडालिटी स्वीकृत भएमा  १ महिनाभित्रमा भारु सटही गर्न सकिने दाबी राष्ट्र बैंकले गर्दै आएको थियो ।  । भारत सकारात्मक देखिएमा सर्वसाधारणलाई भारु बैंकमा जम्मा गर्न केही साताको अवधि दिइने बताइएको थियो ।

मोडालिटी अनुसार  बैंकहरुले यसरी जम्मा भएको रकम १ देखि २ सातामा राष्ट्र बैंकमा जम्मा गर्नुपर्ने र राष्ट्र बैंकले भारतीय रिर्जभ बैंकमा यस्तो रकम बुझाएर त्यहाबाट स्वीकृत हुने नोटको मात्र सटही सुविधा दिइने योजना बनाइएको थियो ।

बैंकहरुले सर्वसाधारणबाट भारु लिँदा नोटमा उल्लेख नम्बर पनि साथै टिप्नुपर्ने व्यवस्था मोडालिटीमा छ । भारतीय केन्द्रीय बैंकले जम्मा भएको नोट जाँच बुझ गर्ने र नक्कली भएमा, च्यातिएको भएमा त्यस्तो नोट नसाट्ने उल्लेख गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment